नर्वेमा मन मगनसँगै गोरी काली सानी मोरी



नर्वेको ओस्लोमा नेपाली गीत संगीत घन्किएको छ। पप गायक दीपक बज्राचार्य, गायिका नलिना चित्रकार तथा रिदम ब्यान्डका बिकी शाक्य, रिकी शाक्य र रौनक कायस्थले युरोपका विभिन्न देशमा कन्सर्ट गर्ने क्रममा हालै नर्वेको ओस्लोमा पहिलो कन्सर्ट गर्दै नेपाली गीत संगीत घन्काएका हुन्।

कन्र्सटको शुरूमा नलिनाले आफ्नो चर्चित गीत गोरी काली सानी मोरी गाएर दर्शक नचाएकी थिइन्। आफ्ना नयाँ तथा पुराना गीत गाउने क्रममा उनले आफ्ना समकालीन तथा अग्रजका गीत पनि प्रस्तुत गरेकी थिइन् ।कन्सर्टको अर्को आकर्षण गायक दीपक बज्राचार्य थिए। उनले रिदम ब्यान्डसँग संयुक्त प्रस्तुति दिएका थिए। लाइभ प्रस्तुतिका क्रममा उनले आफ्नो चर्चित गीत ओ अमिराको साथमा कालीकाली हिस्सी परेकीलगायतका नयाँ पुराना गीत गाउँदा दर्शकले नाचेर साथ दिएका थिए। त्यस्तै नेपालका विभिन्न समुदायको संस्कृतिलाई समावेश गरी तयार पारिएको पछिल्लो गीत मनमगन प्रस्तुत गरेर झुमाएका थिए भने यही गीतमा नर्वेका स्थानीय कलाकारले नेपालको सांस्कृतिक लाखे नाच र पुली किसी प्रस्तुत गरेको थियो।

कन्सर्टमा गायक विष्णु छेत्री र सीताराम पोखरेलको पनि प्रस्तुति रहेको थियो। उनीहरूले आफ्ना चर्चित गीत प्रस्तुत गर्दा दर्शकले प्रशंसा गरेका थिए। करिब २ सय दर्शकको सहभागिता रहेको कन्सर्ट हाम्रो इभेन्ट, ओस्लोले आयोजना गरेको नर्वेबाट नेपाल समाचारपत्रका सहयोगी द्वारिका महर्जनले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्