डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तहरुद्वारा अस्पतालमा नाराबाजी



नेपाल समाचारपत्र, काठमाडौं ।
बिरामीको मृत्युको विषयलाई लिएर मित्रपार्कको दिर्घायु गुरु अस्पतालमा नाराबाजी र होहल्ला भएको छ ।

काठमाडौं चागुनारायण नगरपालिका ७ बासबारीकी सम्झना काफ्ले विगत पाँचदिन अघि सामान्य बान्ता हुने र वाकवाकी लाग्ने समस्याका कारण काठमाडौंको मित्रपार्क्स्थित दीर्घायु गुरु हस्पिटलमा चेकजाँच गर्न आएकी थिइन् । डाक्टरले उनलाई भर्ना भएर उपचार गर्नुपर्ने बताएपछि उनी विगत पाँचदिनदेखि भर्ना भएकी थिइन् ।

हिजोसम्म सामान्य अवस्थामा रहेकी उनलाई आज विहान ११ बजे अस्पतालले मृत घोषणा गरेपछि मृतकका आफन्तहरुले अस्पतालको चरम लापरवाहीका कारण काफ्लेको मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा नाराबाजी र डाक्टरलाई कारवाहीको माग गरेका छन् ।

ठूलोमात्रामा आफन्त जम्मा भई अस्पतालमा नाराबाजी शुरु गरेपछि  अस्पताल परिसरमा उलेख्य मात्रामा प्रहरी परिचालन गरिएको छ ।

उनलाई डा. गोपाल रमणले विगत पाँचवर्षदेखि चेकजाँच गर्दै आएको आफन्तहरुले बताएका छन् । तर आज एक्कासी परिवारका सदस्यलाई कुनै जानकारी नै नदिई मृत्यु भएको घोषणा गरेपछि आफन्तहरु आक्रोशित भएका हुन् । काफ्लेको मृत्यु बारे अहिलेसम्म अस्पतालले आधिकारिक रुपमा केही बताएको छैन ।

आफन्तहरुले डा. गोपाल रमणलाई पटक पटक फोन गर्दा कहिले ४ बजे, कहिले ६ बजे, कहिले ७ बजे त कहिले ८ बजेसम्म आउने जानकारी आफन्तहरुलाई दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्