प्राकृतिक विपत्मा सचेत हुन जरुरी



पानी पर्न बन्द भएको छैन । अझै बाढीपहिरोको त्रास कायमै छ । मौसम विज्ञान विभागले सार्वजनिक गरेको बुलेटिनअनुसार नेपालमा वर्षादमा सक्रिय हुने मनसुन यो वर्ष पनि औसतमा सक्रिय भएको छ ।

बंगालको खाडी हुँदै आएको मनसुनी हावाका प्रभावले सक्रिय हुने मनसुनले नेपालमा वर्षा हुने गरेको छ । प्रायः जेठ महिनाको अन्तिम सातादेखि असोज महिनाको पहिलो सातासम्म सक्रिय रहने मौसमले नेपालको पहाडी भूभागमा बाढीपहिरो र तराई भूभागमा डुबानको समस्या ल्याउने गरेको छ ।

जिल्लाका सबै घटनालाई नियाल्ने हो भने उच्च पहाडी र पहाडी भूभाग रहेको जिल्लामा वर्षादको समयमा उच्च जोखिम रहेको मान्न सकिन्छ । एकातर्फ पहाडी भूभाग यसै पनि पहिरोको जोखिममा रहेको हुन्छ भने अर्कोतर्फ जथाभावी खनिएका सडकहरु पनि पहिरो तथा भूक्षयको कारण बन्ने गरेको छ । काठेखोला–६ बिहुँमा जस्तै कतिपय स्थानमा जमिन फाटेका कारण यो वर्ष दर्जनौं परिवारले घर छोडेका छन् ।

सम्बन्धित विज्ञहरुले गरेको सर्वेक्षणको प्रारम्भिक नतिजालाई आधार मान्ने हो भने फाटेको जमिनको मुख्य कारण जथाभावी प्रयोग गरिएका स्काभेटर र डोजरहरुले हल्लाएको जमिन नै हो । विकासको नाममा घर–घरमा सडक पु¥याउने र भिरालो जमिनमा खनिएको बाटो बस्तीको तल–माथिबाट विस्तार गर्ने प्रवृत्तिका कारण अझै पनि जिल्लाका कैयौं ठाउँमा पहिरोको जोखिम कायम नै रहेको छ ।

विकासको नाममा भैरहेको विनाश एकातर्फ कहालीलाग्दो अवस्थामा रहेको छ भने विपद्का बेला के कसरी बच्ने भन्ने विषयमा आमसर्वसधारणलाई जानकारी गराउन नसकेका कारण थप पीडादायी घटनाहरुको सामना गर्नुपरिरहेको छ । सडककै कारण वर्षादको समयमा भलबाढी आउने खहरे खोलाहरु अहिले सुख्खाजस्तै छन् । सडकले वर्षाको समयमा आउने बाढीको बाटो मोडिदिएको छ । बाटो खनेका स्थानमा मात्रै हैन, बाटो परिवर्तन गरेको, बाढीका कारण बाटो नबनेका ठाउँहरुमा पनि पहिरोको जोखिम कायम छ ।

त्यसैले बस्तीवरपरका बाटोहरुमा आउने बाढीको व्यवस्थापन, सडक बनाउँदा सडकछेउछाउमा थुपारिने माटो तथा ढुंगाको व्यवस्थापन अनि अति वर्षाको समयमा बस्तीवरिपरि पाखा पखेराको भूबनोटको आधारमा नागरिकहरुलाई सचेत रहन आग्रह गर्नु अहिलेको आवश्यकता हो । तराई क्षेत्रको डुबान र डुबानपछि लाग्ने महामारीको रोगरुबाट बच्न पनि समयमै सचेत हुनु जरुरी छ । सम्भावित जोखिमको कमी र जनचेतनाको विकास गरेर प्राकृतिक विपद्बाट बच्न र बचाउन आजैबाट लागौं ।
– सुधीर पाण्डेय, हाल: भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्