क्रिकेटलाई राष्ट्रपतिको बधाइ



नेपाल समाचारपत्र, काठमाडौं
क्रिकेटको इतिहासमा नेपालले पहिलो पटक एकदिवसीय (वानडे) अन्तराष्ट्रिय खेल खेलेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाइ दिनुभएको छ ।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिने क्रममा राष्ट्रपति भण्डारीले संचार माध्यममार्फत् क्रिकेटलाई नियालीरहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले खेलकुदलाई विद्यालय तहदेखि नै विकास गर्न आवश्यक रहेको बताउदै क्रिकेट टोलीले हासिल गरेको उपलब्धीको प्रशंसा गर्दै बधाइ दिनुभएको थियो ।

वहाँले यस खेललाई मलजल गरी फल प्राप्त गर्नेतर्फ सम्बन्धित निकायले चासो दिनुपर्ने धारणा पनि व्यक्त गर्नुभयो । वहाँले बताउनुभयो—‘क्रिकेट समस्या समाधान गर्न आवश्यक परे मेरो तर्फबाट सहयोग हुन्छ । यो मेरो इच्छा हो । आश्वासन होइन् । किन कि म खेलकुदको विकास भएको हेर्न चाहन्छु । क्रिकेटको समस्या चाँडो समाधान होस् ।

समस्याको विषय नबनाउँ ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलसँग आबद्ध भए यता २२ वर्षपछि पहिलो पटक वानडे क्रिकेट खेलेको हो । नेपालले नेदरल्यान्डस्मा हालै भएको दुई खेलको वानडे सिरिजमा १–१ बराबरीको सानदार उपलब्धि हासिल गरेको छ । नेपालले पहिलो वानडे खेलमा हार बेहोरे पनि दोस्रो वानडेलाई भने १ विकेटले जित्दै स्मरणीय बनाएको थियो ।

पारस ब्रान्ड एम्बेसडर
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेजले ब्रान्ड एम्बासेडर बनाएको छ । एक्सपर्ट एजुकेसनले मंगलबार गरेको सम्झौता अनुसार पारस ३ वर्षका लागि ब्रान्ड एम्बासेडर हुनेछन् ।
सम्झौतापत्रमा एक्सपर्ट एजुकेसनका प्रमुख कार्यकारी अधिकृत सन्जिब शर्मा र कप्तान पारसले हस्ताक्षर गरेका थिए । ब्राण्ड एम्बेसडरबापतको रकम भने खुलाईएको छैन । नेपाललाई एकदिवसीय (वानडे) अन्तर्रा्ष्ट्रिय मान्यता दिलाउन सफल भएको र घरेलु प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गरिरहेको कारण पारसलाई ब्राण्ड एम्बेसडर चयन गरेको एक्सपर्ट एजुकेसनले जनायो । एक्सपर्टले विगत ३ बर्षदेखि नेपाली क्रिकेटको उत्थान र विकासका लागि स्कुल प्रिमियर लिग र कलेज प्रिमियर लिग गर्दै आइरहेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्