प्रदेश नं ७ मा ‘ओल्के’ चाड मनाइँदै




धनगढी ।
पिँडालुको कलिलो पात, दुध दही लगायत वस्तु सम्मानस्वरुप आफ्ना छरछिमेकीहरुलाई बाँडेर मनाइने ओल्के चाड प्रदेश नं ७ मा उल्लासपूर्वक मनाइँदैछ ।

हरेक वर्ष भाद्र सङ्क्रान्तिका दिन मनाइने यो चाड मनाउन घरघरमा आजैदेखि तयारी थालिएको छ । ओल्के चाडमा बढी प्रयोग हुने दूध दहीको जोहो गर्ने र मीठा मीठा खानाका परिकार बनाउनुपर्ने भएपछि घरका गृहिणीको व्यस्तता पनि बढाइदिएको छ । आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको गाभा अर्थात् कलिलो पात, दूध, दही, अन्य हरियो सागपात दिएर स्वागत गर्ने विशिष्ट खालको मौलिक परम्परा प्रदेश नं ७ मा रहेको छ ।

यो चाड मनाइने भाद्र सङ्क्रान्तिका दिन विवाहिता छोरीलाई माइती घरमा आमन्त्रण गरी लाउन, बावर, माणा, निसौसे, डुब्कालगायत स्थानीय खानाका मीठा परिकार पकाएर खुवाउने र खाने प्रचलन छ । खासगरी पहाडी क्षेत्रमा बसोबास रहेकाहरुले ओल्के चाडमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाई रमाउने पनि गर्दछन् ।

यसरी पिँधेर लगाइएको भँगेरीको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने भई यसले बर्सात्को मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास रहेको छ ।

सदियौँदेखि मनाइँदै आएको यो चाडको रौनक र महत्वका बारेमा वृद्धवृद्धा केही जानकार रहे पनि पछिल्लो केही दशकदेखि नयाँ पिँढीका युवायुवतीमाझ भने यो चाडले प्राथमिकता पाउन छाडेको ओल्के चाड मनाउँदै आउनुभएका परशुराम ओझा बताउनुहुन्छ । युवा पिँढीमा प्राथमिकता नपाउँदा डोटेली मौलिक संस्कृति बोकेको ओल्के जस्ता चाड पर्वहरुको मौलिकता नै हराउन थालेकामा डोटेली समुदायमा चिन्ता व्यक्त गर्न थालिएको छ ।

पश्चिमा संस्कृतिको बढ्दो प्रभावको फलस्वरुप नेपाली समाजमा सदियौँदेखि मनाइँदै आएका कतिपय चाड पर्वहरु बिस्तारै हराउन थालेको अवस्था रहेकाले आफ्नो ऐतिहासिक सभ्यता र संस्कृतिको पहिचान बोकेका यस्ता चाड पर्वको संरक्षणका लागि सरोकारवालाले जाग्नुपर्ने समय आएको स्थानीयवासी लेखराज ओझा बताउनुहुन्छ । “आफूभन्दा ठूलाको सम्मान गर्नु र सानासँग सम्बन्ध सुदृढ पार्नु यो चाडको मुख्य विशेषता रहेको छ,” ओझाले भन्नुभयो ।

ओल्के भन्नाले आफूभन्दा ठूलो र सम्मानित घरपरिवार वा व्यक्तिलाई दिइने सगुन वा उपहार भन्ने बुझ्ने गरिन्छ । ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ । यसलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ ।

यसरी बनाइएको थुप्रोलाई असोज सङ्क्रान्तिको साँझ गाउँका सबै जना ‘बूढी हालेको’ भेला भएर पोल्ने गर्छन् । यसलाई ‘बूढी पोल्ने’ भनिन्छ । बूढी पोल्ने काम सकिएसँगै गाउँमा अनिष्ट एवं कुनै रोगको महामारी नआउने विश्वास पनि कतिपय समुदायको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्