सीपीएलमा छक्काको वर्षा



लन्डन, (एजेन्सी)
क्यारिबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत सेन्ट लुसिया स्टार्स र ट्रिनबागो नाइट राइडर्सबीचको खेलमा चौका र छक्काको वर्षा भएको छ।

सेन्ट लुसियाका डेरेन सामी नेसनल क्रिकेट स्टेडियममा उपस्थित हजारौं दर्शकले चौका र छक्का बर्संदा आनन्द उठाए। खेल दौरानमा कूल ३६ छक्का प्रहार भएका थिए। पहिलो ब्याटिङ गरेको सेन्ट लुसिया स्टार्सका ब्याटसम्यानले १६ छक्का हाने भने नाइट राइडसले १८ छक्का प्रहार गरेको थियो। यसमध्ये डेरेन ब्राभो एक्लैले १० छक्का प्रहार गरे।

लुसिया स्टार्सको तर्फबाट एन्डे« फ्लेचर र डेविड वार्नरले ब्याटिङको थालनी गरेका थिए। अन्तर्राष्ट्रिय क्रिकेटमा एक वर्षका लागि निलम्बनमा परेका अस्टे«लियन वार्नरले दर्शकलाई ज्यादै मनोरन्जन दिए। उनले ५५ बलमा ४ चौका र ३ छक्का हान्दै ७२ रन बनाएका थिए। त्यस्तै फ्लेचरले १४ बलमा १७ रन जोडे।

वार्नरले रहकीम कोर्नवेल र कीरोन पोलार्डसँग साझेदारी गर्दै खेल अगाडि बढाए। कोर्नवेलले ५ छक्का र २ चौकासहित ५३ रनको योगदान दिए भने पोलार्डले २३ बलमा ७ छक्का र १ चौकाको सहयोगमा ६५ रन बनाएका थिए। छक्का र चौकाले गर्दा टोलीले २० ओभरमा २ सय १२ रनको ठूलो योगफल तयार गरेको थियो।

ठूलो लक्ष्य पाएको ट्रिनबागो नाइट राइडर्सका लागि कोलिन मुन्रोले ४ चौका प्रहार गरे। तर उनी २५ रनमै पवेलियन फर्कनुपर्यो। त्यसपछि १० ओभरमा टोलीको लागि जित्न १ सय ५० रनको आवश्यक भएको थियो। तब ब्रेन्डन म्याकुलुम र डेरेन ब्राभोले आक्रमक ब्याटिङ प्रस्तुत गरे। म्याककुलुमले ४२ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ८६ रन बनाएका थिए। ब्राभोले ३६ बलमा ६ चौका र १० छक्का हानेर ९४ रन बनाउँदै टोलीलाई जित दिलाएका थिए।

प्रतिक्रिया दिनुहोस्