मजदुरको शव हेलिकोप्टरबाट लगियो



इन्द्र गिरी, संखुवासभा
बहुचर्चित निर्माणाधिन अरुण तेस्रो परियोजनामा काम गर्ने एक मजदुरको मृत्यु भएपछि शव हेलिकप्टरबाट लगिएको छ । कालीकोट खाँडाचक्र नगरपालिका १ का २६ वर्षीय केशव शाहीको शव बुधबार हेलिकप्टरबाट आफन्तलाई बुझाउन घर तर्फ लगिएको हो । उनको सोमबार राति काम गर्ने क्रममा माथिबाट झरेको ढुंगाले लागेर मृत्यु भएको प्रहरी नायव उपरिक्षक श्यामकुमार सारुमगरले बताउनु भयो ।

संखुवासभाको मकालु गाउपालीका स्थित नुमको फ्याक्सीन्दामा निर्माणधिन अरुण तेस्रोको सुरुङमार्ग निर्माणस्थलमा उनि काम गदै आएका मृतक शाही सुरुङ मार्ग अगाडि काम गरिरहेको अवस्थामा माथिबाट खसेको ढुङगा टाउको र ढाडमा लागी घटना स्थलमै मृत्यू भएको थियो । मृतकको शव जिल्ला अस्पताल खादवारीमा पोष्टमार्टम गरेर उनको गृहजिल्ला पठाईएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनु भयो ।

सुरुङ मार्गमा काम गर्ने मजदुरको मृत्यु भएपछि त्यहाँ काम गर्ने नेपाली मजदुरले काम ठप्प पारेका छन् । काम गर्ने मजदुरलाई आवश्यकता अनुसार सेफ्टीका सामग्री नदिएको र तोकिएको समय भन्दा बढी काम लगाएको कालिकोटका जंग शाहीले आरोप लगाएका छन । उनले जिल्लाको दररेट अनुसार आधा तलब समेत नपाएकोे गुनासो समेत गरेका छन ।

यसअघि असार १ गते दुई भारतीय र दुई नेपाली सुरुङमा थुनिएका थिए । उनीहरुलाई ३९ घण्टापछि सकुशल उद्धार गरिएको थियो । अहिले अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माणकालागी सडक, सुरुङ लगायत अन्य काम भई रहेको र करिव ३ हजार मजदुरले काम गरिरहेको बताईएको छ । ९ सय मेघावाट विद्युत् उत्पादन हुने जलविद्युत् आयोजनाको भारतीय सतलज कम्पनीले निर्माणको काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्