जन्मदिनमा महिला क्रिकेटको चर्चा



बाँके, (नेस)
भारतको बंगालमा क्रिकेट सिकेर आएका लेखबहादुर क्षेत्री (एलबी क्षेत्री) ले २०६१ सालमा बाँकेमा महिला क्रिकेट प्रतियोगिता आयोजना गराए। त्यतिबेला उनी नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर ५ का अध्यक्ष थिए। नेपालमै पहिलोपटक आयोजना गरिएको त्यही छात्रा क्रिकेट नै नेपालको पहिलो महिला क्रिकेट प्रतियोगिता बन्यो। अर्थात् क्षेत्री महिला क्रिकेटको जन्मदातामा गनिए।
बिहीबार क्रियटिभ ≈यान्डसले क्षेत्रीको जन्मदिन मनाउन जुराइदिँदा त्यहाँ महिला क्रिकेटको चर्चा भयो। २०६१ फाल्गुन १५ देखि २२ गतेसम्म सञ्चालन भएको पहिलो महिला क्रिकेटको स्मरण गरियो। त्यहाँबाट शुरू भएको महिला क्रिकेटले पुरुष क्रिकेटले भन्दा पहिला ठूल्ठूला सफलता पाइसकेको थियो।
भारतमा ५ वर्ष ‘ए’ डिभिजन क्रिकेट खेलेर २०५० सालमा कोहलपुर आएका क्षेत्रीले शुरूमा बाँकेको टिममा पर्न नै संघर्ष गर्नुपरेको थियो। २०५२ सालमा कलैयामा भएको प्रतियोगितामा बाँकेको टिमबाट डेब्यू गरेका क्षेत्रीले त्यसपछि पछाडि फर्केर हेर्नुपरेन।
नेपालको पुरुष टिमले मलेसियामा सन् १९९६ मा पहिलो एसीसी खेल्दा क्षेत्री उपकप्तान थिए। २ वर्षपछि नेपालले १९९८ मा दोस्रो एसीसी आयोजना गर्दा क्षेत्री नेपालको कप्तान भइसकेका थिए। क्रिकेट खेल्न छोडेको केही समयमै क्षेत्री क्यानको केन्द्रीय सदस्य भए। २०६० सालमा क्यानको केन्द्रीय सदस्य भएपछि उनले पहिलो काम भनेको महिला क्रिकेटको शुरूआत गरे। २०६२ सालमा उनलाई क्यानबाट हटाइयो।
यसैबीच भैरहवामा पनि महिला क्रिकेट खेल्न शुरू गरिएको थियो। क्षेत्रीकै पहलमा क्षेत्र नं. ५ नेपालगन्ज र क्षेत्र नं. ४ भैरहवाको बीचमा मैत्रीपूर्ण प्रतिस्पर्धा भयो। जसलाई हेर्न क्यानका दिग्गजहरु आएका थिए। नेपालगन्जले भैरहवालाई क्लिन स्वीप गरिदियो। क्षेत्री भन्छन्– ‘यो प्रतियोगितापछि राष्ट्रिय प्रतियोगिता गराउने र टिम बनाउने कुरा भएको थियो।’
पछिल्लो दिनमा महिला क्रिकेट खस्किँदै गएकामा क्षेत्रीको असन्तुष्टि रहेको छ। हुन त उनी २०६३ पछि क्यानमा छैनन्। पूर्वकप्तान र महिला क्रिकेटको जन्मदाताको हैसियतमा उनले विभिन्न समयमा विभिन्न पद पाएका छन्। आइसीसीले सन् २०१४ देखि क्यानको फन्ड रोक्नुका साथै २०१६ देखि निलम्बन गरेको छ। क्षेत्रीले यतिबेला सरकारको तर्फबाट ठूलो जिम्मेवारी पाएका छन्।

प्रतिक्रिया दिनुहोस्