साढे २३ अर्बको विमान र पार्टपुर्जा खरिद



दीपेन्द्र थापा, काठमाडौं, आर्थिक वर्ष २०७४÷७५ मा अघिल्लो आर्थिक वर्षको तुलनामा विमान तथा विमानका पार्टपुर्जाको आयातमा भारी मात्रले वृद्धि भएको छ ।

सो आर्थिक वर्षमा विभिन्न कम्पनीले २३ अर्बको ४७ करोड रुपियाँबराबरको विमान तथा विमानको पार्टपुर्जा आयात गरेका छन् । यस वर्ष सरकारी तथा निजी विमान कम्पनीले ८ वटा नयाँ विमान १९ अर्ब ६३ करोड रुपियाँमा आयत गरेका छन् ।

त्यस्तै पार्टपुर्जा २ अर्ब ६१ करोड रुपियाँको आयत भएको थियो । अघिल्लो आर्थिक वर्षमा भने कुल १९ अर्व ६५ करोड रुपियाँको विमान तथा पार्टपुर्जा आयात भएको थियो । अघिल्लो वर्ष १६ अर्ब ५२ करोडको विमान र २ अर्ब २५ करोड रुपियाँको पाटपुर्जा आयत भएको थियो ।

गत आर्थिक वर्षमा प्यारा ल्याडिएटर बेलुन कुल ५ करोड ५७ लाख बराबरको आयात भएको थियो । त्यस्तै १ अर्ब १८ करोड रुपियाँको सात थान हेलिकप्टर आयात भएको थियो । अघिल्लो वर्ष १३ लाख रुपियाँको मात्र प्यारा गल्याइडिङ र ८८ करोडको रुपियाँको हेलिकप्टर आयात भएको भन्सार विभागले जनाएको छ ।

नेपाल वायुसेवा निगमले असार १४ मा भित्र्याएको पहिलो वाइडवडी विमानका कारण आयातको रकम बढेको हो । सो विमान करिब १२ अर्ब रुपियाँमा निगमले खरिद गरेको थियो । नेपाल वायुसेवा निगमले चीनबाट दुईवटा वाई १२ विमान पनि ल्याएको थियो ।

बुद्ध एयरले फेब्रुअरीमा र जुलाईमा दुईवटा एटीआर भित्राएको थियो । त्यस्तै श्री एयरलाइन्सले एउटा वटा विमान भित्र्याएको थियो । सो एयरलाइन्सले ९० करोड रुपियाँको विमान भित्र्याएको कम्पनीका कर्पाेरेट म्यानेजर अनिल मानन्धरले जानकारी दिनुभयो ।

अर्को निजी हवाई कम्पनी यति एयरलाइसले पनि गत आर्थिक वर्षमा एउटा एटीआर विमान आयात गरेको थियो । सोही कम्पनी सहायक संस्था तारा एयरले एउटा टुवीनटर विमान आयात गरेको कम्पनीका प्रबन्धक भीमराज राईले बताउनुभयो ।

हालसम्म नेपालमा हेलिकप्टरको संख्या ३४ थान रहेको छ भने ७८ वटा विमान रहेको छन्, साना अल्ट्रासाउन्ड विमानको संख्या १५ थान रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ, नेपालमा विमानको संख्या वृद्धिदर हुनुमा हवाई यात्रुको संख्या पनि वृद्धि हुनु कारक रहेको छ । नेपालमा वार्षिक सरदर ६ प्रतिशतले हवाई यात्रुको संख्या वृद्धि हुँदै गएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ क्षमता कम रहेको र निजी हवाई सेवा प्रदायक कम्पनीले विमान आयात गर्ने क्रम बढेसँगै प्राधिकरणले वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) दिँदा नै राजधानी बाहिर पार्किङ गर्नुपर्ने सर्त राख्दै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा करिब ३५ विमान पार्किङ गर्न सक्ने क्षमता रहेको छ । हाल श्री र बुद्ध एयरका विमानले विमानस्थलमा छुट्र्ट पार्किङ गदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्