वाजपेयीको अन्त्येष्टि, धर्मपुत्री नमिताद्वारा दागबत्ती



नयाँदिल्ली, (एजेन्सी)
पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको नयाँ दिल्लीस्थित स्मृतिस्थलमा अन्त्येष्टि भएको छ। उनकी धर्मपुत्री नमिता भट्टाचार्यले दागबत्ती दिएकी थिइन्। भारत रत्न अटल बिहारी वाजपेयीको बिहीबार दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा निधन भएको थियो। उनी ९३ वर्षका थिए। वाजपेयीको अन्तिम यात्रामा राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित शाह, भाजपा नेता लालकृष्ण आडवाणी, कयौं राज्यका मुख्यमन्त्री, कांग्रेस अध्यक्ष राहुल गान्धी सहभागी भएका थिए।

पाकिस्तानका कानुन मन्त्री अली जफर, अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाई, श्रीलंकाका कार्यवाहक विदेशमन्त्री लक्ष्मण किरिएलाले पनि वाजपेयीलाई अन्तिम श्रद्धान्जली अर्पित गरेका थिए।

विहान भाजपा मुख्यालयमा उनको शव अन्तिम दर्शनका लागि राखिएको थियो जहाँ भाजपाका सबै वरिष्ठ नेता तथा कार्यकर्ता उपस्थित थिए।

कांग्रेस नेता सोनिया गान्धी र अध्यक्ष राहुल गान्धी पनि भाजपा कार्यालय पुगेका थिए। भाजपा कार्यालयमा कार्यकर्ताहरूको भीड आफ्ना नेताको अन्तिम दर्शनका लागि पुगेका थिए।

उनको अन्तिम यात्रा अपराह्न २ बजे भाजपा कार्यालयबाट शुरू भएको थियो। प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष अमित शाहसहित भाजपा नेता यस अन्तिम यात्रामा पैदल उपस्थित भएका थिए। वाजपेयीको अन्तिम यात्राका क्रममा सडकका दुवै तर्फ ठूलो संख्यामा नागरिकहरू उपस्थित भएका थिए।

अन्तिम यात्रामा वाजपेयीका धर्मपुत्री नमिता पनि उनको अन्तिम यात्रामा सरिक भएकी थिइन्।

पाकिस्तानमा वाजपेयीलाई सम्झे

भारतीय पूर्वप्रधानमन्त्री वाजपेयीको निधनले भारतलाई मात्र शोकग्रस्त गरेको होइन, उसको क्षत्रीय शत्रु पाकिस्तानमा पनि उनलाई स्मरण गरिरहेको छ। पाकिस्तानी पत्रकार तथा राजनेताहरूले बिहीबार अटल बिहारी वाजपेयीको मृत्युलाई शोक व्यक्त गरेका छन्। उनीहरूले दुई देशबीच शान्ति स्थापित गर्ने उनको प्रयासलाई स्मरण गरेका छन्।

पाकिस्तानका निर्वाचित प्रधानमन्त्री इमरान खानले उपमहाद्वीपकै ठूलामध्येका एक राजनेताको निधनमा अत्यधिक शोकव्ब्यक्त गरे र भारतको यस दुःखको घडीमा आफू उसको साथमा रहेको बताए।

पीटीआई प्रमुखले वाजपेयीको मित्रता बढाउने प्रयासलाई स्मरण गर्दै भने– ‘अटल बिहारी वाजपेयीको निधनले दक्षिण एसियाको राजनीतिमा एक ठूलो स्थान खाली भएको छ। पत्रकारबाट राजनेता बेनका सिनेटर मुशाहिद हुसैन सैयदले वाजपेयीको निधनलाई अपुरणीय क्षति बताए। ‘उनी शान्तिका प्रतीक थिए, जसले पाकिस्तानसँग सम्बन्ध सुधार्ने प्रयास गरे।

पीपीपीका अध्यक्ष विलावल भुट्टोका सञ्चार सल्लाहकार तथा पत्रकार उमर कुरैसीले वाजपेयीलाई किन पाकिस्तानमा पनि मनपराए भन्ने लेखेका छन्। कुरैसीले ट्विटमा भने– भाजपाका भए पनि अटल बिहारी बाजपेयीलाई पाकिस्तानमा पनि मनपराएका छन्। किनभने उनी आफै मित्रताको बसमा यात्रा गरी लाहौर आएका थिए।

पत्रकार मेहर तरारले पनि अटल बिहारी वाजपेयीको लाहौरसम्मको बस यात्रालाई स्मरण गर्दै श्रद्धान्जली दिएका छन्। पीटीआईका प्रवक्ता फवाद चौधरीले ट्विट गरे– एक दिग्गज गए। उनको राजनीति विवादित रह्यो तर शान्तिको उनको इच्छा एक गर्ने खालको थियो।

प्रतिक्रिया दिनुहोस्