गाँजा निर्मूल पार्ने जनप्रतिनिधिको घोषणा



हेटौंडा,(नेस) । मकवानपुरको बिकट गाउँमा स्थानीयले लगाउँदै आएको गाँजा निर्मूल पार्न त्यस क्षेत्रका जनप्रतिनिधिले लागिपर्ने घोषणा गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजना तथा जिल्ला समन्वय समिति मकवानपुरको समन्वयमा ‘लागुऔषध सेवन, नफालौं अमूल्य जीवन’ भन्ने मूल नारासाथ लागुपदार्थ उत्पादन, ओसारपसार र दुव्र्यसन नियन्त्रण सम्बन्धि अन्तक्र्रियामा सहभागी जनप्रतिनिधिले यस्तो उद्घोष गरेका हुन् ।

मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले गाउँपालिकामा गाँजा र अफिम लगाउने काम हुनै नदिने बताउनुभयो ।

गाँजा विस्थापित गर्न केही कार्यक्रम पनि ल्याइएको र अझै अन्य कार्यालयको सक्दो सहयोग आवश्यक परेको उहाँहरुले बताउनुभयो । त्यस क्षेत्रका स्थानीयलाई बाटोसहित बिकल्प दिए गाँजा विस्थापित हुने उहाँहरुले विश्वास व्यक्त गर्नुभयो ।
पहिलेको तुलनामा हाल गाँजा निकै कममात्र लगाइएको उहाँहरुले स्पष्ट पार्नुभयो ।

जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालको सभाध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी उपरीक्षक वुद्धिराज गुरुङले जिल्लामा लागुऔषधका विषयमा तयार पारिएको प्रस्तुतिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्