चोरबाट बचाउन स्थानीय बासिन्दाको घरमा मूर्तिको बाँस



पाल्पा ।
रम्भा गाउँपालिका–५, ताहुँमा प्रशिद्ध रम्भादेवी मन्दिरमा रहेको मूर्ति गाउँलेको घरमा रात बिताउन निस्कन थालेको करीब ४० वर्ष हुन थाल्यो ।

मन्दिरको मूर्ति पटकपटक चोरी हुन थालेपछि ताहुँको बजार क्षेत्रमा बिहान र साँझमा स्थानीय बासिन्दाको घरमा ल्याउने गर्दछन् । चालिस वर्षदेखि ताहुँ प्रहरी नजिकै स्थानीय बासिन्दाको घरमा राख्न थालेसँगै मन्दिरको मूर्ति चोरिनबाट जोगिएको रम्भादेवी पर्यटक विकास प्रतिष्ठानका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभयो ।

मन्दिरबाट हराएको मूर्ति पाल्पाको आर्यभन्ज्याङबाट बाजा बजाएर मन्दिरमा ल्याएपछि स्थानीय बासिन्दाका घरमा सुरक्षाका लागि रातमा राख्न थालेको श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार मन्दिरमा पुजारी र सुरक्षाकर्मीका लागि आवास व्यवस्थापन गर्ने लक्ष्यका साथ गुरुयोजना तयार गरे पनि बजेटका अभावमा भौतिक पूर्वाधारको विकास गर्न हुन सकेको छैन । आवासको व्यवस्थापन गर्न सकेको अवस्थामा मन्दिरको मूर्ति रातमा अन्यत्र राख्ने समस्या समाधान हुने लक्ष्य गुरुयोजनाले लिएको छ । स्थानीयस्तरमा बनाएको गुरुयोजनामा बजेटको अभावले काम भने हुन सकेको छैन ।

पुजारीले बोकेर बिहान मन्दिरमा पूजा गर्न र साँझ सुरक्षाका लागि स्थानीय बासिन्दाको घरमा ताहुँको बजार क्षेत्रमा ल्याउन गदाँ झन्झटिलो हुने गरेको मन्दिरका पुजारी प्रेमनारायण पाण्डेयले बताउनुभयो । पटक पटक मन्दिरका मूर्ति चोरिने समस्या बढेपछि सुरक्षाका लागि स्थानीय बासिन्दाको घरमा राख्न बाध्य भएको हो । वनको बीचमा मन्दिर रहेको र बहुमूल्य मूर्ति चोरी हुनबाट रोक्नका लागि साँझमा मन्दिर बाहिर लैजान थालेको हो ।

जिल्लाको सदरमुकाम तानसेनदेखि ३१ किलोमिटर पूर्वमा ताहुँको घना जङ्गलभित्र शान्त र रमणीयस्थलमा मन्दिर रहेको छ । प्रशिद्ध रम्भादेवी मन्दिर धार्मिक एवं सांस्कृतिक महत्वले भरिपूर्ण रहेकाले पनि आन्तरिक पर्यटकका लागि गन्तव्य स्थल बनाउन सकिने स्थानीय बासिन्दा बताउँछन् ।
रासस

प्रतिक्रिया दिनुहोस्