मेगा बैंकको खुद नाफा अर्ब नाघ्यो



नेपाल समाचारपत्र, काठमाडौं
मेगा बैंक नेपालको नाफा पहिलोपटक एक अर्ब रुपियाँ नाघेको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा ३२ प्रतिशतले बढेर १ अर्ब ४ करोड ६६ लाख पुगेको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बताउनुभयो ।

‘मेगा बैंक स्थापनाको भर्खरै ८ वर्ष भएको छ । तर, यति छोटो अवधिमै वार्षिक नाफा एक अर्ब नाघ्नुलाई हामीले ऐतिहासिक सफलताको रुपमा लिएका छौं ।’ सीईओ खुञ्जेलीले भन्नुभयो–‘अब हामी गर्वका साथ बिलिनियर क्लबमा प्रवेश गरेका छौं । टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर भएको हुनाले ९ महिनाको खुद मुनाफाबाट १४ करोड रुपियाँ रिजर्भमा लगेर राखेका छौं । योसहित जोड्ने हो भने मेगा बैंकले गत आर्थिक बर्षमा १ अर्ब १९ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ ।’

मेगा बैंकको ग्राहक संख्या ९० प्रतिशतले वृद्धि हुँदै ४ लाख ९६ हजार पुगेको बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७३÷७४ मा कुल निक्षेप ३८ अर्ब ९४ करोड रुपियाँ भएकोमा २०७४÷७५ मा ६२ अर्ब पुगेको छ । जुन २४ अर्ब ३ करोड रुपियाँले बढी हो ।

यसैगरी सोही अवधिमा कर्जा २२ अर्ब ७ करोड रुपियाँले बढेको छ । कुल कर्जा ३५ अर्ब १९ करोड रुपियाँले वृद्धि भई ५७ अर्ब २६ करोड रुपियाँ पुगेको बैंकले जनाएको छ ।

मेगा बैंकको शाखा संख्या १०१ वटा पुगेको छ । गत आर्थिक वर्षमा बैंकको ४७ वटा शाखा मात्र थियो ।
त्यस्तै १४ वटा एक्टेनसन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजारभन्दा बढी मेगा रेमिट सञ्जाल र ७४ वटा एटीएम छन् ।

 

प्रतिक्रिया दिनुहोस्