सम्झनामा कहिल्यै नमेटिने नाट्य संवाद



-मुक्तिबन्धु
(तराई आन्दोलनपछि स्वैच्छिक भ्रमणमा म तराई झरेको थिएँ । त्यति बेलाका विभिन्न प्रसङ्गमध्ये एउटा प्रसङ्ग यसरी टिपोट गरेको थिएँ । व्यक्तिको नाम गोप्य राखेर एउटा छोटो सम्बाद मात्र यहाँ पेस गरेको छु । —लेखक)

‘गग्रेटामा गाग्रा छैनन् नि के हो ?’

‘गाग्रा सवै फुटे ।’
‘भूकम्पमा ?’
‘हैन, नरकम्पमा । आन्दोलन गर्न जाउँ भन्दै एक हुल लाठाधारी घरघर पसेका थिए । मेरो घरमा पनि आए । जान्छस् भने खुरुक्क हिंड्, जाँदैनस् भने यी यसरी तेरा जहान परिवारको टाउको फोरिन्छ भन्दै गग्रेटामा लाठो बजारेका थिए । एकै लाठोमा झ¥यामझुरुम फुटे गाग्राहरु ।

माटाका गाग्रा न हुन्, ती पनि पोहोर साल पहाडतिर उक्लँदा राम्रा लागेर ल्याएका थियौँ छोरो र म भएर । गग्रेटो पनि मैले पहाडतिरको जस्तै बनाएको थिएँ । आफ्नै आँखा अगाडि मुटु फुटेजसरी फुटे गग्रेटाका गाग्राहरु । पानी छताछुल्ल पोखियो । आफ्नै रगत् पोखिएजस्तै लाग्यो । के गरुँ ? चुँक्क बोल्ने आँट आएन । ज्यानको मायाले सर्वाङ्ग चुप । साँच्चिकै आर्यमौनमा भयौँ हामी पाँचै जना परिवार ।’

‘तपाइँ राम्रो नेपाली बोल्नुहुन्छ त ?’
‘म १८ वर्षजति त पहाडतिरै बसेँ । म भोजपुरी मैथिली जत्तिकै राम्रो नेपाली पनि बोल्छु । मेरो छोरा र श्रीमती पनि बोल्छन् । म सर्लाहीको, श्रीमती धनुषाकी । काम व्यवसाय गरियो रामेछापमा ।’

‘व्यवसाय के गर्नुहुन्थ्यो ?’
‘म हाइस्कूलमा म्याथ पढाउँथेँ । श्रीमती बुनकर काम गर्थिन् । एउटा मसिन राखेका थियौँ स्वेटर बुन्ने । त्यस ताका काठमाण्डुको बालाजुमा गोल्छा नामको कारखाना थियो । त्यसले उनको धागो प्रसस्त उत्पादन गथ्र्यो । नेपालभरि पाइन्थ्यो त्यो धागो । शायद इण्डिया पनि जान्थ्यो । मेरी श्रीमती त्यसै धागोबाट स्वेटर मफलर मोजा पन्जा र ओढनी पनि बुन्थिन् । धेरैजसो अर्डरको काम हुन्थ्यो । विक्री राम्रो थियो ।

नेपाल सगरमाथाको देश भनेर चिनिन्छ, महात्मा बुद्धको देश भनेर चिनिन्छ । हिमाल हिमालवासीको मात्र छैन, सगरमाथाको गौरव हामी तराईवासीले पनि गर्न पाएका छौं । बुद्ध नेपालको तराईमा जन्मेहुर्केका थिए । बुद्धधर्म हिमाली भेगका बासिन्दामा बढी प्रिय छ । हामी मेचीदेखि महाकालीसम्म र हिमालदेखि तराईसम्मलाई आमाको काख ठानेर ढुक्कसँग विचरण गर्न सक्छौं । मातृभूमि भनेर गौरव गर्न सक्छौं ।

