फोहोरलाई मोहर बनाउने योजनामा नगरपालिका



किरन धामी, दार्चुला ।

जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिका फोहोरलाई मोहर बनाउने योजनामा रहेको छ । नगरपालिका क्षेत्र भित्रमा उत्पादन हुने फोहोरलाई मोहरमा परिणत गर्न नगरपालिकाले विशेष योजना बनाइ रहेको नगरपालिकाका प्रमुख हंसराज भट्टले बताए । खास गरी नगर क्षेत्र भित्र उत्पादन हुने फोहोर मध्ये मदिराका सिसि, प्लाष्टिक तथा गत्तालाई पुनः प्रयोग गरी फोहोरलाई मोहरमा परिणत गर्ने उद्देश्य रहेको उनले बताए ।

फोहोरलाई मोहर बनाउने योजना अन्तर्गत अहिले मदिराका सिसि, प्लाष्टिक तथा गत्तालाई संकलन गरि एक ठाउँमा जम्मा गरिरहेको उनले बताए । संकलन गरिएको फोहोरलाई पुनः प्रयोग गरी मोहरमा परिणत गर्नका लागी धनगढी पठाउने योजना रहेको उनको भनाई छ । मदिराका सिसि, प्लाष्टिक र गत्ताहरु संकलन गरी पुनः प्रयोगका लागी विक्रि गरिने नगर प्रमुख भट्टले बताए ।

नगरपालिका क्षेत्र भित्र उत्पादन हुने कुहिने फोहोर संग नकुहिने अर्थात सिसि, प्लाष्टिक र गत्ताहरु मिसाउदा फोहोरको मात्रा बृद्धि हुने तथा वातावरणमा नकरात्मक प्रभाव पार्ने भएको भन्दै उहाले कुहिने र नकुहिने फोहोर छुट्याई फोहोरको उचित व्यवस्थापन भैइरहेको समेत नगर प्रमुख भट्टको भनाई छ । फोहोरलाई मोहरमा परिणत गर्न सके नगर भित्रको सबै फोहोर दीर्घकालीन आय स्रोत बन्न सक्ने नगर प्रमुख भट्टले विश्वास व्यक्त गरे ।

वर्षौ देखि चुनौती पुर्ण बन्दै गएको फोहोर व्यवस्थापन हुने उनको भनाई छ । फोहोरको सही व्यवस्थापन गर्न सके वातावरणमा पर्ने प्रभाव कम हुने तथा फोहोरबाटै पैसा कमाई गर्न सकिने नगर प्रमुख भट्टले बताए । ‘जताततै फालिने सिसा, प्लाष्टिक र गत्ताबाट उत्पन्न प्रदुषणका कारण मानिस मात्र होइन, सम्पुर्ण परिस्थितीय प्रणाली नै प्रभावित हुने खतरा बढेको छ, नगर प्रमुख भट्टले भने’ ।

नगरपालिकाले अहिले सिसि, प्लाष्टिक र गत्तालाई छुट्टा छुट्टै संकलन गरिरहेको छ । महाकाली नगरपालिकाको वडा नम्बर ४ स्थित एउटा निस्चित ठाउँमा संकलन गरिएका पुनः प्रयोग गर्न सकिने बस्तुलाई जम्मा गर्दै आइरहेको छ । अहिले करिव एक टन बराबर पुनः प्रयोग गर्न सकिने फोहोर जम्मा भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका क्षेत्र भित्र दैनिक जसो ४ देखी ५ क्वीन्टल सम्म पुनः प्रयोग गर्न सकिने फोहोर बस्तु संकलन हुने गरेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्