सुस्तायो कांग्रेस



रामकृष्ण चापागाईं, काठमाडौं

स्थानीय, प्रान्तीय र संघीय निर्वाचनबाट राष्ट्रिय राजनीतिमा कमजोर सावित भएको नेपाली कांग्रेस पार्टीको आन्तरिक गतिविधिमा पनि सुस्ताउँदै गएको छ।

तीनै तहको निर्वाचनमा लज्जासपद हार बेहोरेपछि प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले पार्टी संरचनालाई सशक्त ढंगले अघि बढाउन सकेको छैन। शीर्ष नेताहरू मात्र हैन केन्द्रदेखि गाउँ तहसम्म गुट–उपगुटमा नेता कार्यकर्ताहरू विभाजित हुनु कांग्रेस सुस्ताउँदै जानुको मुख्य कारण देखिएको छ।

कांग्रेसभित्र मौलाउँदै गएको गुट–उपगुटको कारण पार्टीको सशक्त भ्रातृ संगठन नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र नेपाल महिला संघसमेत प्रभावकारी ढंगले अघि बढ्न सकेको छैन।

तरुण दललाई शीर्ष नेताहरूले भागवण्डा गरेपछि नेतृत्वका आकांक्षाका साथ चुनावी मैदानमा रहेका अन्य नेताहरूले तत्कालीन समयमा अध्यक्ष शेरबहादुर देउवा, उपाध्यक्ष कृष्णप्रसाद सिटौला, महासचिव रामचन्द्र पौडेल र कोषाध्यक्ष खुमबहादुर खड्काको भागमा परेको भन्दै पोखराबाट राजधानी फर्किएका थिए।

पोखरामा सम्पन्न महाधिवेशनमा सहमतिमा नेतृत्व चयन नहुने पक्का भएपछि पार्टीका शीर्ष नेताहरूले दुई दिन लम्ब्याएर भए पनि आफ्नो पक्षका नेताहरूलाई पदाधिकारीमा चयन गरेका थिए। महाधिवेशनमा अध्यक्षमा सभापति शेरबहादुर देउवा पक्षका जितजंग बस्नेत, उपाध्यक्षमा नेता कृष्णप्रसाद सिटौला पक्षका उत्तम चापागाईं, महासचिवमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका भूपेन्द्रजंग शाही र कोषाध्यक्षमा खुमबहादुर खड्का पक्षका नेता विधान गुरुङलाई चयन गरिएको घोषणा गर्दै कार्यसमितिका बाँकी सदस्य पछि चयन गर्ने भन्दै महाधिवेशन सम्पन्न भएको थियो। तरुण दलको संशोधित विधानअनुसार खुलातर्फ २३, प्रदेशबाट २८, महिलाबाट ८, आदिवासी जनजाति मधेसबाट ४÷४ जना, दलित अल्पसंख्यकबाट ३÷३ जना तथा थारू मुस्लिमबाट १÷१ जना निर्वाचित हुनुपर्नेछ। संशोधित विधानमा अध्यक्षले २ सचिवसहित १६ जना मनोनित गर्ने व्यवस्था गरिएको छ।

नेपाल विद्यार्थी संघभित्रको विवाद चरम उत्सर्गमा पुगेको छ। निर्धारित समयभित्र अधिवेशन हुन नसकी नेविसंघ भंग हुने अवस्थामा पुगिसकेको छ। नेविसंघको अघिवेशन गर्ने म्याद आज शनिबार सकिँदै छ। कांग्रेसभित्र सक्रिय ३ गुटमध्ये रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला गुट नेविसंघभित्र अहिले एकजुट भएका छन्।

सभापति शेरबहादुर देउवा पक्षका अध्यक्ष नैनसिंह महरले नेविसंघलाई विधि विधानबाट भन्दा पनि एकलौटी ढंगले सञ्चालन गरेको आरोप लागिरहेको छ।

नेविसंघको विवाद मिलाई महाधिवेशन गराउन कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतलाई जिम्मेवारी दिइएको छ। आजदेखि महाधिवेश गर्ने समय सकिने भएपछि ३ महिना म्याद थप गरेर भए पनि अधिवेशन गर्न पौडेल र सिटौला पक्षका विद्यार्थी नेताहरूले दाबाब दिइरहेका छन्।

