नगरपालिकामा बार्षिक ९४ करोड रुपैंयाँ रेमिट्यान्स: खै त सदुपयोग ?



रामधन राई, खोटाङ ।
खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वैदेशिक रोजगारीवाट बार्षिक साँढे ९३ करोड रुपैंयाँ बढी रेमिट्यान्स भित्रिने गरेको छ । नगरपालिकावाट वैदेशिक रोजगारीको लागि बढी मात्रामा जाने खाडी मुलुक तथा मलेसियावाट वार्षिक ९३ करोड ५४ लाख ४२ हजार रुपैंयाँ रेमिट्यान्स भित्रिने गरेको तथ्याङ्कमा उल्लेख छ ।

१५ वटा वडा रहेको उक्त नगरपालिकामा गरिएको घर–घर तथा ब्यक्ति–ब्यक्ति सर्वेक्षण अनुरुप नगरपालिकाभित्र उल्लेख्य रुपमा रेमिट्यान्स भित्रिने गरेको पाईएको मेयर दिपनारायण रिजालले वताउनुभयो । आर्थिक बर्ष २०७४÷०७५ मा वैदेशिक रोजगारीवाट भित्रिएको उक्त रकम नगरपालिकाको बार्षिक बजेट भन्दा बढी रहेको रिजालको भनाई छ । १० हजार ५० घरधुरी रहेको नगरपालिकाको बार्षिक बजेट करिव ६८ करोड रुपैंयाँ रहेको छ ।

नगरपालिकाको कुल घरधुरीमध्ये २ हजार ६ सय ८१ घरका ३ हजार १ सय ५३ जना कामदार हाल वैदेशिक रोजगारीको लागि विभिन्न देशमा रहेका छन् । बिशेष गरी खाडी मुलुकहरु क्रमश ः साउदी, कतार, तथा दुवईमा नगरपालिकावाट गएका कामदार रहेको तथ्याङ्क रहेको छ ।

नगरपालिकाकै आर्थिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी खोटाङले तयार पारेको तथ्याङ्क अनुसार खाडीकै देशहरु कुवेत, बहराईन, ओमान तथा मलेसियामा रहेका कामदारहरुवाट उक्त रेमिट्यान्स भित्रिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकावाट वैदेशिक रोजगारीमा जानेको कूल संख्यामध्ये ७ प्रतिशत मात्र युरोप तथा अन्य मुलुकमा छन् ।

छुट्टीमा फर्किएका र जान तयार कामदारको संख्या तथा उनिहरुको आम्दानीलाई तथ्याङ्कमा उल्लेख नगर्दा समेत रेमिट्यान्सको मात्रा यति ठूलो देखिनु चानचुने कुरा नभएको नगरवासीको ठहर छ ।
कहाँ सदुपयोग हुँदैछ रेमिट्यान्स ?

वैदेशिक रोजगारीवाट नगरपालिकामा भित्रिएको रेमिट्यान्समध्ये सबै भन्दा बढी २८ दशमलब ३ प्रतिशत जग्गा खरिद तथा घर निर्माणमा खर्च गर्ने देखिएको छ । यस्तै, घर खर्चमा १९ दशमलब ५, ऋण तिर्न १९ दशमलब ३ र शिक्षा तथा स्वस्थ्यमा १९ दशमलब २ प्रतिशत रेमिट्यान्स खर्च भएको नगरपालिकाको तथ्याङ्क छ ।

कूल रेमिट्यान्सको ९ प्रतिशत बचत गरेको देखिन्छ भने ४ प्रतिशत चाहीँ ब्यवसाय सञ्चालनमा खर्च भएको पाईएको सामी परियोजनाको जिल्ला संयोजक भक्त राईले बताउनुभयो ।
रेमिट्यान्स भित्रिनु भन्दा पनि त्यसको सदुपयोगको विषय महत्वपूर्ण ठानिएको छ । वैदेशिक रोजगारीवाट आउने रेमिट्यान्सको मात्रा र उपलब्धी तथा सदुपयोगको हिसावले हेर्दा बढी नै सोंच्नुपर्ने अवस्था आएको सरोकारवालाहरु बताउँछन् ।

रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु र सँधैभरि वैदेशिक रोजगारीमै निर्भर रहनुपर्ने अवस्था अन्त्यको लागि प्रेरित गर्नको लागि निकै गम्भिर भएर लाग्न आवश्यक रहेको मेयर दिपनारायण रिजालले जनाउनुभएको छ । रेमिट्यान्सको सदुपयोग गर्दै समृद्दिको वाटोमा लाग्नुपर्ने उहाँको धारणा छ । वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमूलक बनाउनका लागि कार्यक्रम सञ्चालन गर्न वैदेशिक रोजगारीकैे क्षेत्रमा काम गरिरहेको सुरक्षित आप्रवासन परियोजनाको लागि नगरपालिकाले २० लाख रुपैंयाँ बजेट बिनियोजन गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जस्तै जिल्लाका अन्य स्थानीय तहबाट समेत वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रहेका छन् । सवै युवाहरुलाई स्वरोजगार बन्न पे्ररित गर्नुपर्ने तथा वैदेशिक रोजगारीमा गईसकेको र जान तयार भईसकेकाहरुलाई सुरक्षित बनाउन सवै लाग्नुपर्नेमा जिल्लाका सरोकारवालाहरुको जोड छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो तथा उपलब्धीमूलक बनाउने उदेश्यले जिल्लामा वालसेवा समाज नेपाल नेर्पा तथा नवकिरण सेवा समाज दुर्छिमले सामी परियोजना अन्र्तगत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।

दुई नगर र आठ गाउँपालिका रहेको जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या सरदर बार्षिक ४ हजारको संख्यामा रहेको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्