सरकारले बहिरा अपाङ्गहरुको हकहित र अधिकार संरक्षण गर्नुपर्छः सांसद सुवाल



पुष्कर बुढाथोकी, भक्तपुर ।
व्यबस्थापिका संसदका सांसद प्रेम सुवालले सरकारले बहिरा अपाङ्गहरुको हकहित र अधिकार संरक्षण गर्नुपर्ने बताउनुभएको छ । शनिबार भक्तपुर बहिरा संघको एघारौं अधिवेशन तथा २२ औं बार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा सांसद सुवालले संचारबिहिन अबस्थामा दुखी जीवन बिताईरहेका बहिराहरुको हितका लागि सरकारले दोभासेको ब्यबस्था गर्नुपर्ने तथा उनीहरुलाइै रोजगारमुलक सीप विकास तालिम दिनुपर्नेमा जोड दिनुभयो ।सरकारले कानुनमा ब्यबस्था भए अनुसार अपाङ्गा भएका ब्यक्तिलाई सामाजिक न्याय प्रदान गर्नुपर्ने बताउँदै संसदमा यसबारे आफूले आवाज उठाउने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय बहिरा संघका अध्यक्ष केपी अधिकारीले आमनागरिक र बहिराबिच प्रत्यक्ष संवादको माध्यम दोभाषे भएकाले सरकारले बहिराको संख्याका आधारमा हरेक स्थानीय तहमा दोभाषेको व्यबस्था गर्नु आवश्यक रहेको बताउनुभयो ।उहाँले बहिरालाई राज्यका हरेक निकायमा प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिंदै सबै वर्ग र समुदायको अधिकार व्यबहारिक रुपमा स्थापित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले राज्यको मुलप्रवाहबाट टाढा रहेका उनीहरुलाई उचित अवसर प्रदान गर्नुपर्ने बताउनुभयो ।

भक्तपुर बहिरा संघका अध्यक्ष सुर्यबहादुर बुढाथोकीले बहिराका लागि भिडियो रिले सर्भिसको ब्यबस्था गर्नुपर्नेमा जोड दिंदै राज्यका तीनै तहमा बहिराको सम्मानजनक सहभागिता हुनुपर्ने बताउनुभयो ।बिभिन्न दश प्रकारका अपाङ्गता मध्य बहिरा अपाङ्ग संबेदनशील भएको भन्दै उहाँले हरेक स्थानीय तह र उद्योगमा कानुनमा ब्यबस्था भए अनुसार अपाङ्गलाई रोजगारी प्रदान गर्नुपर्ने बताउनुभयो ।
संघले बहिरा तथा अन्य स्रोतबाट संकलन भएको रकमबाट भक्तपुर नगरपालिका १० मा २ आना २ पैसा जग्गा खरिद गरेको र उक्त जग्गामा भवन निर्माणका लागि करिब ५ लाख रुपैया संकलन भैसकेकोले भवन निर्माणका लागि चाहिने बाँकी रकम सहयोग गर्न सबैमा आग्रह समेत गरेको छ । बहिरा समुदायको हक, अधिकार, सीप र क्षमता विकासका लागि स्थापित भक्तपुर बहिरा संघको अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्