तापखोला मोटरेबल पुलको डिपिआर तयार



रामधन राई, खोटाङ ।
खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र उत्तरी क्षेत्रको केपिलासगढी गाउँपालिका जोड्ने तापखोलाको मोटरेवल पुलको डिपिआर तयार पारिएको छ । केपिलासगढी गाउँपालिकालाई सडक सञ्जालमा जोड्ने हुर्लुङ–जालपा–बाक्सिला सडक खण्डमा पर्ने तापखोलामा मोटरेबल पुल निर्माणका लागि डिपिआर तयार पारिएको हो ।
केपीलासगढी गाउँपालिका–५ सप्तेश्वर र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी जोड्ने २५ मिटर लम्बाई भएको पुलको काम आगामी मंसिर पहिलो सातादेखि सुरु गर्ने जनाईएको छ । केपिलासगढी गाउँपालिका प्रबेश गर्ने मुख्य मार्गमा पर्ने तापखोलामा मोटरेबल पुल निर्माणका लागि डिपिआर तयार पारिएको केपीलासगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताउनुभयो ।
७ दशमलब २ मिटर चौंडाई भएको पुल ५ करोड १२ लाख ३३ हजारको लागतमा निर्माण हुने जनाईएको छ । पुल निर्माणका लागि १५ लाख ४३ हजारको खर्चमा डिपिआर तयार पारिएको हो । आगामी २ वर्षभित्र पुल निर्माणको काम सम्पन्न गर्ने लक्ष्यका साथ इ–बिडिङको प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्