४५ करोडको लागतमा पक्की सडक बन्दै



हेटौंडा,(नेस) ।
मकवानपुरको भीमफेदी गाउँपालिकाअन्तर्गत् भीमफेदी बजारदेखि कोगटे–इपा हुँदै काठमाडौ पुग्ने छोटो मार्गमा पक्की सडक बन्ने भएको छ ।

करिब ४५ करोड लागतमा बन्ने भीमफेदी–कोगटे–इपा–देउराली रोड परियोजना निर्माण गरिएसँगै भीमफेदीबाट छोटो समयमा काठमाडौं पुग्न सकिने छ । सडक निर्माणका विषयमा गाउँपालिका अध्यक्ष हिदम लामाले सडक परियोजना भीमफेदी गाउँपालिका र मकवानपुरकै लागि खुशीको खबर भएको बताउनुभयो ।

ठेक्का पारेर सडक निर्माण अलपत्र पार्ने खेलमा केही निर्माण कम्पनी लाग्नसक्ने सम्भावनालाई औंल्याउँदै उहाँले सामाजिक सञ्जालबाट त्यस्ता नियत भएका निर्माण कम्पनीलाई ‘कुनै प्रयास नगर्न’ आग्रह गरेका छन् । गाउँपालिकाको प्रत्यक्ष निगरानीमा सडक निर्माण गर्ने लक्ष्य भएको अध्यक्ष लामाले बताउनुभयो ।

‘झण्डै ४५ करोड लागतमा भीमफेदी–कोगटे–इपा हुँदै सबभन्दा छोटो दुरीमा काठमाडौं जोडिने पिच बाटो निर्माण गर्दैछौं, कृपया ठेक्का पार्ने, गुणस्तरीय काम र समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीले प्रयास नगर्नु होला, गाउँपालिकाको प्रत्यक्ष निगरानी र सहभागितामा आयोजना ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य छ,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्