प्रदेश नम्बर ७ मा भारत संग जोड्ने दोस्रो पुल बन्दै



किरन धामी, दार्चुला ।
प्रदेश नम्बर ७ को दार्चुला जिल्लामा नेपाल–भारत जोड्ने मोटर पुल बन्ने भएको छ । कञ्चनपुर जिल्ला पछि भारत जोड्ने दोस्रो मोटर पुल दार्चुलामा बन्ने भएको हो । पुल निर्माणको कार्य अक्टोबर १ अर्थात अगामी असोज १५ गते देखी सुरु हुने जनाइएको छ ।
दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ सुरकडा र भारतको थौरागढ जिल्ला धारचुला तहसिल अन्तर्गतको छारछुम भन्ने स्थानमा निर्माण हुने मोटर पुल साइडको विहिबार नेपाल भारतका अधिकारीहरुले स्थलगत अनुगमन निरिक्षण गरेका छन् ।

१ सय १० मिटर लम्बाई रहेको उक्त मोटर पुलको निर्माण भारत सरकारले गर्ने लोक निर्माण विभाग भारतका प्रमुख दिपक गुप्ताले बताए । २३ करोड २७ लाख ३६ हजार लागतमा निर्णय हुने मोटर पुलको निर्माण कार्य १८ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।
मोटर पुल निर्माण पस्चात दुई देश विचको यातायात सेवामा निकै सहजता हुने उनको भनाई छ । नेपाल–भारत जोड्ने बनबसा पुल बाहेक अन्य स्थानमा पुल नभएका कारण दुई देश विचका नागरिकले झेल्दै आएको यातायातको समस्या समाधान हुने उनले बताए ।

दार्चुला र बैतडी जिल्लामा नेपाल–भारत जोड्ने मोटर पुल बनाउने भन्ने विषयमा नेपाल सरकार र भारत सरकार विच पहिले देखी नै प्रयास भएको तथा अहिले आएर पुल निर्माणका लागी साइड अनुगमन निरिक्षण गरिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए ।
मोटर पुल निर्माण भए पछि दार्चुलाको व्यापार व्यवसाय फस्टाउने तथा दार्चुलाबासीलाई फाइदा हुने उहाले बताउनु भयो । पुल निर्माणले दुई देश विचको सम्बन्ध अझ वलियो र सुमधुर हुने समेत प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
नेपाल–भारत जोड्ने मोटर पुल बन्ने भए पछि याहाका स्थानिय हर्षित भएका छन् । आफुले उत्पादन गरेका कृषि उपजहरुको व्यापार व्यवसाय फस्टाउने तथा अन्य सामाग्री आयात निर्यातमा सहजता हुने भन्दै स्थानिय खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्