८३ सम्पदा पुनर्निर्माण सकियो



ईश्वरराज ढकाल, काठमाडौं
विश्वसम्पदा क्षेत्रमा सूचीकृत क्षतिग्रस्त उपत्यकाका ७ क्षेत्रका १ सय ५० सम्पदामध्ये ८३ वटाको पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ सालको शक्तिशाली भूकम्पले क्षतिग्रस्त भएका ती सम्पदा ३ वर्षमा पुनर्निर्माण भएका हुन् ।

का अनुसार सबैभन्दा बढी क्षति भएको काठमाडौमा हालसम्म १५ सम्पदा पुनर्निर्माण सम्पन्न भएका छन् । पाटनमा १० र भक्तपुरमा १२, पशुपतिक्षेत्रका १० सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । सबै सम्पदा क्षेत्रमा सम्पदा पुनर्निर्माण कार्य द्ु्रत गतिमा भइरहेको विभागले बताएको छ ।

विभागका महानिर्देशक भेषनारायण दाहालले निरन्तर रुपमा काम भए आगामी दुई वर्षभित्र विश्वसम्पदा क्षेत्रका सबै सम्पदा पुनर्निर्माण भइसक्ने दाबी गर्नुभयो । विश्वसम्पदा क्षेत्रमध्ये पाटन र भक्तपुरमा सबैभन्दा छिटो काम भएको छ । पाटनका अधिकांश सम्पदा पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । पाटनको भीमसेन मन्दिर स्थानीयको सहयोगमा पुनर्निर्माण भइरहेको छ ।

दुई वर्षभित्र सबै सम्पदा पुनर्निर्माण भइसक्ने

विश्व सम्पदा क्षेत्र अन्तर्गत उपत्यकामा तीन दरबार क्षेत्र, चाँगुनारायण, स्वयम्भु, बौद्धनाथ र पशुपति क्षेत्र छन् । विभागका प्रवक्ता प्रमुख पुरातत्व अधिकृत रामबहादुर कँुवरले हनुमानढोका दरबार क्षेत्रका तलेजु, शिव मन्दिर, कागेश्वर, गद्दी बैठक, ठूलो नगरा, सरस्वती, देगु तलेजुलगायतमा सम्पदा पुनर्निर्माण भइसकेको बताउनुभयो ।

त्यसै गरी लक्ष्मीनारायण, प्रताप मल्लको शालिक, पाटनको तलेजु आगम छें, मल्ल राजा योग नरेन्द्र मल्लको स्तम्भ, मणिमण्डप, भक्तपुरको खौम गेट, बद्रीनाथ, केदारनाथ, दुईवटा नारायण, शिव मन्दिरको पनि पुनर्निर्माण सम्पन्न भइसकेको छ ।

उहाँका अनुसार बौद्धनाथ क्षेत्र सबैभन्दा छिटो निर्माण भएको हो । स्थानीय र बौद्धनाथ विकास समितिको सहयोगमा बौद्धनाथको पुनर्निर्माण भएको थियो । पशुपति क्षेत्र विकास समितिको सहयोगमा पशुपतिनाथ क्षेत्रका १०, चाँगुनारायण क्षेत्रको चाँगुनारायण र तिलेश्वर, स्वयम्भुको प्रतापपुर, अनन्तपुर, आनन्दकुटी महाविहार, टासी गोयाङ गुम्बाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । स्वयम्भुको स्वयम्भु महासमितिले पुनर्निर्माण गर्दै आइरहेको छ ।

विश्व सम्पदा क्षेत्रमा ध्वस्त भएका पाटनका अधिकांश सम्पदा पुनर्निर्माण सम्पन्न हुने क्रममा रहेको विभागले जनाएको छ । विभागका महानिर्देशक दाहालले देशभर भूकम्पले क्षतिग्रस्त भएका सम्पदामध्ये ३ सय ९३ को पुनर्निर्माण भइरहेको र अन्य सम्पदा टेन्डर प्रक्रियामा जाने तयारी भइरहेको बताउनुभयो ।

‘भुकम्पले अतिप्रभावित र प्रभावित अन्य जिल्लाका करिब १ हजार सम्पदामा क्षति पुगेका छन्, तीमध्ये अधिकांस निर्माणको चरणमा रहेको छ’ –उहाँले भन्नुभयो । पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, भक्तपुर नगरपालिका, हनुमानढोका दरबार क्षेत्र विकास समिति, स्वयम्भु महासमिति, बौद्धनाथ विकास समिति, केभीपीटी र इन्भारोमेन्ट कन्जरभेसन फाउन्डेसनलगायत निकायबाट ध्वस्त सम्पदाको पुनर्निर्माणको काम भइरहेको विभागको भनाइ छ ।

विभागका महनिर्देशक दाहालले भारत सरकारबाट २८, जापान सरकारबाट २ वटा सम्पदाको पुनर्निर्माण भइरहेको जानकारी दिनुभयो । चीन सरकारले वसन्तपुर, श्रीलंकन सरकारले रातो मञ्छिन्द्रनाथको मन्दिर पुनर्निर्माण गरिरहेको छ ।

यसैबीच भूकम्पले क्षतिग्रस्त स्वयम्भुका दुई सम्पदा राष्ट्रपतिले उद्घाटन गर्नुहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी शनिबार स्वयम्भुको प्रतापपुर र अनन्तपुरका उदुघाटन गर्नुहुने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले स्वयम्भु क्षेत्रमा रहेका सम्पदाको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्