कलाका सुन्दर रङ्ग के.के. कर्माचार्य



मोहन दुवाल,
पुख्र्यौली घर पनौती रहेकैले कान्छाकुमार कर्माचार्य सन्दर्भमा काभ्रेको माया गर्छन्। मैले पनि नजिकले उनलाई चिनेकै कारणले के.के.प्रति मेरो मनमा मात्र होइन व्यवहारमा पनि नजिकको सामीप्यता रहेको म महसुस गर्छु।

१४ वर्ष भयो जनमतले मन पराएरै ‘जनमत–कलाकार सम्मान’ ले के.के.लाई सम्मान गर्न पाएको पनि। मृदुभाषी के.के. कलाकारका माझमा आफ्नो छुट्टै पहिचान देखाउन सफल कलाकार हुन्। कान्छाकुमारका नाममा कम चिनिएका के.के. कर्माचार्यको जन्म २००४ साल चैत्र ८ गते फागुन शुक्ल एकादशीका दिन काठमाडौंमा भएको हो। धेरै सङ्घर्षबाट खारिएका कलाकार के.के. कर्माचार्यले दुई छोरी र एक छोरा रीना कर्माचार्यको सहयोगमा हुर्काएर कर्मपथमा लगाउन पाएका छन्।

ज्यादै अभाव र कष्टका बीच जीवन–क्रमहरू गुजारेका यिनका परिवार पनौतीबाट काठमाडौं सरेपछि पनि धेरै वर्षसम्म डेरामा नै बसे। २०३८ सालमा मात्र काठमाडौंमा घर बनाउन सके। आजभोलि यिनी आफ्नै आर्जनमा बनाइएको गौशालाको साधनागल्लीमा बसोबास गर्छन्। वरिष्ठ कलाकार अर्थात् सफल कलाकारका रूपमा देश–विदेशमा चिनिएका के.के. कर्माचार्य सानै उमेरका छँदादेखि चित्र लेख्न थालेका हुन्। कलाप्रति चाख भएकै कारणले यिनी कलाकारितामा जम्न सके। जहाँ गए पनि, जहाँ बसे पनि कला कोर्न खोज्ने, कसैको कला देखेपछि आफूले पनि त्योभन्दा सुन्दर कला कोर्न खोज्ने जाँगरले नै कान्छाकुमार कलाकार बन्न सफल भए।

कागज, कुची, कलम र रंग आदि केही प्रयोग गर्न नपाउँदा पनि आफ्नै बर्कत र तागतले भ्याएअनुसारका सामग्रीहरूकै माध्यमबाट कला कोर्न थालेका यिनी अभावसँग कहिल्यै पनि हारेनन्। चित्रकारितामा निरन्तर लागिरहेकै कारणले र कलालाई आत्मसात् गर्न जानेकै कारणले यिनी सफल कलाकारका रूपमा आफूलाई व्याप्त गर्न सफल रहे।

जुद्धकला पाठशालामा यिनी २०१४ सालमा भर्ना भएको देखिन्छ र २०२१ सालमा यिनले कलाप्रवीणको प्रमाणपत्र प्राप्त गरे। कला सिर्जनामा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार कर्माचार्य यथार्थवादी कलाकारका रूपमा चिनिएका छन्। यिनी मूर्त र अमूर्त कलाकै समन्वयकर्ता अर्थात् दोभानजस्तो देखिँदो कलाकार हुन्। उनको छुट्टै खालको आफ्नै ढङ्गको कला विशेषता रहेकोले टाढैबाट यिनको कला चिन्न सकिन्छ। जीवन–क्रममा यिनी २०२४ साल जेठ ३ गतेदेखि हुलाक सेवामा जागिरे भए। हलाक टिकटका डिजाइनरका रूपमा पछि यिनी प्रख्यात रहे। ३७ वर्ष ९ महिना हुलाक सेवामा जीवन बिताएका यिनले करिब ४ सयवटा जति हुलाक टिकट डिजाइन गरेको देखिन्छ। उनले साहित्यकारहरू सोमनाथ सिग्द्याल, ज्ञान दिलदास, सिद्धिदास अमात्य, पहलमानसिंह स्वाँर, जयपृथ्वीबहादुर सिंह, बालकृष्ण सम, सूर्यविक्रम ज्ञवाली, युद्धप्रसाद मिश्रका सुन्दर मुहारहरू हुलाक टिकटमा सजाइदिएका छन्। गायक नारायणगोपाल गुरुवाचार्य, कलाकार चन्द्रमान मास्के, नेताहरू बी.पी. कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारीजस्ता व्यक्तित्वहरूको मुहार खिचेर यिनले हुलाक टिकटमा आफ्नो सुन्दर कलाकारिताको क्षमता देखाएका छन्।

चित्रकारिता मात्र होइन बालसाहित्यमा पनि यिनको लगाव शक्तिशाली ढङ्गले सम्प्रेषित छ। शान्तदास मानन्धर, जनकप्रसाद हुमागाईं र गोपालराज मैनालीको सक्रियतामा प्रकाशित भएको ‘बालपोष’ बालसाहित्यिक पत्रिकाका पनि यिनी बाल चित्रकार हुन्। थुप्रै बालसाहित्यकारहरू राजीव, जनकप्रसाद हुमागाईं, रामबाबु सुवेदी, शान्तदास मानन्धर, माधव घिमिरे, दुर्गालाल श्रेष्ठ, कृष्णप्रसाद पराजुली, ध्रुवकृष्ण दीप, शाश्वत पराजुली आदिका बालरचना कृतिहरूमा यिनले आफ्नो कला भरिदिएका छन्। नेपाल बाल साहित्य समाजबाट चारपटकसम्म उत्कृष्ट चित्र पुरस्कार प्राप्त गरिसकेका यिनी ‘उत्कृष्ट हुलाक डिजाइनर’ का रूपमा फिलाटेलिक सोसाइटीबाट पनि सम्मानित भइसकेका छन्। पिकासोको कलाबाट बढी प्रभावित कलाकार के.के. कर्माचार्यले कालीदास श्रेष्ठ, तेजबहादुर चित्रकार, जीवरत्न शाक्य र चन्द्रबहादुर मानन्धरलाई आफ्नो चित्रकारिताका गुरु मान्दछन्। रेम्ब्रान्ट, सेजाँ, भ्यान गग, डे कुनिङ, हन्डर्ड वारस, ज्याक्सन पोलाक यिनले मन पराएका कलाकारहरू हुन्।

नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिवसम्म रहेर आफ्नो छवि देखाउन सफल यिनी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, नेपाल कलाकार समाज, नेपाल बाल साहित्य समाज, त्रिमूर्ति निकेतन, आर्टिष्ट सर्कल, सिर्जना कलेज एन्ड फाइन आर्ट, नेपाल ललित कला संस्था, बाल वाङ्मय अनुसन्धान केन्द्रमा समेत सक्रिय रहेर सेवा पुर्याइसकेका वरिष्ठ कलाकार हुन्। यिनले जर्मनी, दक्षिणकोरिया, बेइजिङ, भारत, बंगलादेश, जापानमा पनि आफ्नो कलाक्षमता एकल कलाप्रदर्शनी गरेर, समूह चित्र समूहमा सामेल भएर, इन्डिया त्रिवर्षीय कला प्रदर्शनीमा रमेर, एसिया आर्ट वाइनियलमा सक्रिय रहेर, एसिया आर्ट सोमा आफूलाई देखाएका छन्। नेपालमा पनि थुप्रै पटक एकल कला प्रदर्शनी गरेर सक्रिय कलाकारका रूपमा यिनले आफूलाई चिनाएका छन्।

सरल जीवनशैलीका उदाहरणीय व्यक्तित्व के.के. कर्माचार्य ‘कला समाजको दर्पण’ का रूपमा कलालाई मापन गर्छन्। कलाका कर्मयोगिनी कलामा नै जीवन रमाउन पाउँदा गौरव गर्छन्। थुप्रै साहित्यकारहरूका प्रसिद्ध कृतिका गाता शृङ्गारक रहेर गातामा पनि आफ्नो परिचय देखाउन सफल कलाकार कर्माचार्यले सन्दर्भमा कलाबारे आफ्नो विचार यसरी पोखेका छन्– ‘कुनै फलेकमा आफ्ना अनेकन अनुभूतिलाई आकार दिएर कलात्मक ढङ्गले अभिव्यक्त गरिन्छ भने त्यो चित्रकला हो, यो आफैं मौन भाषा बोल्छ।’

यिनलाई नेपाली कलाजगत्का महान् सर्जक भन्दा अतिरञ्जित नहोला। यिनका सादगी जीवनमा ऊर्जा–स्पर्श देखाइरहन मिल्ने एकखालको सुन्दर स्पर्श छन्। सानोमा भ्वायलिन र बाँसुरी पनि मीठो ढङ्गले बजाउन सक्ने यिनी भ्वायलिन र बाँसुरीमा टिक्न सकेनन्। तर छेस्काले भित्तामा कोरेर चित्र बनाउने यिनी चित्रकारितामा नै रमाए। कलामा पहिचान देखाउन सफल कलाकार के.के. कर्माचार्यले एउटा पत्रिकामा अन्तर्वार्ताको क्रममा आफू कस्तो खालको कलाकार हो भन्ने यसरी चिनाएका छन्– ‘मलाई व्यापारिक हिसाबले नाम र दाम कमाउने रुचि पनि छैन, रहर पनि छैन। हिजोआज हामी कलाकारहरू धनी मानिसको हातको कठपुतलीजस्तै बनेका छौं। सुन र हीराजस्ता धातुहरूभन्दा पनि महँगो बनेको छ हाम्रो कलाकारिता। रङ्गको एउटै आयाम नबुझ्ने मानिस पनि ठूला–ठूला लिलामीमा भाग लिन्छ र कलाकृतिहरूको मूल्य किटान गर्छ।

यसरी ठूलो धनराशी खर्च गरेर ल्याएको कलाकृतिलाई ऊ अँध्यारो गोदाममा थन्क्याइदिन्छ। अब त्यो कलाकृतिको महत्व नै के रह्यो र ?’

के.के.को भनाइले बोल्छ, उनी बिकाउ माल हुन चाहँदैनन्। कलालाई बिकाउ मालमात्र सम्झिने कलाकारहरू पनि होलान्। तिनीहरूभन्दा अलिक भिन्न देखिँदो कलाकार के.के. कर्माचार्यसँगको मेरो सम्पर्क पनि धेरै पहिलेदेखि नै हो।

भेट्दा जहिले पनि आफ्नै दाजुभाइजस्तो देखिँदा यिनी कहिल्यै पनि तडकभडक र उत्ताउलो मनस्थिति बोकेर यताउता भौंतारिएर हिँडेको देखिँदैन। कलामा नै जीवन सुम्पेर आफूलाई कलाकारका रूपमा चिनाएर यिनी ‘धन्य’ का कलाकार बनेका छन्। कलाकार के.के.ले कलाप्रति देखाइरहेको तत्परता र सिर्जनशीलता उल्लेखयोग्य मात्र छैन, उच्चकोटीको छ। कलायात्रामा अझ सुन्दरता थपिँदै जाओस्, शुभकामना छ।

प्रतिक्रिया दिनुहोस्