सेरेनाले खराब हारको कारण बताइन्



लन्डन, (एजेन्सी)
सेरेना विलियम्सले गत महिना जोहाना कोन्टाविरुद्ध खेल खेल्न केही मिनेट अघि उनकी सौतेली बहिनीका हत्यारा छुटेको बताएकी छन्।

सेरेनाकी बहिनीकी हत्यारालाई क्षमादान दिइएको असर उनीमाथि परेको उनले बताइन्। गत महिना सान जोसेमा भएको सिलिकन भ्याली क्लासिक टेनिसमा उनी कोन्टासँग ६–१, ६–० ले पहिलो चरणमा हारेकी थिइन्। यो उनको करियरमा अहिलेसम्मकै सबैभन्दा खराब प्रदर्शन बनेको थियो। उनले एक गेम मात्रै जितेकी थिइन्।

सन् २००३ मा सेरेनाकी बहिनी यटुन्डे प्राइसको ३१ वर्षको उमेरमा हत्या भएको थियो। २३ पटक ग्रान्डस्लाम जितेकी सेरेनाले टाइम म्यागेजिनलाई शुक्रबार बताइन– ‘मेरो दिमागबाट यो घटनालाई हटाउन सकेको छैन।’

रोबर्ट म्याक्सफिल्डलाई अप्रिल २००६ मा १५ वर्षका लागि जेल चलान गरिएको थियो। त्यतिबेला सेरेना पनि उपस्थित थिइन्। रोबर्टले लस एन्जेल्सस्थित कम्पटनमा प्राइसलाई मारेका थिए।

कोन्टासँग हारेपछि गएको मंगलबार सिनसीनाटी टेनिसमा पनि सेरेना पराजित भइन्। उनलाई चेक खेलाडी किटोभाले दोस्रो चरणमा पराजित गरेकी थिइन्। वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन आयोजना हुन २ साताभन्दा कम समय रहेको छ। सेरेना युएस ओपनमा सातौं उपाधि जित्न कोसिस गर्न तयार भएको बताएकी छिन्। यसै वर्ष जुलाईमा भएको विम्बल्डनमा सेरेना फाइनलमा पराजित भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्