गण्डकी प्रदेशको विधेयक पारित



पोखरा ।
गण्डकी प्रदेशसभाको आजको बैठकले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले विधेयक पारित गरियोस् भन्दै राख्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको हो ।

यसअघि विधेयक माथिको छलफलमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र डोबाटे विश्वकर्माले भाग लिनुभएको थियो ।

बैठकको शून्य एवं विशेष समयमा प्रदेशसभा सदस्यले करको दर वृद्धि एवं जनताले भोगेका समसमायिक समस्यालगायतका विषयमा प्रदेशसभा एवं सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य राजीव पहारीले जथाभावी कर वृद्धि गर्दा सर्वसाधारण मर्कामा परेको बताउँदै जनताले आफैँ कर तिर्ने वातावरण तयार गर्नु आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।

अर्का सदस्य कृष्णचन्द्र नेपालीले समाजलाई समाचारका माध्यमबाट सुसूचीत गर्दै आएका पत्रकारको लेखनलाई नियन्त्रण गर्ने गरी भोलिदेखि गाली तथा बेइज्जति ऐन लागू हुन लागेकोमा सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य पुष्पा केसी भण्डारी, विष्णुप्रसाद लामिछाने, इन्द्रलाल सापकोटा, दीपक कोइराला, हरिशरण आचार्य, प्रकाशचन्द्र दवाडी, विनोद केसीलगायतले समसामयिक विषयवस्तुमाथि बोल्नुभएको थियो ।

सदस्य कुमार खड्काले शून्य एवं विशेष समयमा उठाइएका विषयमा सम्बन्धित मन्त्रीले सात दिनभित्रमा जवाफ दिनुपर्ने भए पनि त्यो हुन नसकेकोमा नियमापत्ति गर्नुभएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्