सिटीका ब्रुएने घाइते



लन्डन, (एजेन्सी)
वर्तमान इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएने घाइते भएका छन्।

घुँडामा चोट लागेका ब्रुएने केही समय मैदानबाहिर बस्नुपर्ने भएको छ। बुधबार अभ्यासका क्रममा डी ब्रुएनेलाई चोट लागेको थियो। उनको स्वास्थ्यको पूर्ण मूल्यांकन आगामी केही दिनमा हुने बताइएको छ। अहिले नै उनी वैशाखीको सहारामा हिँड्डुल गरिरहेका छन्।

उनी दुईदेखि तीन महिना मैदान बाहिरै रहनेछन्। उनको घुँडाको ल्याटरल लिगामेन्टमा चोट लागेको बताइएको छ। बेल्जियन खेलोडीलाई सन् २०१६ मा चोट लाग्दा नौ हप्तासम्म मैदानबाहिर बस्नुपरेको थियो।

सिटीले आफ्नै अभ्यास मैदानमा डी ब्रुएनेको स्वास्थ्य परीक्षण गराइरहेको छ। उनलाई बार्सिलोनामा रहेका डा. रामोन कुगातकहाँ उनलाई पठाउने बताइएको छ। कुगातले सिटीका घाइते खेलाडीको उपचार गर्ने गरेका छन्।

सिटी अघिल्लो सिजनको प्रिमियर लिग च्याम्पियन बन्दा ब्रुएने सिटीको वर्ष खेलाडी बनेका थिए। डी ब्रुएने नहुँदा सिटीले प्रिमियर लिग उपाधि रक्षा गर्ने आशामा ठूलो झट्का लागेको छ।

प्रतिक्रिया दिनुहोस्