खानेपानी समितिको विवाद मिलाउन अघि सरे नगरप्रमुख



महेश न्यौपाने, रोल्पा । उपभोक्ता समितिमा भागवण्डा नमिलेपछि अवरुद्ध तेश्रो साना शहरी खानेपानी तथा सरसफाई क्षेत्रगत आयोजना भागवण्डाका आधारमा कार्यसमिति पुनरगठन गरे संगै अघि वढ्ने भएको छ ।

जिल्ला सदरमुकाम लिवाङमा रहेको लिवाङ वजार खानेपानी उपभोक्ता तथा सरसफाई समितिले तेश्रो साना शहरी खानेपानी तथा सरसफाई क्षेत्रगत आयोजना संचालन गर्ने भनिए पनि कार्यसमिति गठनमा विवाद हुदा कार्यक्रम अघि वढ्न सकेको थिएन । सोमवार रोल्पा नगरपालिकाको आह्वानमा भएको सर्वपक्षिय छलफलका आधारमा मौजुदा कार्यसमिति विघटन गरि सवै पक्ष समेटिने गरि कार्यसमिति गठन गर्ने सहमति भए संगै आयोजनाको काम पनि अगाडी वढ्ने भएको हो ।

नगरपालिकाले नगर क्षेत्रभित्रका राजनैतिक दल, खानेपानी तथा सरसफाई उपभोक्ता समिति, स्थानीय समाजसेवी र विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थितिमा सर्वपक्षिय छलफल आयोजना गरेको थियो । सर्वपक्षिय निर्णयका आधारमा नयाँ कार्यसमिति गठनको सहजीकरणका लागी नगर उपप्रमुख मनकुमारी घर्तीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको थियो । सोही समितिले सवै पक्ष समेटिने गरि लिवाङ वजार खानेपानी उपभोक्ता तथा सरसफाई समितिको मौजुदा कार्यसमितिमा हेरफेर गरि ९ सदस्यीय कार्यसमिति गठनका लागी सिफारिस गरेको थियो ।

सहमति अनुसार लिलाधर आचार्य अध्यक्ष रहने गरि ९ सदस्यीय कार्यसमिति पुनरगठन गरिएको छ । नव गठित कार्यसमितिमा पूर्व माओवादी केन्द्रवाट उपाध्यक्ष, सचिव र केही सदस्यहरु राखिएको अध्यक्ष लिलाधर आचार्यले जानकारी दिए । वाकी पदमा अन्य दल निकटवाट प्रतिनिधित्व भएको छ आचार्यले भने ।

गत वैशाखमा भएको अधिवेशनमा आफुले अध्यक्ष पाउनु पर्ने दावि गरेको तत्कालिन माओवादी केन्द्रलाई अन्य दलले अध्यक्ष दिन नमाने पछि माओवादी केन्द्रले समर्थक उपभोक्ताहरुले निर्वाचन वहिष्कार गरेका थिए । अन्य दल र स्वतन्त्र व्यक्तिहरुले समेतले नेपाली कांग्रेसका युवा नेता लिलाधर आचार्यको अध्यक्षतामा कार्यसमिति गठन गरेका थिए । असन्तुष्ट पक्षले छुट्टै भेला गरि माओवादी केन्द्रका स्थानीय नेता फविन्द्र आचार्यको अध्यक्षताम अर्को समिति गठन गरे संगै आयोजना कार्यान्वयनमा समेत अन्यौलता थपिएको थियो ।

कार्यसमिति पुनरगठन संगै सो समितिको लामो समय देखीको विवाद समेत हल भएकाले अव तिव्र गतिमा आयोजना कार्यान्वयनमा लाग्नु पर्ने नगर प्रमुख पूर्ण केसीले वताए । विकास निर्माणमा राजनैतिक दल एक ठाउँमा आउनुको विकल्प नभएकाले ढिलै भए पनि सहमतिका साथ समिति गठन भएको छ प्रमुख केसीले भने ।

स्थानीय निर्वाचनमा सवै दलको घोषणा पत्रमा वजार क्षेत्रको खानेपानी तथा सरसफाई व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिएकाले योजना कार्यान्वयन गर्नुको विकल्प नभएको केसीको भनाई छ ।

नेपाल सरकार, एशियाली विकास वैंक र स्थानीय उपभोक्ताको करिव ३५ करोड लागतमा रोल्पा नगरपालिकाको –१,२ र ४ नम्वर वडाका करिव १ हजार २०० घरधुरीका लागि खानेपानी तथा सरसफाई क्षेत्रगत आयोजना लागु गर्ने गरी २ वर्ष अघि डिजाईनको काम सुरु गरिएको थियो ।

गत वैशाखमा भएको कार्यसमिति फेरवदलमा कुरा नमिल्दा योजना अगाडी वढाउन असहज भईरहेको थियो पछिल्लो पटकको सहमतिपछि योजना अगाडी वढ्ने आशा जागेको सो समितिका कर्मचारी टंक आचार्यले वताए ।

 

प्रतिक्रिया दिनुहोस्