पहिरोले भेरी नदी थुनिँदा बस्ती जोखिममा



जाजरकोट ।
पहिरोले भेरी नदी थुनिँदा नलगाड नगरपालिका–१२ ठूलाबगर छेउका ३२ घर उच्च जोखिममा परेका छन् ।

पहिरोकै कारण ठूलाबगर छेउमा रहेका भवीन्द्र बस्नेत र ककबहादुर बस्नेतको घर बिहानै नदीले बगाइसकेको छ । नदी थुनिएर जमीन कटान गरेपछि भेरी नदीको झुलुङ्गेपुलसमेत उच्च जोखिममा परेको हो । पहिरोले रुकुमको गोतामकोट र जाजरकोट ठूलोबगर जोड्ने भेरी नदीको पुलसमेत जोखिममा पारेको छ । जाजरकोट, रुकुमबाट डोल्पा जाने मुख्य पुल नै जोखिममा परेपछि समस्या भएको छ ।

दिनभरमा नौ लाखभन्दा बढीको क्षति भएको प्रजिअ ललितकुमार बस्नेतले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय जाजरकोटले सुरक्षित ठाउँमा गएर बस्न स्थानीयवासीलाई अनुरोध गरेको छ । पानीको मात्रा कम नभएका कारण जतिबेला पनि समस्या पर्न सक्ने भन्दै स्थानीय प्रशासनले यस्तो आग्रह गरेको हो । सदरमुकामबाट दुई दिनको पैदल दूरीमा रहेको यो गाउँमा सञ्चारको सुविधा नहुँदा समस्या भएको नलगाड नगरपालिका–१२ का वडाध्यक्ष लालबहादुर खत्रीले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्