नेविसंघका सहमहामन्त्री माधव ढकाल भन्नुहुन्छ– ‘आफ्नो गुट हार्ने डरले नेविसंघ अध्यक्ष महर र महाधिवेशन गराउने जिम्मेवारी लिएका पार्टीका सहमहामन्त्री महतले लोकतान्त्रिक पार्टीको सबैभन्दा ठूलो संगठन नेविसंघलाई अनिर्णयको बन्दी बनाइरहेका छन्।’ महिला संघभित्रको विवादले पनि पार्टीको भ्रातृ संगठनभित्र गुट उपगुट कति मौलाएको छ भन्ने स्पष्ट सन्देश दिइरहेको छ। महिला संघको विवाद मिलाउन केन्द्रीय सदस्य एनपी साउदलाई जिम्मेवारी दिइएको छ।

नेपाली कांग्रेसले संघीय संरचनाअनुसार पार्टी संरचना अझै निर्माण गर्न सकेको छैन। संघीय संरचनामा पार्टी संगठन निर्माणका लागि विधान संशोधन गर्ने प्रक्रिया अझै अघि बढेको छैन। विधान संशोधन तथा परिमार्जनका लागि भदौ मसान्तभित्र महासमिति बैठक आह्वान गर्ने भनिए पनि यो महिनाभित्र महासमिति बैठक बस्ने सम्भावना छैन।

पार्टीलाई प्रभावकारी ढंगले अघि बढाउन विधानमा व्यवस्था गरिएको संगठन विभाग, स्थानीय विभाग, संसदीय विभाग, तरुण विभाग, महिला विभाग, विद्यार्थी विभाग, प्रचार विभाग शिक्षा विभाग, पेशागत तथा वुद्धिजीवी विभाग, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, स्वास्थ्य विभागजस्ता महत्वपूर्ण ४२ वटा केन्द्रीय विभागहरू अझै गठन भएका छैनन्। महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गठन गरिसक्नु पर्ने यी विभागहरू अर्को महाधिवेशन आउने बेलासम्म पनि गठन हुन्छ की हुँदैन भन्ने पार्टी कार्यकर्ताहरूले प्रश्न उठाउन थालिसकेका छन्।

पार्टीभित्रको केन्द्रीय विभागलाई भन्दा बढी महत्व दिइएको नीति तथा प्रशिक्षण प्रतिष्ठान १३औं महाधिवेशनदेखि निष्क्रिय छ। प्रतिष्ठानमा कार्यकारी निर्देशक छनोट गर्नेबाहेक पदाधिकारी चयन अन्य काम अघि बढ्न सकेको छैन। विधानले व्यवस्था गरेको विभिन्न केन्द्रीय समितिहरू बन्न नसक्दा पार्टी निष्कृय जस्तो देखिएको छ। नेपाली कांग्रेसको १४औं महाधिवेशन आउन अब ३० महिना बाँकी छ। कांग्रेसको १३औं महाधिवेशन सम्पन्न भएको ३० महिना पुरा हुन लागिसक्यो। २०७२ फागुनमा सम्पन्न महाधिवेशनपछि नेतृत्वमा आएका सभापति शेरबहादुर देउवाले दुई महिनाभित्र गरिसक्नुपर्ने कार्य अझै गर्न नसक्दा कांग्रेस सुस्ताउँदै गएको भन्दै पार्टीभित्र चर्को आलोचना भइरहेको छ।

संविधानको धारा २६९ मा राजनीतिक दलसम्बन्धी व्यवस्थामा कम्तीमा ५ वर्षमा एक पटक अधिवेशन गरी पदाधिकारीको निर्वाचन गर्नैपर्छ। संविधानतः विशेष परिस्थिति उत्पन्न भए ६ महिना लम्ब्याउन मिल्छ।

नेपाली कांग्रेसले बढीमा तीन वर्षभित्र महाधिवेशन गरिसक्नुपर्छ। यो अवधिमा कांग्रेसले पार्टीलाई सशक्त बनाउन गर्नुपर्ने काम धेरै छ। आन्तरिक रूपमा पार्टी संरचनालाई सशक्त बनाउने मात्र हैन तीन तहको निर्वाचनबाट गुमेको साखलाई माथि उठाउन र आमजनताको घरदैलोमा पार्टीको नीति सिद्धान्त पुयाउन पनि कांग्रेसलाई यो समय प्रयाप्त छैन। आन्तरिक रूपमा सुस्ताउँदै गएको कांग्रेसलाई प्रतिपक्षबाट आफ्नो पार्टीले गरेको जनहितका कार्य तथा सत्तापक्षको कमिकमजोरी औंल्याउँदै आफ्नो पक्षमा जनमत सृजना गर्न पनि यो तीन वर्षको अवधिलाई उपयोग गर्न नसक्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्