एसियाली खेलकुद आजबाट शुरू हुँदै



नेपाल समाचारपत्र
काठमाडौं
एसियाली खेलकुदको १८औं संस्करण आजबाट इन्डोनेसियाको जाकार्ता र पलेङबाङ गरी दुई शहरमा शुरू हुँदै छ।

शनिबार सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रंगशालामा उद्घाटन नेपाली समयअनुसार साँझ ६ बजेर १५ मिनेटमा हुनेछ। भाद्र १७ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले गर्नेछन्। इन्डोनेसियाको मिडियाले जनाएअनुसार उद्घाटन समारोहलाई हेर्न ७६ हजार दर्शक आउनेछन्। उद्घाटन समारोहमा स्थानीय चर्चित कलाकारले आ–आफ्नो प्रस्तुति गर्नेछन्।

उद्घाटन समारोहमा नेपालबाट केवल ८० जनाले सहभागिता जनाउनेछन्। नेपाली टोलीको नेतृत्व खेलकुद मन्त्री जगतबहादुर विकले गर्नुहुनेछ। नेपालको झण्डा १०औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्नेछन्।

उक्त एसियाली खेलकुदमा ४५ देशका ११ हजार ५ खेलाडीले सहभागिता जनाउनेछन्। जसमा ४० खेलका ४ सय २० इभेन्टमा हजारौं खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। इन्डोनेसियाले दोस्रो पटक एसियाली खेलकुद आयोजना गर्ने अवसर दोस्रो पटक जुरेको छ। यसअघि इन्डोनेसियाले सन् १९६२ मा चौथो एसियाली खेलकुद आयोजना गरेको थियो।

इन्डोनेसियामा हुने एसियाली खेलकुदमा सबैभन्दा बढी खेलाडी आयोजक राष्ट्रले ९ सय ५१ जना खेलाडीलाई मैदानमा उतारेको छ। त्यसपछि एसियाली खेलकुदमा सबैभन्दा बढी स्वर्ण पदक जितेको राष्ट्र चीनले ८ सय ५१ खेलाडी सहभागी गराएको छ। त्यस्तै थाइल्यान्डले ८ सय १६, दक्षिण कोरियाले ८ सय ७, चाइनिज ताइपेईले ५ सय ७२ खेलाडीलाई प्रतिस्पर्धा गराइनेछ।

नेपालले भने १ सय ८५ खेलाडीलाई सहभागिता गराउनेछ। २९ खेलमा प्रतिस्पर्धा गर्ने नेपालका लागि पुरुष खेलाडीमा १ सय २९ जना र महिला खेलाडीमा ५६ जना रहेका छन्। नेपालले हालसम्म १ रजत र २२ कांस्य गरी २३ पदक जितेको छ। जसमध्ये तेक्वान्दोले सबैभन्दा बढी १ रजत र १३ कांस्य पदक बटुलेको छ।

प्रतिक्रिया दिनुहोस्