नेपालले अन्तर्राष्ट्रिय तहमा क्षतिपूर्ति दावी गर्ने



नेपाल समाचारपत्र, काठमाडौं । विकसित मुलुकहरुमा बढ्दो औद्योगिक विकासका कारण बढेको विश्वव्यापी जलवायु परिवर्तनको प्रभाव नेपालमा प्रत्यक्ष देखिएको पुष्टी भएको छ ।

सो वापत विकसित मुलुकले तिर्नुपर्ने राहतबाट बञ्चित रहँदै आएको नेपालले क्षतिपूर्ति दावी गर्दै अन्तर्राष्ट्रिय फोरम मार्फत विश्व समुदायको ध्यानाकर्षण गराउने भएको छ । वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिससँगको भेटवार्ताका क्रममा यस्तो बताउनु भएको हो ।

विश्वव्यापी तापमान उत्सर्जनमा नेपालको कुल योगदान शून्य दशमलव शून्य दुई सात प्रतिशत रहेको अवगत गराउँदै मन्त्री बस्नेतले ठूला र औद्योगिक मुलुकले विगतमा गरेको प्रतिवद्धता अनुसार नेपालले राहत नपाएको बताउनुभयो ।

जलवायु परिवर्तनका कारण हरेक वर्ष नेपालका हिमाल श्रृखलामा हिउँको मात्रा घट्दै गएको र अन्य पारिस्थितीक प्रणालीमा समेत नकारात्मक असर परेको मन्त्रीले राजदूत मोरिसलाई बताउनु भएको वन मन्त्रालयले जनाएको छ ।

‘हाम्रो समस्या अन्तर्राष्ट्रिय फोरममा पु¥याउन तपाईहरुको पनि साथ र सहयोग रहने विश्वास छ, जलवायु परिवर्तनको संभावित असर सामना गर्न ध्यानदिनुपर्ने बेला भएको छ’–मन्त्री बस्नेतले भन्नुभयो । उहाँले ध्यानाकर्षण गराउनु भएका विषयमा सकारात्मक रहनु भएको राजदूत मोरिसले वन्यजन्तु संरक्षणका क्षेत्रमा नेपालको सफलता विश्वका लागि उदाहरणीय भएको भन्दै प्रसंसा गर्नु भएको थियो ।

यो विषयमा छिमेकी मुलुकहरुसँग बलियो हातेमालो गर्दा अझै राम्रो नतिजा हासिल गर्न सकिने उहाँको भनाई थियो । वन्यजन्तुको अवैध कारोबार तथा निकासी रोक्न सबै मिलेर काम गर्नुपर्नेमा जोड दिँदै राजदूत मोरिसले त्यस्तो कारोबारमा जोडिने आर्थिक स्रोत पहिचान गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्