एसियाडमा नेपालको सहभागिता



नेपालले दोस्रो एसियाडबाहेक सबै एसियाडमा सहभागिता जनाएको छ । यसपटक जाकार्ता र प्लेमबाङ सहरमा १८औं एसियाड आयोजना भोलिदेखि शुरु हुँदैछ । यसरी दुई सहरमा पहिलो पटक एसियाड आयोजना हुन लागेको पहिलो पटक हो । नेपालले २९ खेलमा सहभागिता जनाउनेछ । जसमा १ सय ३० पुरुष र ५६ महिला गरी १ सय ८६ जना नेपाली खेलाडीले इन्डोनेसियामा खेल्नेछ ।

नेपालले यसपटक झरो तरिकाले तयारी गरे पनि पदकको आस भने ठूलै गरेको छ । नेपालले जुडो, तेक्वान्दो, उसुबाट पदक ल्याउने आसा गरेको हो । एसियाली खेलकुदमा भाग लिन ७ करोड खर्च हुने अनुमान लगाइएको छ । जसमा नेपाल सरकारले ५ करोड रुपियाँ उपलब्ध गराएको छ ।

राखेपका सदस्य सचिव केशवकुमार विष्टले पदकको आशा गरेका छन् । उनले बुधबार पत्रकार सम्मेलनमा बताएका थिए—यसपालि धेरै खेलमा नेपालले भाग लिएको छ । २९ खेलमा भाग लिएकोमा १९ खेलका खेलाडीलाई वैदेसिक प्रशिक्षणमा पठाएको थिएँ । स्रोत साधनले भ्याएसम्म हामीले अधिकतम सुविधा पनि दिएको छौ । यसैले यसपटक हामीले पछिल्ला एसियाडमा भन्दा बढी पदकको आशा गरेको पनि छौ ।

 

नेपालले पहिलो पटक सोल एसियाड १९८६ देखि पदक जित्ने शुरु गरेको हो । १९८६ को सोलदेखि २०१४ को इन्चोन एसियाडसम्म नेपालले २३ पदक जितेको छ । जसमा एक रजत र २२ कांस्य रहेका छन् । नेपालले तेक्वान्दो, कराते र बक्सिङमा पदक जित्दै आएको छ भने उसु र जुडोमा आसा गरेअनुरुप अहिलेसम्म पदक हात पार्न सकेको छैन ।

पहिलो एसियाड

वि.सं २००७ साल राणा शासनको अन्त्य गरेर नेपालमा राजालाई फर्काएको वर्ष थियो । फागुन ७ गते राणा शासन अन्त्य भएर त्रिभुवन राजगद्दीमा बस्नुभएको थियो । ठ्याक्कै १४ दिनपछि नेपालले पहिलो एसियाडमा भाग लिएको थियो । नेपालमा खेलको कुनै संरचना पनि थिएन त्यतिबेला । तापनि नेपालले छीमेकी देश भारतमा भएको पहिलो एसियाडमा भाग लियो । गजराज जोशी, मीनबहादुर विष्ट, चक्रबहादुर, रामबहादुर र गणेश बहादुर एसियाडमा जाने पहिलो नेपाल खेलाडी हुन् ।

यी टोलीको चिफ द मिसन नरशम्शेर राणा थिए भने टोलीको नेतृत्व कृष्णबहादुर बर्माले गरेका थिए । नेपाली टोलीलाई विदाई तत्कालीन राजा त्रिभुवनले गर्नुभएको थियो । नेपाली खेलाडीलाई तत्कालीन प्रधानमन्त्री मोहन शम्शेरको लक्ष्मी निवासमा प्रशिक्षण दिइएको थियो ।

तेस्रो एसियाड

दोस्रो एसियाड १९५४ मा फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको थियो । नेपालले त्यतिबेला यो एसियाडमा भाग लिएन । नेपालले आर्थिक अवस्था ठिक नभएको भन्दै एसियाडमा सहभागिता जनाएको थिएन । तर १९५८ मा जापानको टोकियोमा भएको तेस्रो एसियाडमा भने नेपालले भाग लियो । यो एसियाडमा नेपालको तर्फबाट रामकृष्ण बर्माले एक्लो खेलाडीले सहभागिता जनाएका थिए ।

