इमरान खान प्रधानमन्त्रीमा निर्वाचित



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानको नेसनल एसेम्बलीले शुक्रबार सदनमा भएको निर्वाचनद्वारा पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) प्रमुख इमरान खानलाई देशको २२औं प्रधानमन्त्रीमा चुनेको छ। उनको विरोधमा पीएमएल–एनका तर्फबाट प्रत्यासी बनेका शाहबाज सरिफलाई पराजित गर्दै इमरान खान प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।

गत जुलाई २५ मा सम्पन्न चुनावमा इमरानको पार्टी सबैभन्दा ठूलो पार्टी बनेको हो। इमरानले शनिबार प्रधानमन्त्रीको शपथ लिनेछन्।

जियो न्युजका अनुसार पीएमएल–एन र अन्य विपक्षी पार्टीलाई साथ दिइरहेका पीपीपीले शाहबाज सरिफको उम्मेदवारीलाई समर्थन गर्न हात झिकेका थिए। पाकिस्तान पिपल्स पार्टी (पीपीपी) का सांसदहरू मतदानमा अनुपस्थित रहेका थिए। जमात–ए–इस्लामीका एक सदस्यले पनि मतदानमा भाग लिएनन्।

पीपीपीको उक्त निर्णयलाई लिएर पार्टी अध्यक्ष बिलावल भुट्टो जरदारीले सदनमा अनुपस्थित हुनु उनको आफ्नो अधिकार भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्