पहिरो बिद्युत नहर बगाउँदा छ सय घरपरिवार अन्धकारमा



धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ९ को गिजागाड लघुजलविद्युतको नहर पहिरोले बगाउँदा राडि बजार अन्धकारमय बनेको छ । दुईसाता अघि वडा नम्बर ९ र १२ को सिमानामा पर्ने तातोपानीमा आएको पहिरोले ४५ किलोवाट क्षमताको विद्युत नहर बगाउँदा ६ सय घरपरिवार अन्धकारमय बनेका हुन् । पहिरोका कारण विद्युत आपूर्ति नहुँदा आठविसकोट नगरपालिकाको राडिज्यूला, सिमबजार, हर्दिगाउँ, गिजा, लगायतका उपभोक्ताहरु मारमा परेका छन् ।

अवरुद्ध विद्युत नियमित नबन्दा नगरपालिकाको कार्यालयमा सेवा लिन आउने सेवाग्राही समेत मर्कामा परेका छन् । यस्तै नगरपालिका भित्र रहेका कलकारखाना, एफएम रेडियो तथा विभिन्न उद्योगहरु पनि बन्द अवस्थामा रहेका छन् ।

दुईसातादेखी अवरुद्ध विद्युत सेवालाई नियमित गर्न नगरपालिकाको सहयोगमा नहर निर्माणको कामलाई तिब्र रुपमा अघि बढाईएको छ । हाल नहरको काम चलिरहेकाले अवरुद्ध विद्युत सेवालाई नियमित गर्न अझै एकसाता लाग्ने गिजागाड लघुजलविद्युत उपभोक्ता संस्थाका अध्यक्ष गोकर्ण कुमार चन्दले बताउनुभयो । उहाँका अनुसार तातोपानीमा आएको पहिरोले ६ घर समेत उच्च जोखिममा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्