पाँचौ एसियाड

चौथो एसियाडमा भाग नलिएको नेपालले सन् १९६६ मा थाइल्यान्डको राजधानी बैंककमा भएको पाँचौं एसियाडमा तीन खेलमा भाग लिएको थियो । यसअघि एथ्लेटिक्समा मात्रै सहभागि जनाएको नेपालको तर्फबाट ब्याडमिन्टन र टेबलटेनिस खेलमा पनि भाग लिएको थियो । ब्याडमिन्टनतर्फ रामकृष्ण बर्मा, दिलेन्द्रवीर पाण्डे, वुद्धिशम्शेर राणा र अर्जुनबहादुर सिंह थिए । टेबलटेनिसमा वाइआर जोशी, कमल चित्रकार, बिडी पन्थ र दिल्लीजंग थापा रहेका थिए ।

छैटो एसियाड

१९७० मा छैटो एसियाड थाइल्यान्डको राजधानी बैंककमा भएको थियो । नेपालको तर्फबाट सो एसियाडमा एथ्लेटिक्स र ब्याडमिन्टनमा सहभागिता जनाएको थियो । जसमा ब्याडमिन्टनतर्फ सिंहबहादुर बस्नेत, बलराम केसी, पुरुषोत्तम केसी, कुमार मोहनबहादुर शाही, गिरेन्द्रमान सिंह र किशोरबहादुर सिंहले प्रतिस्पर्धा गरे ।

एथ्लेटिक्सतर्फ १० हजार मिटर दौडमा नेपाली धावक महेन्द्रबहादुर राईले छैटो स्थान र भक्तबहादुर सापकोटाले सातौं स्थान प्राप्त गरेका थिए । त्यस्तै ८ सय मिटर दौडमा भीमबहादुर केसी नवौं तथा ५ हजार मिटर दौडमा केशर बानियाँले चौथो स्थान हात पारेका थिए । तर म्याराथन धावकद्वय गंगाबहादुर थापा र जितबहादुर केसीले पुरा दौडेर क्रमशः सातौं र आठौं स्थान हासिल गरे । यो एसियाडमा पछिल्ला प्रतियोगिताभन्दा नेपाली खेलाडीले राम्रो प्रदर्शन गरे ।

सातौं एसियाड

सन् १९७४ मा भएको सातौं एसियाडको आयोजक सहर इरानका राजधानी तेहरान थियो । नेपालले एथ्लेटिक्स, ब्याडमिन्टन र टेबलटेनिसका साथै लनटेनिसमा पनि भाग लियो । टेबलटेनिसमा भाग लिने खेलाडीमा प्रेमिता सुवाल, पुनम लामा, अनिता धाक्वा र दिगम्बर सुवाल, कल्याण पाण्डे, कमल चित्रकार, आरआर जोशी, नवीन सुवेदी र सज्जल चित्रकार थिए । त्यस्तै ब्याडमिन्टनमा किशोरबहादुर सिंह, जेएल अमात्य, उदय श्रेष्ठ र अशोकरत्न स्थापित थिए ।

आठौं एसियाड

सन् १९७८ मा बैंककमा भएको आठौं एसियाडमा नेपालको तर्फबाट ७ खेलमा भाग लियो । एथ्लेटिक्स, टेबलटेनिस र ब्याडमिन्टनसँगै बक्सिङ, जिम्नास्टिक, भारोत्तोलन र भलिबलमा नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । बैकुण्ठ मानन्धरले पहिलो पटक एसियाडमा दौडेका थिए । उनले म्याराथन दौड २ घण्टा २१ मिनेट समय लिदैँ सातौं स्थान हात पारे । ब्याडमिन्टनतर्फ फेरि एकपटक किशोरबहादुर शाहीले एसियाडमा खेलेका थिए । उनीसँगै प्रताप अधिकारी, राजेन्द्र विष्ट, विन्दा सिंखडा, रिता अधिकारी र प्रकाश शाहीले भाग लिएका थिए ।
बक्सिङतर्फ पुष्करध्वज शाही, जितेन्द्रध्वज खाँडले ४८ केजी समूहमा प्रतिस्पर्धा गरे । टेबलटेनिसतर्फ भने सुवालकै दबदबा थियो । जसमा प्रलिता सुवाल, जुही सुवाल, प्रचण्ड सुवाल, दिगम्बर सुवाल र सुरेन्द्र सुवालले भाग लिएका थिए । अन्यमा सिजरिन शाह, रेशमा शाह र सजल चित्रकार रहेका थिए ।

