आफन्तको पहिचान सहज होस्



सरकार समृद्ध नेपाल र सुखी नेपालीको नारा दिइरहेको छ । सरकारले लिएको अभियानलाई पूरा गर्न रोजगारका कार्यक्रमहरु शुरु हुन सकेका छैनन् । वैदेशिक रोजगारका लागि दैनिक युवाहरु विदेशिने क्रम रोकिएको छैन । युवा स्वरोजगार कोष, विद्यार्थीलाई सहुलियत ऋण, कृषि क्षेत्रमा कृषकहरुलाई बैंकमार्फत ५ प्रतिशत ब्याजमा ऋण लगानी नारामा मात्रै सीमित भएको छ । सरकारले युवाहरुलाई स्वदेशमै रोक्न र आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रमहरु ल्याई कार्यान्वयन गर्न सकेको छैन । यसले गर्दा रोजगारका लागि विदेशिने युवाहरुको संख्या बढ्दो छ ।

उता बाध्यताले विदेशिनुपरेका युवाहरुको विभिन्न कारण निधन हुने गरेको छ । यस्ता मृत्युका खबरहरु दिनहुँजसो आउने गरेका छन् । एयरपोर्टबाट युवाहरुको शव आउने क्रम रोकिएको छैन । मृत्यु भएकाहरुको पहिचान खुल्न नसक्दा आफन्तहरुले अनुदान पाउनसमेत सकेका छैनन् ।

आफन्तहरुको पहिचानका लागि परराष्ट्र मन्त्रालयमार्फत गृह मन्त्रालयले खोजबिन गर्नुपर्ने हो । विदेशमा रहेकै समयमा मृत्यु भएको अवस्थामा उक्त देशको सरकारले मृत्यु हुनेका नाममा आउने रकम परराष्ट्र मन्त्रालयमार्फत पठाउने गरेको छ । त्यस्तो परिवारका कतिपय सदस्यले उक्त रकमका बारेमा जानकारी नै पाउने गरेका छैनन् । विदेशमा मृत्यु भएकाहरुको रकम जिल्ला प्रशासन कार्यालय, काभ्रेमा थन्किएको समाचार केही दिनअघि सार्वजनिक भएको छ । काभ्रेमा मात्र हैन, अन्य जिल्लामा पनि रकम थन्किएको वर्षाैं भइसक्दासमेत आफन्तहरु लिन आएका छैनन् ।

जिल्ला प्रशासन कार्यालयमा ठेगाना अस्पट भएका टेकनपुर–६ का भोगबहादुर तामाङको नामबाट २७ हजार ४ सय ७८, हिलेखोला ७ घर भएका गणेशप्रसाद दुलालको नामबाट २२ हजार ९ सय २१ रुपियाँ प्राप्त भएको छ । यी दुवै स्थान काभ्रेपलाञ्चोक जिल्लामा छैनन् । थोरै–थोरै रकम पनि सम्बन्धित देशको सरकारले नेपालको परराष्ट्रमार्फत सम्बन्धित जिल्लामा पठाउने गरेको छ । नाम र ठेगाना अस्पष्ट भएका कारण धेरै व्यक्तिका आफन्तहरुले रकम प्राप्त गर्न सकेका छैनन् । पहिला राहदानी बनाउँदा सम्पर्क नम्बर र ठेगानासमेत अस्पष्ट भएका कारण पनि धेरै व्यक्तिको ठेगाना अस्पष्ट हुने गरेको बताइन्छ ।

एमआरपी बनाउन थालेपश्चात् भने नेपालमा भएका व्यक्तिहरुको सम्पर्क नम्बरसमेत राख्ने प्रावधान भएपछि सरोकारवालाहरुले त्यही नम्बरका आधारमा आफन्तलाई सम्पर्क गर्न सहज भएको छ । मृतकका नाममा प्राप्त भएको १० लाखभन्दा धेरै रकम जिल्ला प्रशासन कार्यालय, काभ्रेको खातामा थन्किएको छ । हुन त झन्डै करोड रुपियाँ बुझेर लगेको परिवारले पनि सो रकमको सदुपयोग गरेको पाइँदैन । जे भए पनि खासगरी वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका परिवारको पहिचान सहज बनाउन सरकारले ध्यान पु¥याउनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्