देशकै ठूलो ढल्केबर सबस्टेसन सञ्चालनमा, माथिल्लो तामाकोशीको बिजुली निर्यात गर्न बाटो खुल्यो



नेपाल समाचारपत्र
काठमाडौं
नेपालमा हालसम्मको ठूलो स्वचालित २२०÷१३२ केभी ढल्केबर सबस्टेसनको बिहीबार राती ११ बजे चार्ज गरी सञ्चालनमा आएको छ। देशभित्रको विद्युत् प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सबस्टेसन सञ्चालन (चार्ज)मा आएको हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार सबस्टेसन चार्ज भएपछि भारतबाट पहिलोपल्ट २२० केभी प्रसारण लाइनबाट विद्युत् आयात शुरू भएको छ। यसअघि ढल्केबर सबस्टेसन निर्माण सम्पन्न नभएकाले १३२ केभीमार्फत् विद्युत् आयात भइरहेको थियो।

‘ढल्केबर सबस्टेसन सञ्चालनमा आउनु आन्तरिक प्रसारण प्रणाली सुदृढीकरण र दुई मुलुकबीचको विद्युत् व्यापारका लागि एउटा कोशेढुंगा हो,’ उहाँले भन्नुभयो– ‘ढल्केबरमै ४००÷२२० केभीको अर्को सबस्टेसन निर्माण गरिरहेका छौं, यसको काम पनि डेढ वर्षभित्रमा सक्नेछौं।’ विद्युत् आदान प्रदानका लागि ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारणलाइन यसअघि नै निर्माण सम्पन्न भइसकेको छ।

सबस्टेसन चार्ज भएपछि नेपाल र भारतबीच थप विद्युत् आयात÷निर्यातका लागि पूर्वाधार तयार भएको प्राधिकरणका प्रवक्ता एवम् विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले जानकारी दिनुभयो। स्वचालित भएकाले काठमाडौंको स्यूचाटारमा रहेको प्राधिकरणको भार प्रेषण केन्द्रबाटै सबस्टेसनको सञ्चालन र अनुगमन गर्न सकिने छ। सबस्टेसनमा १६०÷१६० एमभीए, २२०÷१३२ केभीका दुई वटा ट्रान्सफर्मर रहेका छन्।

‘सबस्टेसन सञ्चालनमा आएपछि हिउँदको बढी विद्युत् माग हुने समय (पिक) मा भारतबाट थप विद्युत् आयातका लागि पूर्वाधार तयार भएको छ, ४५६ मेगावाटको माथिल्लो तामाकोसीको निर्माण सम्पन्न भएपछि नेपालमा वर्षायाममा विद्युत् बढी हुन गएको खण्डमा निर्यात गर्नका साथै उक्त लाइनमार्फत इनर्जी बैकिङ गर्न समेत बाटो खुलेको छ,’ प्रवक्ता अधिकारले भन्नुभयो। ढल्केबर–मुजफ्फपुर प्रसारणलाइन बिहीबार ६ बजेसम्मको लागि सट डाउन लिइएकोमा आवश्यक सम्पूर्ण कार्य सकिएको हुँदा निर्धारित समयबाटैै विद्युत् आयातको निरन्तरता भएको अधिकारीले बताउनुभयो। उहाँका अनुसार त्यहाँबाट करिब एक सय मेगावाट विद्युत् आयात भइरहेको छ।

प्राधिकरणले गत हिउँदमा ढल्केबर–मुजफ्फपुर क्रसबोर्डर प्रसारणलाइनमार्फत पिक समयमा दैनिकरूपमा १२० मेगावाटसम्म विद्युत् आयात गरेको थियो। अब थप करिब १५० मेगावाट विद्युत् आयात गर्न सकिने प्राधिकरणले जनाएको छ। मुलुकभित्रको प्रसारण प्रणाली सुदृढीकरणका लागि हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण भइरहेको छ।

यसअघि ढल्केबरमा सबस्टेसन बनाउन समय लागेपछि भारतको मुजफ्फपुर बिन्दुमा दुई वटा ट्रान्सफर्मर भाडाका राखी विद्युत् आयात गरिएको थियो। ढल्केबर सबस्टेसन चार्जभएसँगै भारतको पावर ग्रिडसँग भाडामा लिएर राखिएका ट्रान्सफर्मर अब राख्नु नपर्ने प्रवक्ता अधिकारीले बताउनुभयो। नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण ऋणमा प्रसारणलाइन तथा सब स्टेसनको निर्माण गरिएको हो।

प्राधिकरणले सेन्ट्रल चाइना पावर ग्रिड (सीसीपीजी)सँग १२ जुन २०१४ मा हेटौंडा, ढल्केबर र इनरुवामा सबस्टेसन बनाउन ठेक्का सम्झौता गरेको थियो। तर, सन्तोषजक रूपमा काम नगरेपछि प्राधिकरणले सीसीपीजसँगको ठेक्का २२ सेप्टेम्बर २०१७ मा तोडेको थियो। त्यसपछि ढल्केबर सबस्टेसनको बाँकी रहेको काम गराउन टेण्डर गरी जनबरी २०१८ मा ठेक्का सम्झौता गरेको थियो। भारतीय ठेकेदार कम्पनी टेलमोसले ६ महिनामा काम सक्ने गरी ठेक्का पाएको थियो।

प्रतिक्रिया दिनुहोस्