नेपाल रेडक्रसलाई अभ्यास सामग्री हस्तान्तरण



काठमाडौ, (नेस) ।
अमेरीकन रेडक्रसले सेतो र खैरा रङ भएका एक सय ५० वटा मेनीकिन नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ । विपद् तथा दुर्घटना वा विरामीको अवस्थामा परिचालन हुने उद्धारकर्ता तथा प्राथमिक उपचारकलाई तालिम दिन उपयोगी हुने यी मेनीकिनहरु कृत्तिम श्वासप्रस्वास अभ्यासमा प्रयोग गरिन्छन् ।

अमेरीकन रेडक्रस सोसाइटीका प्रतिनिधी लिला मुलुकुटलाले नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वालाई एक समारोहका विच उक्त सामग्री केन्द्रीय कार्यालयमा हस्तान्तरण गर्नुभएको हो । ति मेनीकिनहरुको कुल लागत बाह्र लाख तीस हजार नेपाली रुपैया रहेको नेपाल रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचार विभाग, विपद व्यवस्थापन विभाग, स्वास्थ्य विभाग, विभिन्न गोदामघरहरु, उत्थान परियोजना तथा तयारी परियोजना मार्फत् सञ्चालन हुने तालिम ति मेनीकिनहरु प्रयोगमा आउने छन् ।

स्वास प्रश्वास समस्या भएकालाई कसरी जीवन वचाउन सकिन्छ भनी उपचारकलाई सिकाउन यी मेनिकिन सहयोगी हुने पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्