लोकगीतमा कलाको कमाल



रश्मी थापा,
यतिखेर नेपाली गीतसंगीतमा हिन्दू नारीहरूको पर्व तीजको प्रभाव छ। नेपाली लोक गीतसंगीत तीजमय बनेको छ। यो मौसममा तीज गीतहरूको बाढी नै आइरहेको छ।

लोक तथा दोहारी गीतको क्षेत्रमा १ दशकदेखि रहेकी गायिका कला लम्साल पनि तीज गीत महारानी म्युजिक भिडियोसहित लिएर दर्शक, स्रोतामाझ आएकी छिन्। जसमा उनलाई अर्की गायिका शीतल शर्मा र शिव हमालले साथ दिएका छन्। गीतमा शब्द र लय शिव हमालको रहेको छ। अघिल्ला तीजमा पनि छड्के तीलहरी, छड्के तीलहरी–२ गरी विभिन्न तीज गीत ल्याएकी कला आफूमा गीत गाउने कला जन्मजात नै आएको बताउँछिन्।

तनहुँ जिल्लाको थर्पुमा जन्मेकी कला आमा लीलादेवी लम्साल र बुबा लीलामणि लम्सालकी कान्छी सन्तान हुन्। लोकगीतको उर्वर भूमि तनहुँको हावापानी तथा कोमल वली, लक्ष्मी न्यौपानेजस्ता गायिकाहरूको गीत रेडियोमा सुन्दै हुर्केकी कला सानैदेखि आफूमा गीत गाउने रहर भएको र विद्यालयमा हुने विभिन्न कार्यक्रम तथा स्पर्धाबाट आफू गीतसंगीतसँग नजिकिँदै गएको बताउँछिन्।

तनहँुबाट एसएलसीसम्मको पढाइ पूरा गरी पोखरास्थित पीएन क्याम्पसबाट इन्टर गरेकी उनी ब्याचलर पढ्न काठमाडौं आएसँगै गीतसंगीतसँग अझ नजिकिन पुगिन्।

गीतसंगीतमा प्रवेश गर्ने क्रममा आफ्नै लय शब्दमा पहिलो लोकदोहोरी एल्बम मर्न पाए खुसी हुन्थे म बाट २०६५ सालमा गीतसंगीतको क्षेत्रमा औपचारिकरूपमा प्रवेश गरेकी उनले हालसम्म छड्के तीलहरी, छड्के तीलहरी–२, वनैमा फुलेको चमेली, दही जमाउने ठेकी फूलको डाली जस्ता गीतसहित ९ एल्बम बजारमा ल्याएकी छिन्।

यी गीतमा उनलाई शिव हमाल, रामजी खाण, खुमन अधिकारी, तेजेश अधिकारी, प्रीति आलेमगर, शीतल शर्माजस्ता गायक गायिकाले साथ दिएका छन्।

‘पहिलो एल्बम निकालेको समयमा सीडी बिक्री हुन्थे। रेडियो, एफएममा गीत बज्थे। अग्रज कलाकारले त क्यासेट बेचेरै घर, गाडी पनि किन्थे। तर नयाँ कलाकारको गीत भने मिडियाले बजाउन अप्ठेरो मान्थे’, कलाको अनुभव छ– ‘अहिले त्यस्तो छैन। अहिले गीत सुन्नेभन्दा पनि हेर्नेको जमात बाक्लो छ। कलाकारले आफ्नै युट्युब च्यानलमार्फत गीत अपलोड गरेर युट्युब भ्युजबाट इनकम प्राप्त गर्न सम्भव भएको छ। चलेका कलाकारलाई स्पेसल्ली स्टेज कार्यक्रमले नामसँगै दाम कमाउने अवसर दिएको छ।’

नेपाल प्रहरीमा ६ वर्ष गायिकाको रूपमा काम गरेकी उनी प्रहरी गीत गाउनुको साथै शब्द पनि लेख्ने गर्थिन्। प्रहरीको जागिरबाट राजिनामा दिएपछि गीतसंगीतमा नै समय बिताइरहेकी कलाले नेपालका विभिन्न स्थानमा हुने मेला महोत्सवदेखि रसिया, युएई, भारतलगायतका देशमा हुने विभिन्न सांगीतिक कार्यक्रममार्फत आफ्नो गायनकला देखाइकेकी छिन्। तीज कार्यक्रमका लागि छिट्टैै बेलायत जाने तयारीमा रहेकी उनी कार्यक्रममै सहभागी हुनका लागि जापानलगायत देशहरूको भिसाको प्रतिक्षामा छिन्।

नेपाली गीतसंगीतमा सेन्सर निकाय तथा मापदण्ड नभएका कारण नै लोकगीतको क्षेत्रमा विकृति भित्रिएकाले संगीत क्षेत्रका राम्रा र मौलिक गीत गाउने कलाकारलाई पनि अप्ठेरो परेको कलाको धारणा छ। ‘कुनै मेला महोत्सवमा जाँदा त्यहाँ विभिन्न किसिमका गीत गाउने गायक गायिकाको सहभागिता हुन्छ।

उच्छृंखल प्रस्तुति दिइरहेका कलाकारको प्रस्तुति नै धेरै दर्शकले मन पराइरहेका हुन्छन् भने मिडियामा पनि उनीहरूकै क्रियाकलापलाई बढी महव दिएर प्रस्तुत गरिन्छ’, कलाको गुनासो छ– ‘जसले गर्दा राम्रो गर्न खोज्ने कलाकार छायाँमा परेका छन्। त्यस्ता गीत गाउने कलाकारलाई दर्शक तथा मिडियाले नै स्थान नदिए विकृति नै आउँदैन।

यसकारण लोकगीतमा विकृति भित्रनुमा सबैको दोष छ।’ कार्यक्रममा प्रस्तुति दिँदा नेपाली गुन्यु चोलीमा प्रस्तुत हुने उनी पछिल्लो समय आफ्ना गीतमा आफै अभिनय गरेर आफ्नो कलाको दायरा अझ फराकिलो बनाइरहेकी छिन्। लाइभ दोहोरीमा राम्रो प्रस्तुति दिने उनी पढाइसँगै गीतसंगीतलाई पनि अगाडि बढाउने सोचमा छिन्।

प्रतिक्रिया दिनुहोस्