३ नम्बर प्रदेशमा बन, १५ डिभिजन र ९६ सवडिभिजन



हेटौंडा,(नेस)। ३ नम्बर प्रदेशका १३ जिल्लामा बनका १५ वटा डिभिजन कार्यालय रहने जनाइएको छ । मकवानपुर र सिन्धुलीमा २ वटा डिभिजन कार्यालय रहने छ । अन्य जिल्लामा एउटा डिभिजन कार्यालय रहने गरी गृहकार्य अघि बढाइएको छ ।

प्रदेशमा रहने १५ डिभिजन बन कार्यालयअन्तर्गत् ९६ वटा सवडिभिजन बन कार्यालय रहने विभागले जनाएको छ । नयाँ संविधान कार्यान्वयनका क्रममा सरकारले बन व्यवस्थापनका लागि बनको संरचनालाई पुनर्संरचना गर्ने तयारी गरेको हो । अब जिल्ला बन कार्यालयलाई प्रतिस्थापित गरी सरकारले डिभिजन बन कार्यालय स्थापना गर्न लागेको छ ।

विभागले सबै जिल्ला बन कार्यालयलाई डिभिजन कार्यालयको सीमांकन, मुकाम रहने स्थान, स्थानीय तहको नाम, जनसंख्या, बन संरक्षण पद्धति, सवडिभिजन कार्यालयको नामलगायत सबै विवरण माग गरेको छ ।

७ दिनभित्र विवरण विभागमा पठाउन निर्देशन गरिएको छ । मकवानपुर बन डिभिजन कार्यालय हेटौंडा राप्ती बन डिभिजन कार्यालय मनहरी रहने छ । दुई वटा डिभिजन कार्यालयमा १६ वटा सवडिभिजन कार्यालय रहने विभागको पत्रमा उल्लेख छ ।

यी दुवै कार्यालयअन्तर्गत् रहने १६ वटा सवडिभिजन कार्यालयको नाम, स्थानीय तह, सीमांकनलगायत विषयहरु उल्लेख भएको विवरण पठाउन बन विभागले पत्राचार गरेको छ । जिल्ला बन प्रमुख प्रह्लाद धितालले विभागबाट स्पष्ट निर्देशन नआएकाले सीमांकनलगायत छलफलकै क्रममा रहेको बताउनुभयो ।

‘विभागको पत्रपछि छलफलको क्रममा छौं,’ जिल्ला बन कार्यालय मकवानपुरका प्रवक्ता विशाल भट्टराईले भन्नुभयो । मनहरी गाउँपालिकादेखि हेटौंडा हुँदै बागमती गाउँपालिकासम्मको क्षेत्र समेटेर एउटा डिभिजन निर्माण गरिने चर्चा स्थानीयस्तरमा चलेको छ ।

महाभारत क्षेत्रलाई समेटेर अर्काे डिभिजन बनाउने बहस पनि चलेको छ । यसरी सीमांकन भएमा महाभारततर्फको डिभिजन बन कार्यालय अत्यन्त दुर्गमजस्तो हुने भन्दै विरोध सुरु भएको छ । मकवानपुरमा रहेका प्रतिनिधिसभाका दुई क्षेत्रलाई डिभिजन मानेर सीमांकन गर्दा वैज्ञानिक हुने तर्क पनि छ ।
साबिक जिल्ला बन कार्यालय रहँदाका इलाका र सेक्टरहरु पनि यही अभ्यास भएको पाइन्छ । मकवानपुरमा उत्तरदेखि दक्षिणसम्म महाभारतदेखि चुरे क्षेत्र दामासाहीरुपमा विभाजन गरेमा दुवै डिभिजन बन कार्यालयहरु सशक्त हुने बताइएको छ । तर जिल्ला बन कार्यालय मकवानपुरले केकसरी सीमांकन गर्ने हो त्यो प्रतीक्षाकै विषय बनेको छ ।

मकवानपुरको कुल क्षेत्रफलको ६५ प्रतिशत भूभाग बन÷जंगलले ढाकेको छ । जिल्लाको कुल बन क्षेत्रमध्ये आधाभन्दा बढी भाग पहाडी क्षेत्रको साल बनले ओगटेको छ भने बाँकी बन क्षेत्रमा खोटे सल्ला र चौंडा पातमिश्रित बन, सालको मिश्रित बन र खस्रु र यसको मिश्रित बन छ ।

भूउपयोगको दृष्टिबाट मकवानपुरमा कुल भूभागको ५४.८१ प्रतिशत (१,३३,९८७.१८ हेक्टर) बन क्षेत्र र १०.५१ प्रतिशत (२५,६९६.८२ हेक्टर) संरक्षित क्षेत्र (राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्ष) समेत गरी ६५.३४ प्रतिशत (१,५९,६८३ हेक्टर) बन÷जंगलले ढाकेको क्षेत्र रहेको देखिन्छ ।

हावापानीको दृष्टिबाट जिल्ला शीतोष्ण, समशीतोष्ण र उष्ण गरी तीन भागमा पर्ने भएकाले जैविक विविधताको दृष्टिले पनि जिल्ला धनी छ ।

जिल्लाको पश्चिमी भागमा पर्ने चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणी भागमा पर्ने पर्सा बन्यजन्तु आरक्ष बन्यजन्तुको वासस्थान र जैविक विविधता संरक्षणका दृष्टिले महत्वपूर्ण स्थलका रुपमा पर्दछन् ।

जडिबुटी उपलब्धताका दृष्टिले जिल्ला सम्पन्न रहेको मानिन्छ । जिल्लामा अवस्थित मुख्य पर्वत श्रृंखलामा चन्द्रागिरि, महाभारत र चुरे छन् ।

मकवानपुरमा ४ सय २४ सामुदायिक बन, ६ सय ९५ वटा कबुलियती बन, निजी बन २ सय २१ वटा र धार्मिक बन ५ वटा छन् ।

प्रतिक्रिया दिनुहोस्