नवौं एसियाड

पहिलो एसियाड आयोजना गरेको सहर नयाँ दिल्लीले पुनः एसियाडको आयोजना गर्न पाएको थियो । १९८२ मा भएको एसियाडमा नेपालले ११ खेलमा प्रतिस्पर्धा गरेको थियो । एथ्लेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, भलिबल, बक्सिङ, जिम्नास्टिक, भारोत्तोलनसँगै फुटबल, पौडी, लनटेनिस र सुटिङ खेलमा नेपालले १ सय ४४ जनाको प्रतिनिधि पठाएको थियो । जसमा खेलाडी १ सय २२ जना थिए । यो एसियाडमा बैकुण्ठ मानन्धरबाट पदकको आस गरिएको थियो । तर उनलाई अन्त्यमा १० हजार मिटर दौडमा पनि दौडाएपछि उनले म्याराथनमा राम्रो गर्न सकेन । उनले दौडको बीचमै माँशपेशी खिँचिएपछि प्रतिस्पर्धाबाट हट्नुपरेको थियो ।

१०औं एसियाड

यो नेपालको लागि सबैभन्दा स्मरणीय बनेको एसियाड थियो । १९८६ मा दक्षिणकोरियाको राजधानी सोलमा भएको एसियाडमा नेपालको तर्फबाट ८ कांस्य जितेको थियो । नेपालले एसियाडको इतिहासमा पहिलो पटक पदक जितेको हो । बक्सिङ र तेक्वान्दोमा ४÷४ कांस्य पदक नेपालले हासिल गरेर सोलमा भएको १० औं एसियाडलाई सुनौलो सहभागिता बनाएको थियो ।

तेक्वान्दोतर्फ विधान लामाले ५० केजीमुनि, ५८ केजीमा रामबहादुर गच्छे, ७६ केजीमा राजकुमार राई र राजकुमार बुचेले ८३ केजीमा कांस्य पदक प्राप्त गरेका थिए । त्यस्तै बक्सिङतर्फ दलबहादुर रानामगर र मनोजबहादुर श्रेष्ठले ६३ केजीमा, शुशील पोखरेलले ७५ केजी र तुलबहादुर थापाले ९१ केजीमा कांस्य पदक जितेर नेपाललाई एकैपटक ८ कांस्य पदक दिलाउन महत्वपूर्ण भुमिका खेलेका थिए ।

नेपालले उक्त एसियाडमा यी दुईखेलसँगै १२ खेलमा भाग लिएको थियो । अन्य खेल भारोत्तोलन, भलिबल, टेबलटेनिस, जिम्नास्टिक, जुडो, फुटबल, एथ्लेटिक्स, पौडी, टेनिस र सुटिङ थिए । जुडोमा नेपालले पहिलो पटक भाग लिएको थियो । तर आस गरिएअनुसार जुडो खेलाडीले निरास गरेका थिए ।

११औं एसियाड

चीनको बेइजिङमा सन् १९९० मा भएको ११औं एसियाडमा नेपालले चार वर्षअघि सोलमा भएको स्मरणीय उपलब्धिलाई क्रमता दिन सकेन । केवल एक कांस्यमै चित्त बुझाउनु परेको नेपालले सो एसियाडमा ११ खेलमा भाग लिएको थियो ।

नेपालको लागि एक मात्र पदक बक्सर चित्रबहादुर गुरुंगले दिलाए । उनले ६३ केजी समूहमा कांस्य पदक जितेर नेपालको नाक ठड्याएका थिए । उक्त एसियाडमा नेपालले बक्सिङ, एथ्लेटिक्स, कबडी, सुटिङ, भलिबल, भारोत्तोलन, सफ्ट टेनिस, जुडो, उसु, टेनिस र टेबलटेनिस गरी ११ खेलमा सहभागि जनाएको थियो ।

१२औं एसियाड

सन् १९९४ मा जापानको हिरोसिमामा भएको उक्त एसियाडमा नेपालले ९ खेलमा सहभागिता जनाएको थियो । कराते, तेक्वान्दो, जुडो, कबडी, उसु, एथ्लेटिक्स, सफ्ट टेनिस, फुटबल र बक्सिङमा प्रतिस्पर्धा गरेको नेपालले २ कांस्य जितेको थियो । मानबहादुर शाहीले तेक्वान्दोमा र सीता राईले करातेतर्फ महिला ६० केजीमाथि कांस्य जिते । सीता एसियाडमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनिन् ।

१३औं एसियाड

थाइल्यान्डको बैंकक सहरमा सन् १९९८ मा भएको १३औं एसियाड नेपालको लागि एकदमै सफल एसियाड बन्यो । नेपालले पहिलो पटक एसियाडमा रजत पदक जितेको थियो । नेपालको लागि सबिता राजभण्डारीले तेक्वान्दोमा रजत पदक जितेकी थिइन् ।

