रोजी अब रोज



युवा निर्देशक निरक पौडेलद्वारा निर्देशित फिल्म रोजीको नाम परिवर्तन गरी रोज बनाइएको छ। आगामी २२ भदौबाट अल नेपाल रिलिज भई प्रदर्शनमा आउने फिल्मलाई लिएर मृतक रोजी महर्जनको हत्या घटनासँग त्यसको कथा परिवेश मिलेको भन्दै उनको परिवारले फिल्मको नाम परिवर्तन गर्न दबाब दिएकाले निर्माण पक्षले यसको नाम परिवर्तन गरेको छ।
बिहीबार चलचित्र विकास बोर्डमा फिल्मका निर्माता निर्देशक निरक पौडेल, निर्माता मणिकरण केसी र मृतक रोजी महर्जनको परिवारबीच भएको वार्तामा यसको नाम परिवर्तन गर्ने सहमति भएको हो। सम्झौताअनुसार अब निर्माण पक्षले चलचित्रको नाम रोजी नराख्ने फिल्म सत्य घटनामा आधारित भन्ने उल्लेख नगर्ने सहमति भएको छ। महर्जन परिवारले पनि फिल्मलाई कुनै पनि प्रकारको बाधा नपु¥याउने सम्झौता भएको छ।
‘एउटा मृतकको सम्वेदनालाई मध्यनजर राखेर हामीले नाम परिवर्तन गर्ने निर्णय गरेका हौं’, निरकले भने– ‘कानुनीरूपमा माथि भए पनि उहाँहरूको भावनाको कदर गर्दै फिल्मको नाम परिवर्तन गर्न तयार भएका हौं।’ पौडेलले रोजी हत्या काण्डको बारेमा आफूलाई शुरूमा जानकारी नभएको र महर्जन परिवारले फिल्म छायांकनमा बाधा पार्न थालेपछि त्यसबारे अध्ययन गरेको बताए। गोपीकृष्ण मुभिजको ब्यानरमा निर्मित फिल्ममा प्रदीप खड्का, परमिता राज्यलक्ष्मी राणा, मिरुना मगर, कर्मालगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्