त्यहाँ हामी बसेको घरपति रिटायर्ड ड्राइभर थियो । देशविदेशमा ड्राइभिङ काम गरेको । स्कुल कलेज पढेको त होइन । तर ज्ञानगुनका कुरा धेरै गथ्र्यो । ऊ ‘नेपाल र भारतका पण्डितहरुले वेदको गलत अर्थ लगाए, समाजलाई चौपट बनाए’ भनिरहन्थ्यो । उ भन्थ्यो, ‘हाम्रो शिर ब्राह्मण हो ।

ज्ञान गुन चिन्तन र बुद्धिको कारखाना हो शिर । त्यहाँ भण्डारण पनि हुन्छ । हाम्रा हातहरु क्षत्रिय हुन् । हामी वाहुबल भन्छौँ । वल भनेको सेना पनि हो । हाम्रा वाहुबलले आफ्ना देश र समाजलाई क्षति हुनबाट जोगाउनु पर्छ यसैमा हाम्रा हातहरुको सार्थकता छ । हाम्रो शरीर वैश्य हो ।

यहाँ हाम्रा भरण पोषणका कारखाना चल्छन् । हाम्रा खुट्टाहरु शूद्र हुन् यिनले दह्रो टेकेर, अडेर हिंडेर ठीक ठाउँमा ठीक समय खटेर आफ्नो शरीरका साथै देश र समाजलाई मनग्गे सेवा पु¥याइरहेका हुन्छन् । गाँठी कुरा यो हो । मानिसहरु बराला कुरामा बहकिएर जातपातका जन्जाल बुन्नमा लागे । जातजातिको परिकल्पना नै वाहियात हो’ भन्थ्यो त्यो ड्राइभर ।

त्यसै ड्राइभरले एक दिन ८÷१०जना उसका परिवार र छिमेकीहरुलाई राखेर भन्यो, हेर्नुस्– हिमाल हाम्रो नेपालको शिर हो । शीर्ष पहिचान हो हिमाल । पहाडहरु नेपालका हातहरु हुन् । तराई नेपालको शरीर हो । हाम्रा खुट्टा यहीँ मात्र सीमित छैनन् । सारा संसारभरि फैलिएका छन् । यो यथार्थ बुझेर हामीले हाम्रो समग्रताको रक्षा गर्नुपर्छ । हाम्रो पुर्खाको रगत्ले निर्माण गरेको यो समग्रता हाम्रा सन्ततिका लागि पनि महान् छ । हामीले यसलाई अक्षुण्ण रुपमा जोगाएर नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ ।

आजको युगमा गरिखाने वर्गलाई कुन देश कुन विदेश । लाखौंलाख नेपालीहरु कामको खोजीमा पृथ्वीभरि भौंतारिएका छन् । जहाँ बसिन्छ, बाँचिन्छ त्यही देश भन्न सकिने अवस्था पनि छ आज । तर पनि अझै विश्वनागरिकको व्यवस्था भइसकेको छैन । पहिचानपत्र र प्रवेशपत्र नभए विदेशमा पथरा परिन्छ । हामी विश्वमा नेपाली भनेर चिनिन्छौं ।

नेपाल सगरमाथाको देश भनेर चिनिन्छ, महात्मा बुद्धको देश भनेर चिनिन्छ । हिमाल हिमालवासीको मात्र छैन, सगरमाथाको गौरव हामी तराईवासीले पनि गर्न पाएका छौं । बुद्ध नेपालको तराईमा जन्मेहुर्केका थिए । बुद्धधर्म हिमाली भेगका बासिन्दामा बढी प्रिय छ ।

हामी मेचीदेखि महाकालीसम्म र हिमालदेखि तराईसम्मलाई आमाको काख ठानेर ढुक्कसँग विचरण गर्न सक्छौं । मातृभूमि भनेर गौरव गर्न सक्छौं । यो नेपाली मात्रको सौभाग्यको कुरा हो । नेपाल भूखण्डका तहमा सानो छ र पनि यहाँ भौगोलिक विविधता छ ,सांस्कृतिक विविधता छ , भाषिक विविधता छ, प्राकृतिक सौन्दर्यको विविधता छ । हिन्दू, बौद्ध, मुन्धुम, बोन जस्ताधर्महरुबीचका विशिष्टता र समन्वयात्मकताले हाम्रा रहनसहन भेषभूषा बोली व्यवहार सवै रङ्गिएका छन् । हामी अनेकताकाबीच एक छौं । वर्सौंसम्म पहाडमा बसेर अध्यापन गर्दा मैले यो कुरा राम्ररी बुझेँ । यो यथार्थ तराइबाट बाहिर ननिस्केका हाम्रा धेरै भाइबहिनीलाई थाहा छैन ।’