त्यस्तै तेक्वान्दोमै किशोर श्रेष्ठ र सपना मल्लले कांस्य पदक जिते । एक कांस्य पदक करातेका समरबहादुर गोलेले जितेका थिए ।
नेपालले यस एसियाडमा १३ खेलमा भाग लिएको थियो । नेपालले भाग लिएको खेल कराते, बक्सिङ, तेक्वान्दो, उसु, सफ्ट टेनिस, सुटिङ, टेबलटेनिस, पौडी, कुस्ती, कबडी, एथ्लेटिक्स, फुटबल र भारोत्तोलन थिए ।

१४औं एसियाड

नेपालले पदक जित्ने क्रम यो एसियाडमा पनि राख्यो । दक्षिण कोरियाको बुसानमा सन् २००२ मा भएको उक्त एसियाडमा नेपालले तीन कांस्य पदक जितेको थियो । तीनै पदक तेक्वान्दो खेलमा आएको थियो । नेपालका लागि पदक दिलाउनेमा दीपक विष्ट, रेणुका मगर र रितुजीमी राई थिए । नेपालले भाग लिएको ११ खेलमा तेक्वान्दो, एथ्लेटिक्स, गल्फ, जुडो, कराते, बक्सिङ, सुटिङ, पौडी, सफ्ट टेनिस, उसु र भारोत्तोलन थिए ।

१५औं एसियाड

सन् २००६ मा १५औं एसियाड कतारको राजधानी दोहामा सम्पन्न भएको थियो । नेपालले यो एसियाडमा पनि ३ कांस्य पद जितेको थियो । नेपालको तर्फबाट तेक्वान्दोमा दिपक विष्ट, मनिता शाही र आयशा शाक्यले पदक जिते । विष्ट लगातार दुई एसियाडमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भए । नेपालले भाग लिएको १४ खेलः उसु, फुटबल, भारोत्तोलन, बक्सिङ, तेक्वान्दो, चेस, ब्याडमिन्टन, टेबलटेनिस, गल्फ, सुटिङ, बडी बिल्डिङ, कुस्ती, सफ्ट टेनिस र कराते ।

१६औं एसियाड

सन् २०१० मा चीनको ग्वान्झाउ सहरमा १६ औं एसियाड आयोजना भएको थियो । नेपालले पछिल्ला तीन एसियन खेलमा जस्तै यसमा कुनै राम्रो उपलब्धि लिन सकेन । अन्तिममा दिपक महर्जनले बक्सिङतर्फ ८१ केजी समूहमा पदक जितेर नेपालको नाक राखेका थिए । नेपालले २० खेलमा सहभागिता जनाएको थियो । ती हुन् आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट, चेस, साइक्लिङ, गल्फ, कबडी, जुडो, जिम्नास्टिक, कराते, टेबलटेनिस, सफ्टटेनिस, तेक्वान्दो, कुश्ती, भारोत्तोलन, उसु, टेनिस र सुटिङ

१७औं एसियाड

सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एसियाडमा पनि नेपालले एक मात्रै पदक जित्यो । करातेकी विमला तामाङले कांस्य पदक नेपाललाई दिलाएकी थिइन् । नेपालले करातेसँगै आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, क्रिकेट, साइक्लिङ, फेन्सिङ, फुटबल, गल्फ, जिम्नास्टिक, जुडो, कराते, सुटिङ, सफ्ट टेनिस, टेबलटेनिस, ट्रायथलन, कुश्ती गरी १८ खेलमा भाग लिएको थियो ।

१८औं एसियाड

भदौ २ गते भोलिदेखि इन्डोनेसियाको राजधानी जाकार्ता र प्लेमबाङ सहरमा १८औं एसियाड शुरु हुँदैछ । नेपालले यसपटक २९ खेलमा सहभागिता जनाउँदैछ । नेपालले भाग लिने खेलहरुः आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल ३ गुणा ३, बक्सिङ, फेन्सिङ, साइक्लिङ माउन्टेन बाइक, फुटबल, गल्फ, जुडो, कबडी, कराते, कुरास, पाराग्लाइडिङ, पेन्काक सिलाट, सेपाक्टाक्ट्रा, सुटिङ, स्केटबोर्ड, स्पोर्ट क्लाइम्बिङ, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुश्ती र उसु ।

प्रतिक्रिया दिनुहोस्