ढाँडामा बाधेर गाँजा तस्करी गर्ने २ जना भारतीय नागरिक पक्राउ



नेपाल समाचारपत्र, बारा ।

ढाँडामा बाधेर लागुऔषध गाँजा तस्करी गर्ने दुईजना भारतीय नागरिक बारामा मंगलबार पक्राउ परेका छन । प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित अमलेखगंजज–डम्मरपुर सडक खण्डको चकरी गाउँ नजिकबाट भारतको मोतिहारी नरकटियाका लक्ष्मण साह र रक्सौलका पासपत साहलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको मोटरसाइकल गस्ती टोलीले चेकजाँज गर्ने क्रममा शरीर खानतलासी गर्दा छाती तथा ढाडको भागमा बाधी लुकाइछिपाई ल्याएको अवस्थामा पासपत र लक्ष्मणलाई पक्राउ गरेको हो ।

उनको साथबाट तीन किलो २०० ग्राम लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जित सिंह राठौरले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई बारा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय सिमरामा राखेर आवश्यक अनुसन्धान प्रवक्ता राठौरले बताए ।

त्यसैगरी प्रहरीले कलैया उपमहानगरपालिका–१ स्थित सडकमा भारतबाट भंसार छली चोरी पैठारी गरी नेपाल भित्राइएको अवस्थामा पक्राउ गरेको अवैध कुखुरा नष्ट गरेको छ ।

करिब ३७ हजार रुपैयाँ मूल्य बराबरको प्रतिबन्धित तयारी कुखुरा ७४ वटा वेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

बरामद् खुकुरा जिल्ला पशु सेवा कार्यालय बारा तथा कुखुरा व्यवसायी संघ बाराका प्रतिनिधिको उपस्थितिमा प्रहरी कार्यालय बाराको उतरतर्फ खाल्डो खनी पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राठौरले बताए।

प्रतिक्रिया दिनुहोस्