‘म पनि तराइ पढ्न विकट पहाडबाट तल झरेको हूँ । राजनीतिक हल्लामा मैले मधेस, मधेसी र मधेसवादी दलका प्रसङ्गहरु सुनेँ । म त संस्कृत साहित्यको विद्यार्थी । मैले स्मृति संहिता र पुराणहरुमा मध्यदेशको सीमा पढेको छु । हरिद्वारमा पढ्न बस्दा एकपटक मध्यप्रदेश पनि पुगेको छु । भारतको गोरखपुर इलाकातिर मद्धेसिया थरका मानिस पनि भेटेको छु ।

नेपालको तराईमा मधेस छ भन्ने मैले कतै पढेको छैन । नेपालमा मध्यप्रदेश, मध्यदेश वा मधेस छ भन्ने गफ म मान्दिनँ । तर नेपालको तराईमा केही मधेशीहरु छिरेबसेका हुन सक्छन् भन्नेमा मेरो विमति छैन । जस्तै– अमेरिका पसेका नेपालीका आधारमा अमेरिकामा नेपाल बन्ोको छैन । नेपाल पसेका मधेसीका आधारमा नेपालमा मधेस कसरी बनेछ त ? मेरो अध्ययनको विषय यो पनि हो ।’ मैले भनेँ ।

‘हाम्रो तराईमा आज यूपी र विहारबाट किसिम किसिमका मदारीहरु पसेका छन् । परिबन्द मिलाएर कति यतै बसेका छन् । यस कोटीमा कति गिनेचिनेका नेतानेती पनि छन् । यहाँ अहिले सुनिने मधेसवाद, पहाडविरोध, मारकाट, लखेटो र आन्दोलन तिनैको उत्पादन हो । यसमा सीमापारिका सत्तासीनहरुको भौतिक, प्रेरणात्मक सवै किसिमको सहयोग छ ।

यता आन्दोलन मच्चाउँदा सीभापारि उताका शहरबस्तीहरुमा खानपान विश्राम र शस्त्रास्त्र व्यवस्थापनलगायत सवै सहयोग शिविर सञ्चालन गरिएको हुन्छ । लाठीहरु, बन्दुकहरु र त्यसका धारकमारकहरु सबै त्यतैबाट यता छिर्छन् । मधेसवाद र पहाडियाविरोध यहाँका रैथाने तराइवासीको उपज होइन, हुँदै होइन । म यसको प्रत्यक्षदर्शी र भुक्तभोगीसमेत हुँ ।

नेपालमा मधेस छैन । मधेसका नाममा पराईको सेवा गर्न प्रतिबद्ध केही मधेसी नेताहरु छन् । मैले बुझेको यथार्थ यत्ति हो । यूपी र विहारका सवै घरपरिवारले नागरिकता नपाएसम्म नेपालमा मधेसवादी नेताहरुले उठाएको नागरिकता समस्याको हुइँयाँ रोकिँदैन । यो मतपत्रकै माध्यमबाट इन्दिरा गान्धीको योजना पूरा गर्ने खेल हो, यो सजिलै नागरिकताको खेल । यसमा मधेशवादी नेता मात्र छैनन्, पहाडका नेता पनि छन् ।

दलालल बन्न यूपी र विहारमै जन्मन पर्दैन । नेपालको तराईमै जन्मेका र पहाडमै जन्मेका पनि कतिपय दलाल छन् । को के हो, कामले साबित गर्छ । मैले यो पनि बुझेको छु । मधेशवादी नेताहरुको बेला बेला प्रकट हुने यो हुइयाँ हामी तराइवासीको आवाज होइन । यो हुइयाँ हामी तराइवासीको हितमा छैन ।

