स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गर्न आग्रह



विनोद सिंह विष्ट, बैतडी ।
जिल्ला विपद् व्यवस्थापन समिति बैतडीको बैठक आज सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको बैठकमा जिल्लाका स्थानीय तहका प्रमुख तथा सरोकारवाला निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिए ।
स्थानीयस्तरमा हुन सक्ने विभिन्न विपद्का घटनाहरुलाई न्यूनीकरण गर्नका लागि स्थानीय तहलाई बजेट छुट्याउन आग्रह गरिएको उनले बताए । स्थानीयस्तरमा विपद् व्यवस्थापन समिति गठन गरि कार्यान्वयनमा ल्याएमा प्रकोपका घटनाहरुबाट हुने क्षति न्यूनीकरण गर्न सकिने भएकाले स्थानीय तहका पदाधिकारीहरुसंग बैठकमा छलफल भएको प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।
जिल्ला प्रशासन कार्यालयबाट जिल्ला विपद् व्यवस्थापन समितिले प्रदान गर्ने राहत दिने काम भईरहेको छ । स्थानीय तहहरुले प्रदान गर्ने राहतलाई पनि प्रभावकारी बनाउन बैठकमा छलफल भएको प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।

प्रतिक्रिया दिनुहोस्