बन्दको मारमा विद्यालय मात्र, ३५ हजार विद्यालयका ७० लाख विद्यार्थी प्रभावित



ईश्वरराज ढकाल
काठमाडौं । विप्लव निकट माओवादीको बन्दको प्रत्यक्ष प्रभाव विद्यालयमा परेको छ । बन्दको कारण देशभरका सरकारी र निजी विद्यालय बन्द भएका छन् ।

सरकारले विद्यालय शान्ति क्षेत्र घोषणा गरेको सात वर्ष पुगिसक्दा पनि कार्यान्वयनमा ल्याउन नसक्दा जसले बन्द घोषणा गरेपनि विद्यालय बन्द हुने गरेका छन । नियमनकारी निकाय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बन्द विद्यालय खुला गर्ने विषयमा कुनै चासो नदेखाउदा अधिकांस बन्दको मारमा विद्यालय परेका छन् ।

विप्लब निकट नेकपा माओवादीको विद्यार्थी संगठनले गएको बैशाख २२, जेठ २१ र असार ३ गरी तीन पटकसम्म विद्यालय बन्द गरिसकेको छ । विद्यालय बन्द भएको यो वर्षमा यो चौथो पटक हो ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा( प्रकाण्ड) पक्राउ गरेको विरोधमा पार्टीले देशब्यापी आम हड्ताल आब्हान गरेको थियो । अन्य क्षेत्रमा बन्दको खासै असर नपरेपनि मंगलबारको बन्दको प्रत्यक्ष असर शिक्षा क्षेत्रमा परेको छ ।

सरकारले विद्यालय शान्ति क्षेत्र निर्देशिका जारी गरे लगत्तै सबै पार्टीका अध्यक्षले कुनैपनि बन्दमा विद्यालय बन्द नगर्ने प्रतिबद्धता जनाउदै हस्ताक्षर समेत गरेका थिए । तर अहिले बन्दमा विद्यालय ठप्प हुदा सबै पार्टी चुप चाप बसेका छन । शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले निर्देशिकालाई कडाईका साथ लागु गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो । उहाले भन्नुभयो–हामी यो विषयमा गम्भीर छांै,विद्यालय बन्द भएको विषयमा गहन छलफल गर्ने छौ ।

म्ंगलबारको बन्दको कारण विहानी कलेज र विद्यालय पुगेका लाखौ विद्यार्थी बन्दको हल्ला भएपछि फर्किएका थिए । बन्दको कारण मुलुकभरका ३५ हजार सरकारी र निजी विद्यालयका करिब ७० लाख विद्यार्थी पढ्नबाट बञ्चित भएका छन । अभिभावक संघ नेपालका पुर्व अध्यक्ष शुप्रभात भण्डारीले सरकार आफैले जारी गरेको निर्देशिका लागु गर्न नसकेको बताउनुहुन्छ । उहा भन्नुहन्छ–सबै क्षेत्र बन्द भएपनि विद्यालय खुला गर्नुपर्छ । खै सरकारले पहल गरेको ? कसैले बन्द भन्यो कि विद्यालय बन्द हुन्छन, लाखौ विद्यार्थीहरु पढ्नबाट बञ्चित हुन्छन् ।

प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुंगानाले बन्दका कारण लाखौ विद्यार्थीमा गम्भीर असर परेको बताउनुहन्छ । सधै बन्दको मारमा विद्यालय पर्ने गरेका छन् ।

उहाले सरकारले सुरक्षाको बन्दोबस्त गरे आफुहरु विद्यालय खोल्न तयार रहेको बताउनुभयो । खै सुरक्षा ? सरकारले विद्यालयलाई सुरक्षा दिने प्रतिबद्धता जाहेर गरे देशैभरका निजी विद्यालय खुला गर्नेछौ–उहाको भनाई थियो ।

विप्लब निकट अनेरास्ववियुका पुर्व अध्यक्ष पुर्णबहादुर सिंहले विनाकारण आफ्ना नेतालाई पक्राउ गरेको विरोधमा बन्द गरेको जानकारी दिनुभयो । विद्यालय बन्द गरेको विषयमा उहाको भनाई थियो–बन्द भनेपछि सबै निकाय बन्द हुन्छन यो वा त्यो भन्ने विषयनै हुदैन ।

प्रतिक्रिया दिनुहोस्