नेपाली समाज कस्तो भयो ?



आमा बाबुबाट सम्तान र सन्तानबाट आमाबाबु । आफन्तबाटै आफन्त असुरक्षित हुने अवस्था आएको छ । हामीले सभ्य, न्यायपूर्ण र सुरक्षित समाजको परिकल्पना गरेको दशकौँ भइसकेको छ । तर कुनै न कुनै रुपमा समाज असुरक्षित छ ।

पछिल्लो समय त नैतिक मूल्यको यतिसम्म ह्रास हुँदै आएको छ कि बलात्कार, हत्या र अपहरणजस्ता जघन्य अपराध बढोत्तरी भइरहेका छन् । आफन्तैबाट यस्ता गतिविधि भएका समाचार न्यूज अफ नेपालमा आइरहेका हुन्छन् । देशमा आपराधिक समूहहरुको उपस्थिति देखिँदैन, कुनै अराजक समूहका कारण समाज असुरक्षित भएको भन्ने प्रमाण पनि छैन । तर दिनहुँजसो बलात्कार, बलात्कारपश्चात् हत्या, अपहरण, चोरी–डकैतीजस्ता अपराधले समाज भयभित र त्रसित छ ।

देशको राजधानी जहाँ लाखौँ व्यक्तिको जीवन धानिएको छ, सपना जोडिएको छ । त्यहाँको सुरक्षा स्थिति हेर्दा कोही पनि नेपाली सुरक्षित रहेको अनुभूति गर्न सकिँदैन । सबैभन्दा कडा सुरक्षा निगरानीमा रहेको ठानिने राजधानी काठमाडौँमा बलात्कार, अपहरण र हत्याका घटना बढेका छन् ।

सन्तानको भविष्यको सुन्दर सपना बोकेर सानोतिनो व्यापार तथा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने थुप्रै अभिभावक राजधानीमा अटाएका छन् । तिनैमध्येकी एक पात्र हुन, चमेली खड्का । उनका ११ वर्षीय स्कुले बालक निशान अपहरणकारीको निशानामा परे । अपहरणकारीले आमा चमेलीसँग ४० लाख फिरौती मात्रै माग गरेनन्, निशानको प्राणपखेरू नै उडाइदिए ।

यो कहाली लाग्दो घटनाले सिंगो समाज तरंगित हुन पुगेको छ । दुःखको कुरा, प्रहरीले बालकलाई सकुशल बचाउन सकेन । बरू, ‘शंकास्पद’ दुई व्यक्तिलाई पक्राउ गरी जंगल लगेर ‘इन्काउन्टर’ ग¥यो । पछिल्लो समय बलात्कार, अपहरण र हत्याका घटना प्रहरी प्रशासनका लागि ठूलो चुनौती भइरहेका छन् । तर, मुठभेडका नाममा कसैले पनि कानुन हातमा लिन पाइँदैन । नेपालको संविधानमा मृत्युदण्डको प्रावधान छैन ।

यद्यपि, अपराधको बढोत्तरीले कारबाहीको दायरा फराकिलो बनाउनुपर्ने स्वर उठिरहेको छ । अपराधीलाई हदैसम्मको कानुनी कारबाहीका लागि प्रहरीले प्रमाण पेस गर्नुपर्छ, पक्राउ गरेर लगेको व्यक्तिलाई ‘इन्काउन्टर’ गर्ने होइन । प्रहरीको उक्त कारबाहीले समाज झनै भयभित बन्न पुगेको छ ।

‘प्रहरी देखेर समाज तर्सने’ स्थिति आयो भने समाजले कसरी सुरक्षाको प्रत्याभूति गर्ने ? राज्यको दायित्व भयरहित समाजको अनुभूति जनतालाई प्रदान गर्ने हो । अपराधीलाई मारेर होइन, सुधार गरेर समाजमा स्थापित गर्ने हो । त्यसैका लागि सुधारगृह अर्थात् कारागारको व्यवस्था गरिएको हो । प्रहरीले पर्याप्त प्रमाणका आधारमा अपराधको सूक्ष्म अनुसन्धान गरी कानुनी कारबाहीको प्रक्रियामा सहयोग पु¥याउने हो ।

सरकारले देशमा शान्ति सुरक्षाको स्थिति बलियो रहेको बताउँदै आएको छ । गृहमन्त्री रामबहादुर थापाले सुरक्षा संयन्त्र चुस्त रहेको अभिव्यक्ति दिँदै आएका छन् । तर, समाजमा अपराधका घटना झनै बढ्दै गएका छन् । गुन्डागर्दी, अपहरणकारी र हत्यामा संलग्नहरुलाई मारेरै ठेगान लगाउने रणनीति प्रहरीको हो भने त्यो झनै डरलाग्दो स्थिति हो । प्रहरीले शंकास्पद पृष्ठभूमि तथा गुन्डागर्दी निस्तेज बनाउन ‘इन्काउन्टर’को अस्त्र प्रयोग गर्दै आएको सर्वविदित नै छ । प्रहरीको प्राथमिकता त अपराध हुन नदिनु, अपराध भइहालेमा प्रमाण सुरक्षित गर्नु र अपराधीलाई कानुनी दायरामा ल्याउनु हो । तर, बालक अपहरण, फिरौती र हत्याजस्तो जघन्य अपराधमा पनि प्रहरी निकायबीच समन्वय हुन नसक्नु विडम्बनाको विषय हो ।

राजधानीको अपहरणपछि हत्याको घटनाले आमजनतामा त्रास उत्पन्न गरेको छ । तर दुर्भाग्य ! देशभर त्रास उत्पन्न गराउने आपराधिक घटना हुँदा गृहमन्त्रीले जवाफदेहिता प्रस्तुत गर्न सकेनन् । प्रहरी प्रशासनले विगतमा थुप्रै सफल अपरेसनहरु गरेर प्रशंसा कमाए पनि बालक निशानको अपहरणपछि हत्या प्रसंगले भने प्रहरी प्रशासनको कमजोरी साबित गरिदिएको छ । देशको शान्ति सुरक्षा मजबुत नभएसम्म आपराधिक घटना निरुत्साहित हुँदैन । त्यसका लागि सरकारले कानुनी राज्य स्थापना गर्दै आमनागरिकलाई सुरक्षाको अनुभूति दिलाउनु जरुरी देखिएको छ । यस विषयमा सुरक्षा निकायको ध्यान जाओस् ।
– रामनारायण चौधरी, कैलाली
हाल: बूढानीलकण्ठ, काठमाडौं ।

 

प्रतिक्रिया दिनुहोस्