गाँउपालिकाको अभियानः गर्भवती महिलालाई निशुल्क अण्डा



चिरञ्जीवी मास्के, दोलखा ।

अहिले दोलखा जिल्लामा रहेको सात गाँउपालिका र दुई नगरपालिकाले नागरिकको सुरक्षा र गाँउ तथा नगरको समृद्धिको लागि नयाँ नयाँ कार्यक्रम सुरु गरेको छ । यहि क्रममा दोलखाको शैलुङ गाँउपालिकाले गर्भवती महिलाहरुलाई नियमीत स्वास्थ्य जाँचको लागि स्वास्थ्य केन्द्रसम्म आउने वातावरण बनाउन निशुल्क कुखुराको अण्डा वितरण गर्ने कार्यक्रम सुरु गरेको छ ।

गर्भवती अवस्थामा चार पटक स्वास्थ्य जाँच गराउनु पर्ने भएपनि शैलुङ गाँउपालिका भित्रका गर्भवती महिलाहरु मध्य आधिले पनि नियमीत स्वास्थ्य जाँच नगराउने तथ्याङ्क देखिएपछि गाँउपालिकाले निशुल्क कुखुराको अण्डा वितरण गर्ने कार्यक्रम सुरु गरेको गाँउपालिका प्रमुख भरत दुलालले बताए ।

आर्थिक बर्ष ०७५/०७६ को नीति तथा कार्यक्रममा समावेश गरी गाँउपालिका भित्रका गर्भवती महिलाहरु हरेक पटक स्वास्थ्य जाँचको लागि स्वास्थ्य केन्द्र आउदा एक क्रेट अण्डा निशुल्क उपलब्ध गराउन थालिएको गाँउपालिका प्रमुख दुलालले बताए । कुखुराको अण्डाले गर्भवती महिलाको पोषणमा पनि सुधार हुने र गर्भवती अवस्थामा चार पटक स्वास्थ्य जाँच गराउनु पर्ने कुरामा पनि महिलाहरु सचेत हुने भएकोले यो कार्यक्रम सुरु गरिएको गाँउपालिका प्रमुख दुलालको भनाई छ ।

आठ ओटा वडा रहेको शैलुङ गाँउपालिकाको कुल २० हजार ९८ जनसंख्या मध्य ५१ प्रतिशत महिला रहेका छन् । गाँउपालिकामा बार्षिक सरदर ५ सय महिलाहरु गर्भवती हुने गरेको र त्यसमा स्थानिय स्तरमै सुत्केरी हुने महिलाको संख्या ४ सयको हाराहारीमा रहने भएकोले निशुल्क कुखुराको अण्डा वितरण कार्यक्रमको लागि आर्थिक बर्ष ०७५/०७६ मा १० लाख रुपैया बजेट विनियोजन गरिएको गाँउपालिका प्रमुख भरत दुलालले बताए ।

विगतको तथ्याङ्क हेर्दा गाँउपालिका भित्र रहेको पाँच वटा स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच गराउने गर्भवतीको संख्या अत्यन्त न्युन रहने गरेकोमा कार्यक्रम सुरु भएपछि यो संख्या बढ्दै गएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य बलराम कार्कीले बताए । गर्भवती महिलाहरुलाई निशुल्क अण्डा उपलब्ध गराउन सकेसम्म स्थानिय उत्पादनलाई प्राथामीकता दिईने र यसले विशेष गरी महिलाहरुलाई उद्यमी बन्न समेत टेवा पुग्ने गाँउपालिका प्रमुख दुलाल बताउछन् ।

त्यसैगरी गाँउपालिकाले बालबालिका, गर्भवती महिला, बृद्धबृद्धालाई पोषण युक्त खानाको लागि सहयोग पुग्ने र ग्रामीण क्षेत्रमा पशु व्यवसाय समेत प्रवद्धन हुने अपेक्षा सहित गाँउपालिका भित्र रहेका किसानहरुले पालेको गाई ब्याएको छ भने त्यस्तो किसानलाई एक हजार रुपैया आर्थिक सहयोग गर्ने कार्यक्रम समेत ल्याएको छ । तर, किसानहरुले त्यस्तो सहयोग प्राप्त गर्नको लागि गाईको विमा भएको हुनुपर्ने र गाई दुधालु हुनुपर्ने गाँउपालिका प्रमुख भरत दुलाले बताए ।

प्रतिक्रिया दिनुहोस्