सामुहिक आवास बनाउन अन्तरािष्ट्रय पर्वत समाजले सहयोग गर्ने



दुर्गाप्रसाद शर्मा, पर्वत ।
एक महिना पहिले आएको बाढी पहिरोले बिस्थापित भएका जलजला गाउँपालिकाका परिवारलाई सुरक्षित आवास बनाउन अन्तराष्ट्रिय पर्वत समाजले सहयोग गर्ने भएको छ ।
समाजका प्रतिनिधीहरुले जलजला ७ र ८ को वाढी पहिरो प्रभावित क्षेत्रमा पुगेर सुरक्षित आवास बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।
बाढी पहिरो पिडीत संगको भेटघाट र स्थलगत अवलोकनपछि सुरक्षित बस्ती निर्माणका लागि सहयोग गर्ने योजना बनाइएको पर्वत वेलफेयर सोसाइटी पर्वतका अध्यक्ष दधि आचार्यले जानकारी दिए । उनले स्थानिय तह र सरकारी सहयोग संगै समन्वय गरेर सुरक्षित आवास र एकिकृत बस्ती निर्माण गर्न आर्थिक सहयोग गर्ने योजना रहेको बताए । ‘हामीले मात्रै सबै घर बनाउन सक्ने अवस्था हुँदैन’ उनले भने ‘स्थानिय तहले आवास निर्माण थालेपछि हाम्रो तर्फबाट पनि आवास बनाउन सहयोग गर्छौ’
जलजलाका बाढी पहिरो प्रभावितका लागि अन्तराष्ट्रिय पर्वत समाजमा आवद्ध, बेलायत, फ्रान्स, जापान, बेल्जियम लगायतका देशमा राहत संकलन भएको छ । समाजले संकलन गरेको सहयोगबाट आवश्यकताका आधारमा भवन, भवन निर्माणका लागि आवश्यक सामाग्रीहरु सहयोग गर्ने तयारी गरिएको छ ।
जलजलाको पहिरो पिडीतहरुको बस्ती सुकुम्बासी बस्ती रहेको र त्यहाँ भवन निर्माण गर्न सकिने जमिन थोरै छ । सुरक्षित आवास बनाउनका लागि सार्वजनिक जमिन नभएका कारण पिडीतहरुलाई कहाँ राख्ने भन्ने अन्यौल रहेको गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण बताउँछन । ‘तल गए कालीको तिर र माथी गए भीरका कारण पीडित बस्ने सुरक्षित स्थल भेट्टाउन सकिएको छैन’ उनले भने । बाढी पहिरोबाट २१ परिवार विस्थपित भएको गाउँपालिकाले जनाएको छ । अहिले बरेनेटा बस्तीभरि पहिरोका कारण वस्ने अवस्था छैन । लस्ती खोलाको कटानले लस्तीबजारका केहि घर समेत भत्किने अवस्थामा छन् । करिव १०० घर रहेको लस्तीवजार दुई तिरको खोलाले कटान गर्दै गएको छ ।

यसैबिच अन्तराष्ट्रिय पर्वत समाजले बिस्थापितलाई के गर्न सकिन्छ भनेर जनप्रतिनिधी र पीडित सँग प्रत्यक्ष अन्तरक्रिया गरेको छ । बाढिवाट विस्थापित भएका परिवारलाई बस्तीको पहिरो नियन्त्रण गरेर स्थानन्तरण गर्ने कि अन्य जग्गा खोजेर एकिकृत बस्तीमा सार्ने भन्ने बारेमा छलफल भएको अध्यक्ष आचार्यले बताए । उक्त अन्तरकृयामा प्रतिनिधीसभाका साँसद लालकाजी गुरुङ, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण, अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार पुष्प तिमिल्सीना, गाउँपालिका ८ का वडाध्यक्ष हरिविकास जिसी, ७ का वडाध्यक्ष टुंगनाथ शर्मा, र पिडीतहरुले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्