दराजमै थन्किए तिन सय राहदानी



नानीराम नेपाल, सिन्धुपाल्चोक ।
छ वर्ष अघि राहदानीको फारम बोकेर सदरमुकाम आएकी साविक भोटेचौर गाउँ विकास समितिकी सन्तोषी नेपालीको राहदानी बन्यो । २०१२ को जुलाई २४ मा जारी भएको उनको राहदानी ६ वर्षदेखि जिल्ला प्रशासन कार्यालयको दराजमै थन्किएर बस्यो । प्रशासन कार्यालयमा उनको राहदानी छ, तर उनी कहाँ छिन् पत्तो छैन ।

उनीजस्तै साविक वाँसवारीका पवनकुमार नेपालीको पनि आजभन्दा ६ वर्षअघि नै राहदानी बनेर आयो । राहदानीका लागि जिल्ला प्रशासन कार्यालयमा फारम बुझाएर गएका उनी राहदानी लिनै आएनन् । २०१२ को जुलाईमै उनका नाममा राहदानी जारी भएर आयो तर उनको राहदानी पनि प्रशासन कार्यालयको दराजमै थन्किएर वस्यो ।

यी त केहि प्रतिनीधि मान्छे हुन्, राहदानी बनाउने र विदेश जानेहरुको संख्या अधिक देखिएपनि राहदानीको फारम बुझाएर लिन नै नआउनेहरुको संख्या पनि उत्तिकै देखिएको छ । सरकारले ०६७ सालमा ‘मेसिन रिडएबल पासपोर्ट’ एमआरपीको व्यवस्था गरेयता जिल्ला प्रशासनमा राहदानीको फारम बुझाएर जानेमध्ये झण्डै ३ सय जना त लिन नै आएनन् । जिल्ला प्रशासन कार्यालय राहदानी फाँटका अनुसार फारम बुझाएर गएकाहरुको पासपोर्ट बनेर आयो तर उनीहरु हालसम्म लिन नै आएनन् ।

लिन नआउँदा ३ सय हाराहारी पासपोर्ट कार्यालयको दराजमै थन्किएर बसेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । ‘एमआरपी सुरु भएदेखि यता तिन सय जति पासपोर्ट कार्यलयमै बसेको छ, कोही लिन नै आएनन्’, प्रशासनका एक कर्मचारीले भने । ०७२ बैशाख अघि राहदानीका लागि फारम बुझाएर पर्कीएका कतिपयको विनाशकारी भूकम्पमा मृत्यु भएको हुँदा पनि उनीहरुको पासपोर्ट ‘स्टक’ बसेको हुनसक्ने बताइन्छ ।‘उनीहरु पासपोर्ट लिन किन आएनन् भन्ने यसै भन्न सकिदैन, कतिपयको चैं भूकम्पमा मृत्यु भएको भन्ने पनि सुनियो’, एक कर्मचारीले भने ।

राहदानीका लागि लर्को !
जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा राहदानी बनाउनेको संख्या बढ्दो देखिएको छ । आर्थिक वर्ष ०७४÷०७५ मा राहदानीका लागि झण्डै ९ हजार जना जिल्ला प्रशासन कार्यालयमा आए । यसवर्ष ४ हजार १ सय ८३ जनाको राहदानी फारम संकलन भएको छ भने ४ हजार ७ सय ४७ जनालाई राहदानी लागि काठमाडौंमा सिफारीस गरि पठाइएको छ । यसवर्ष ४ हजार ३ सय १७ जनालाई जिल्ला प्रशासन कार्यालयबाट राहदानी वितरण नै गरिएको राहदानी फाँटले जानकरी दियो ।

प्रतिक्रिया दिनुहोस्