स्टक डेरिभेटिभ औजार विकास गर्न नेप्सेलाई परिपत्र



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बजार मुल्य प्रवृत्तिको सही एवम् यथार्थपरक विश्लेषणका लागि अब कारोबारीय शेयर अर्थात ‘ट्रेडेबल शेयर’लाई मात्र आधार मानी फ्लोट सूचकांक र फ्लोट बजार पूँजीकरणको तथ्यांक दैनिक अद्यावधि गरिने भएको छ ।
नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेन्जलाई मंगलबार जारी गरेको परिपत्रअनुसार करिब ६५ प्रतिशत संस्थापक शेयर अर्थात गैरकारोबारीय शेयरको भारले गर्दा समष्टिगत नेप्से परिसूचक बेला–बेलामा अस्थिरसमेत हुने गरेको भन्दै कारोबारीय शेयरको मात्र छुट्टै तथ्यांक सार्वजनिक गर्ने तयारी नेपाल स्टक एक्सचेन्जले गरेको हो ।

६५ प्रतिशत गैरकारबारीय शेयरका कारण ३५ प्रतिशत कारोबारीय शेयरमा अस्थिरता आउने अहिलेको अवस्थालाई दृष्टिगत गरी कारोबारीय शेयर मूल्यको आधारमा मात्र गणना गर्ने तयारी नेप्सेले गरेको हो ।

फ्लोट सूचकांकले बजार मूल्य प्रवृत्तिको सही एवम् यथार्थ प्रतिनिधित्व गर्ने हुँदा यस सूचकांकका साथै फ्लोट बजार पु“जीकरणलाई समेत आवश्यक महŒव दिई स्टक एक्सचेञ्जले आफ्नो वेबसाइट, नियमित दैनिक प्रकाशन तथा अन्य सम्बन्धित दस्तावेजमा समावेश गरी प्रकाशन गर्न लागेको हो ।

त्यसैगरी अबदेखि दैनिक शेयर कारोबारको शुरू, उच्चतम्, न्युनतम्, अन्तिम र तिनीहरुको औसतसमेतको तथ्यांक नेप्सेले नै सार्वजनिक गर्ने भएको छ । हाल लगानीकर्तालाई धितोपत्रको दोस्रो बजारमा हुने हरेक कारोबार दिनको सूचकांकमा अन्तिम बिन्दूको मात्रै सूचकांक दिने गरिको छ । तर, अबदेखि नेप्से र फ्लोट सूचकांकको शुरू, उच्चतम, न्यून र औसतको समेत नियमित जानकारी दिने कार्य अगाडि बढाउने बोर्डले जनाएको छ ।

धितोपत्रको दोस्रो बजारमा आर्थिक वर्ष २०६९÷७० देखि सामूहिक लगानी योजनाको प्रवेश भएस“गै पछिल्लो समय दोस्रो बजारमा यस्ता योजनाको संख्या १३ पुगेको छ भने दोसो बजारमा लगानीकर्ताको सहभागिता पनि बढ्दै गएको देखिन्छ । हाल सामूहिक लगानी योजनाले विशेष संस्थागत लगानीकर्ताको संलग्नताको अभावमा संस्थागत लगानीकर्ता जस्तै कार्य गरिरहेका छन् । सामूहिक लगानी योजना व्यावसायिक एवम् दक्ष कोष व्यवस्थापकद्वारा व्यवस्थापन हुने र यसमार्फत् संकलित रकम विशेष अध्ययन तथा विश्लेषण गरी पोर्टफोलियो व्यवस्थापनको सिद्धान्तअनुसार लगानी गरिन्छ ।

शेयर खरिद बिक्री मूल्यको सूचकांकभन्दा सामूहिक लगानी योजना खरिद बिक्री मूल्यको सूचकांकमा आउने उत्तारचढाव बढी तथ्यपरक हुने भएका कारण पनि समग्रमा सामूहिक लगानी योजना प्रभावकारी देखिन्छ । अब समूहको कारोबार मूल्यको वास्तविक अवस्थाको जानकारीका लागि यस समूहको पनि एक छुट्टै सूचकांकको विकास गरिने बोर्डले जनाएको छ । यसबाट सामूहिक लगानी योजना समूहको यथार्थ स्थितिको जानकारी लिन, लगानीकर्ता तथा अन्य सरोकारवालाले सामूहिक लगानी योजना समूहलाई समग्र बजार सूचकांक तथा अन्य समूहको सूचकांकस“ग तुलना गर्न र समग्र बजार प्रवृत्तिलाई उपयुक्त रुपमा विश्लेषण गर्न सक्ने अवस्थासमेत सिर्जना हुने देखिन्छ ।

सामूहिक लगानी योजनाको समेत सूचकांकको विकास गरी नेप्सेको वेबसाइट र सम्बन्धित दस्तावेज र राष्ट्रिय दैनिक पत्रिका तथा अनलाइन पोर्टलहरुमा समावेश गरी प्रकाशन गर्न पहल गर्ने पनि बोर्डले जनाएको छ ।

धितोपत्रको दोस्रो बजार कारोवारको २५ वर्ष पूरा गरिसकेको नेपाल स्टक एक्सचेञ्जले बजारको स्तर अभिवृद्धि गर्न स्टक वस्तु बजार (डेरिभेटिभ मार्केट) को समेत शुरुवातका लागि स्टक डेरिभेटिभ परिसूचकको कारोबारको सम्भावना सम्बन्धमा अध्ययन गरिरहेको जनाएको छ ।

बोर्डको चालू आर्थिक वर्षको धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा लगानीकर्तालाई बजारसम्बन्धी तथ्यपूर्ण एवम् विश्वसनीय सूचना उपलब्ध गराउन सूचना प्रवाह सुदृढ गर्दै जाने र स्टक डेरिभेटिभ मार्केटको विकास गर्ने कार्यक्रम रहेको छ । सोही वार्षिक नीति तथा कार्यक्रम बमोजिम बोर्डले उक्त काम अगाडि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्