निजी आवासमा १८ अर्ब खर्च, ४५ हजार घर नवनिर्माण



नानीराम नेपाल, सिन्धुपाल्चोक
विनाशकारी भूकम्पको ४० महिनामा सिन्धुपाल्चोकमा ४५ हजार घर पुननिर्माण सम्पन्न भएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाईका अनुसार हालसम्म जिल्लाका ४४ हजार ७ सय ३४ नीजि आवास पुननिर्माण सम्पन्न भएका हुन् ।

पहिलो किस्ता लिएका झण्डै पाँच हजार लाभग्राहीले हालसम्म नीजि आवास निर्माणको काम सुरु गरेका छैनन् । अनुदान सम्झौता भई पहिलो किस्ता लिएका ८२ हजार ४ सय ३३ लाभग्राहीमध्ये ४ हजार ८ सय ५० जनाले नीजि आवास निर्माणको काम सुरु नै नगरेका हुन् ।

जिल्ला आयोजना कार्यान्वयन ईकाईका अनुसार ७७ हजार ५ सय ८२ ले धमाधम नीजि आवास निर्माण गरिरहेका छन् । जसमध्ये ४४ हजार ७ सय ३४ ले नीजि आवास निर्माण सम्पन्न नै गरिसकेका छन् ।

हालसम्म जिल्लाका ८२ हजार ४ सय ३३ अनुदान लाभग्राहीसँग अनुदान सम्झौता भएकोमा सम्झौता भएका सवैले पहिलो किस्ता लिइसकेका छन् । पहिलो किस्ताको रकम लिएर मापदण्ड पुरा गर्ने ७० हजार ४ सय ५४ लाई दोस्रो किस्ताका लागि प्रमाणीकरण गरिएको जिल्ला आयोजना कार्यान्वयन ईकाईका इन्जिनीयर टंक गौतमले जानकारी दिनुभयो ।

यस्तै हालसम्म ३६ हजार ५ जनाले दोस्रो किस्ताको काम सम्पन्न गरेको र उनीहरुलाई तेस्रो किस्ताका लागि प्रमाणिकरण गरिएको उहाँले बताउनुभयो ।

विनाशकारी भूकम्पको ४० महिना बितिरहँदा नीजि आवास पुननिर्माणका लागि अर्वौ रकम जिल्लामा खर्च भएको छ । पुननिर्माणको तथ्याङकलाई आधार मान्दा ४० महिनामा १८ अर्व भन्दा बढि अनुदान रकम ८२ हजार ४ सय ३३ जनालाई ५० हजारका दरले पहिलो किस्ताको कुल ४ अर्व १२ करोड १६ लाख रुपियाँ वितरण भइसकेको देखिन्छ ।

दोस्रो किस्ताका लागि प्रमाणीकरण गरिएका ७० हजार बढि लाभग्राहीका नाममा डेढ लाखका दरले १० अर्व ५६ करोड ८१ लाख रुपियाँ हुन आउँछ । हालसम्म तेस्रो किस्ताका लागि प्रमाणीकरण भएका ३६ हजार लाभग्राहीलाई तेस्रो किस्ताको एक लाखका दरले ३ अर्व ६० करोड रकम प्रमाणीकरण भएको देखिन्छ । प्रमाणीकरण भएका मध्ये ५० प्रतिशत भन्दा बढिले अनुदान रकम लिइसकेको नीजि आवास पुननिर्माणमा खर्च भएको छ ।

१ सय ६१ विद्यालय पुनर्निर्माण
विनाशकारी भूकम्पको तिन वर्ष बितिरहँदा भूकम्पमा ध्वस्त १ सय ६१ विद्यालय पुननिर्माण सम्पन्न भएका छन् । तिन वर्षकाबीच भूकम्पमा ध्वस्त ५ सय ४७ विद्यालय भवनमध्ये १ सय ६१ मात्र पुननिर्माण सम्पन्न भएका हुन् ।

जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) का अनुसार जिल्लाका विभिन्न ६४ विद्यालय भवन विद्यालय व्यवस्थापन समिति मार्फत नै निर्माण सम्पन्न भएका हुन् । जिल्लाका ९७ विद्यालय भवनहरु अन्तर्राष्ट्रिय तथा स्थानीय गैरसरकारी संस्थाले निर्माण सम्पन्न गरेका हुन् भने दाताले बनाइदिएका हुन् ।

सम्बन्धित विद्यालय व्यवस्थापन समितिमार्फत जिल्लाका विभिन्न १ सय ४२ विद्यालयका भवन निर्माणाधिन अवस्थामा छन् । गैरसरकारी संस्थाहरुले निर्माण गर्ने १ सय ३१ विद्यालय भवनमध्ये ३४ विद्यालय भवन निर्माणको क्रममा छन् । निर्माण व्यवसायी मार्फत पुननिर्माण हुनुपर्ने ३८ विद्यालयका भवनहरु भने कुनैपनि निर्माण सम्पन्न हुन सकेका छैनन् ।

भूकम्पको तिन वर्ष बितिसक्दा पनि २५ विद्यालयका भवन भने निर्माण सुरु नै भएका छैनन् । आफ्नो स्वामित्वका जग्गाजमिन नभएका तथा न्युन विद्यार्थी संख्या भई मर्जको तयारीमा रहेका विभिन्न २५ विद्यालयका भवनहरु भने निर्माण सुरु नै नभएको जिल्ला आयोजना कार्यान्वयन ईकाईका ईन्जिनीयर शेरबहादुर पुजाराले बताउनुभयो ।

तिन वर्षभित्रै सवै विद्यालय भवन निर्माण सम्पन्न भइसक्नुपर्नेमा हालसम्म १ सय ६१ विद्यालय मात्र पुननिर्माण भए । आगामी दुई वर्षभित्र भूकम्पमा ध्वस्त सवै विद्यालय भवनहरु पुननिर्माण सम्पन्न भइसक्ने ईन्जिनीयर पुजाराले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्