फिफा वरीयतामा नेपाल यथावत् स्थानमा



काठमाडौं, (नेस)
फिफा वरीयतामा नेपालको स्थानमा हेरफेर भएको छैन। बिहीबार भएको नयाँ वरीयताअनुसार नेपाल १६१औं स्थानमा यथावत रहेको हो। दक्षिण एसियाली राष्ट्रमा भारत नै पहिलो स्थानमा रहेको छ। भारत ९६औं स्थानमा छ भने अफगानिस्तान १४५औं स्थानसहित दक्षिण एसियामा दोस्रो स्थानमा छ। माल्दिभ्स १५०औं, भुटान १८४औं, बंगलादेश १९४औं, श्रीलंका २००औं र पाकिस्तान २०१औं स्थानमा रहेका छन्।
फिफा विश्व वरीयतामा विश्वविजेता फ्रान्स शीर्ष स्थानमा उक्लिएको छ। नयाँ वरीयतामा फ्रान्सले ६ स्थानको छलाङ मार्दै शीर्ष स्थान कब्जा जमाएको हो। विश्वकप उपविजेता क्रोएसियाले १६ स्थान फड्को मारेर चौथो स्थानमा उक्लियो। त्यस्तै रुसमा सम्पन्न विश्वकपमा तेस्रो स्थान प्राप्त बेल्जियमले एक स्थान सुधार गरेको छ। टोली दोस्रो स्थानमा रहेको छ।
ब्राजिल भने एक स्थान तल झरेको। दोस्रो स्थानमा रहेको ब्राजिल तेस्रो स्थानमा आइपुगेको हो। उरुग्वे ९ स्थान सुधार गर्दै चौथो तथा इंग्ल्यान्ड ६ स्थान सुधार गर्दै पाँचौं स्थानमा रहेको छ। पोर्चुगल ३ स्थान तल झरेर सातौं तथा, स्विजरल्यान्ड २ स्थान तल झरेर आठौं स्थानमा चिप्लेको छ। स्पेन १ स्थान सुधार गर्दै नवांै तथा डेनमार्क ३ स्थान सुधार गरेर वरीयताको शीर्ष १० भित्र अटाएका छन्। अर्जेन्टिना, चिली, स्वीडेन, कोलम्बिया र जर्मनी शीर्ष १० बाहिर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्