मधेशवादी नेताहरु मधेशकै भूमिलाई पनि माया गर्दैनन् । मधेशका आधारभूत जनतालाई आफ्नो देख्दैनन् । पारिबाट निरन्तर सीमा मिचिँदा चुँक्क पनि बोल्दैनन् । पारिका जवानहरुले वारि छिरेर यहाँका निमुखा जनता पिट्दा मार्दा विरोध गर्दैनन् । पारिका सत्तासीनहरुसँग मिलेर आफ्नै देशवासीका विरुद्ध नाकाबन्दी गर्छन् । तराइका शोषित पीडित दलित र पिछडिएका वर्गलाई उकास्ने नीति योजना सपना केही पनि यिनीहरुसँग छैन । यी नेता होइनन्, अरुका खेताला हुन् । यो आग्रह पूर्वाग्रह केही होइन, सचाइ हो । हामी जनता साँच्चिकै जनता हुन नसकेर यी दलाल राजनेताका पछि लागका छौं । यो कुरा खुल्छ, क्रमशः खुल्दै जान्छ ।

खै ! के भन्ने ? रौतहटमा भएको नृशंश नरहत्याकाण्ड र दीपायलमा भएको अर्को भयंकर नरहत्याकाण्डका आयोजक नायकहरु तथा विखखण्डनवाद र समर्पणवादका संस्थापक नायकहरु आज पनि सत्ताबाट षोडशोपचार पूजा पाइरहेका छन् । मन्त्री बनिदिन ससम्मान निम्ता पाइरहेका छन् ।

मन्त्री बनिरहेका छन् । अनि यो विनिर्माणवाद, लम्पसारवादका विचरा लेण्डुपहरु सिंहदरबारमा चाहिँ छिराइएका थिएनन्, छैनन् भन्न मिल्दैन । कुनै न कुनै अवतारमा यी सिंहदरबारमा छन्, लगातारजस्तै छन् । पक्ष यो पनि छ । तपाइँहरु पहाडका, हामी तराईका । सारमा हामी जनताको मर्म एउटै हो । हामी आपसमा मिलेर देश बनाउन चाहन्छौं, नेताहरु हामीलाई फुटाएर आफु धन, सम्मान र शान कमाउन चाहन्छन् । हामी नेपालीहरु आज छिमेकीहरुबाट मात्र पीडित छैनौं, हाम्रै भनाउँदा नेताहरुबाट पनि त्यत्तिकै पीडित छौं ।’ –साथीले भन्नुभयो ।

यसपछि लगत्तै हाम्रो भेट भएन । तीन चुनावपछि काठमाडौंको कमलाक्षीमा अचानक भेट भयो । अभिवादन आदानप्रदानपछि हाँस्दै तराईवासी साथीले भन्नुभयो, ‘अहिलेसम्मको अन्तिम एपिसोडका रुपमा हामीले जनकपुरमा एउटा अभूतपूर्व दृश्य देख्याँैं ।

यताका प्रधानमन्त्री ओली अंकल उताका प्रधानमन्त्री मोदी चाचासँग युनिफर्ममा नारिएर नाच्नुभयो भने यहाँ २ नम्बर प्रदेशका हाम्रा मालिक लालबाबु राउत उताका मालिक मोदीबाबाको चरणकमलमा छाँद हालेर गुनासो पोख्दै घुँक्कघुँक्क रुनुभयो । अनि उपेन्द्र कामरेड पनि सिंहदरबारमा पुनः सम्माननीय उपप्रधानमन्त्री हुन आइपुग्नुभयो । के यी श्रव्यदृश्य–सन्दर्भहरु आजका नेपाल र भारतका शाासकहरु र तिनका नाटक बुझ्न पर्याप्त छैनन् र ?’
यसपछि हामी आफ्ना दुःख–सुखका कुरा गर्दै असनतिर लाग्यौं ।

प्रतिक्रिया दिनुहोस्