धरहरा पुनर्निर्माण अन्योलमा, लगातार पाँचौंपटक स्थगित



ईश्वरराज ढकाल, काठमाडौं
धरहरा पुनर्निर्माण गर्न आह्वान गरिएको आर्थिक प्रस्ताव खोल्ने मिति पाँचौंपटक स्थगित भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले शुक्रबार प्रस्ताव खोल्ने मिति तय गरेको थियो। प्राविधिक प्रस्ताव पास भएका पाँच कम्पनीमध्ये कुनै एकको कागजात शंंकास्पद भएको जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको थियो।

सो उजुरी छानबिनका क्रममा रहेकाले शुक्रबार तय गरेको मितिमा प्रस्ताव खोल्न नसकिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिनुभयो।

प्राधिकरणले पुनः ५ गते प्रस्ताव खोल्ने नयाँ मिति तय गरेको छ। ‘कसको विरुद्धमा उजुरी दिएको हो भन्ने विषयमा प्राधिकरणलाई जानकारी नहुँदा समस्या परेको हो’, उहाँले भन्नुभयो– ‘उजुरी परेको कम्पनीबारे जानकारी भएको भए समयमै छानबिन भएर टुङ्गो लाग्ने थियो।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शंकास्पद कम्पनीको विषयका बारेमा छानबिन गरिरहेको उहाँले जानकारी दिनुभयो।

लगातार सूचना निकाल्दै म्याद थप गरिरहँदा टेन्डर दिएका कम्पनीलाई समेत समस्या परेको छ। सार्वजनिक खरिद नियमावलीअनुसार लगातार सय दिनसम्म टेन्डर खोल्न नसकेपछि पुनः टेन्डर गर्नुपर्ने हुन्छ। बिड भ्यालिडिटी पिरियड सय दिनको हुने भएकाले पुनः सूचना निकाल्न मिल्ने प्राधिकरणले जनाएको छ। सूचना निकाल्दै प्रस्ताव खोल्ने मिति स्थगित गरेको करिब दुई महिना बितिसकेको छ। प्राधिकरणले पहिलोपटक वैशाख ३१ गते सूचना जारी गरी प्रस्ताव आह्वान गरेको थियो। लगत्तै असार २० गते सूचना जारी गरी असार २६ गते आर्थिक प्रस्ताव खोल्ने मिति सार्वजनिक गरेको थियो।

त्यसपछि लगातार चौथो पटकसम्म स्थगित भएको छ। अब भदौ ५ गते कुनै पनि हालतमा प्रस्ताव खोल्ने गरी तयारी भइरहेको सहसचिव मानन्धरले जानकारी दिनुभयो। ‘प्रधानमन्त्री कार्यालयको समेत चासो बढेपछि शंस्कास्पद उजुरी छानबिन गरी ५ गते नै प्रस्ताव खोल्ने तयारी गरेका छौं।’ –उहाँको भनाइ छ।

धरहरा पुनर्निर्माणका लागि जेइक–लामा जेभी, सीआर ५ सीईसी–स्वच्छन्द जेभी, कुमार–सीएफईसी जेभी, जीआईईटीसी–रमनजेभी, सीआईसीओ कालिका–रसुवा जेभीले प्रस्ताव पेस गरेका थिए।

२०७२ सालमा आफैं प्रधानमन्त्री हँुदा ‘म बनाउँछु मेरो धरहरा’ अभियान चालेका प्रधानमन्त्री केपी ओलीले आफ्नै कार्यालयमा परेको उजुरी छानविन गर्न निर्देशन दिन सक्नुभएको छैन। त्यसैले लगातार चौथोपटक प्राविधिक प्रस्ताव मूल्यांकन गरी आर्थिक प्रस्ताव खोल्न सकेको छैन। यसमा राजनीतिक चलखेल बढेको आशंका गरिएको छ। सहसचिव मानन्धरले नाम तोकेर उजुरी दिएको भए छानविन गर्न सजिलो हुने बताउँदै गोप्य उजुरी दिएकाले समस्या परेको बताउनुभयो।

यसअघि नेपाल टेलिकमले धरहरा बनाउने प्रस्ताव गरेको थियो। त्यस बेला पुरातत्व विभागले व्यापारिक प्रयोजनका लागि धरहरा निर्माण गर्न लागेको आरोप लगाउँदै टेलिकमको प्रस्ताव अस्वीकार गरेको थियो। काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको धरहरा पछिल्लो समयमा विभागले कि कामपाले बनाउने भन्ने विषयमा विवाद भएपछि प्राधिकरण आफैंले बनाउने निर्णय गरेको थियो। नयाँ धरहरा भत्किएको धरहराको पूर्वपट्टि निर्माण गरिनेछ।

२०७२ सालको शक्तिशाली भूकम्पले ध्वस्त भएको धरहरालाई करिब तीन साता अघि काठमाडौं महानगरपालिकाले पालले छोपेर सुरक्षित गरेको छ। कामपाले धरहरा पुनर्निर्माण गर्न वरपरका सम्पूर्ण पसल भत्काइसकेको छ। करिब ४ अर्ब रुपियाँको लगातमा निर्माण हुन लागेको धरहरा कहिले पुनर्निर्माण हुन्छ भन्ने विषय अनिश्चित भएको छ। प्राधिकरणले करिब १ अर्ब २५ लाख रुपियाँमा धरहराको मुख्य भाग निर्माण हुनेछ। त्यसपछि हुलाक सेवा विभाग र टक्सारको जग्गा ओगटेर फाउन्डेसन, पार्क, वेसमेन्ट निर्माण गरिनेछ। करिब ४२ रोपनी जमिनमा निर्माण हुने धरहराको दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ।

अब बन्ने नयाँ धरहरा २२ तलाको हुनेछ। त्यसको उचाइ १ सय ४५ फिट हुनेछ। अपांगमैत्री धरहरामा वृद्धवृद्धाका लागि छुट्टै व्यवस्था गरिने भएको छ। दुईवटा लिफ्टसहितको नयाँ संरचनामा ८ जनालाई चढ्ने र ८ जनालाई ओराल्ने व्यवस्था हुनेछ। भ¥याङ चढ्नेका लागि छुट्टै व्यवस्था हुनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालको अभियानअन्तर्गत २०७२ फागुन ४ गते आफ्नो एक महिनाको तलब धरहरा पुनर्निर्माणका लागि उपलब्ध गराउनुभएको थियो।
अभियानअन्तर्गत धरहरा पुनर्निर्माण कोषमा करिब २५ करोड रुपियाँ जम्मा भइसकेको छ। पुनः प्रधानमन्त्री भएको करिब ६ महिना पुगिसक्दा पनि धरहरा पुनर्निर्माण कार्यले गति लिन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्